बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

बिहीबार, २७ जेठ २०७८, ०९ : ३०
बिहीबार, २७ जेठ २०७८

मकवानपुर । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । 
बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आज विहिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

कार्यव्यवस्था परामर्श समितिमा छलफल गरी आज बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख प्रसाईंले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तयार पारिएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । 

आज सार्वजनिक गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रम मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ । 

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोरोना संक्रमण नियन्त्रण र उपचारलाई उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले जनाएको छ । 

आज प्रदेशसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा प्राथमिकतामा राखेको जनाइएको छ ।  

आगामी वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका १ सय १९ वटै स्थानीय तहमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तामा हेरफेर, सबै विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम, एक वडा एक स्वास्थ्य केन्द्र लगायतको कार्यक्रमलाई प्राथमिकता दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेशको १३ वटै जिल्लामा कागज उद्योग स्थापना गरी प्रदेशका नागरिकहरुलाई रोजगारी प्रदान गर्ने र स्वरोजगारका विभिन्न कार्यक्रमहरु पनि संचालनलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रम तयार पारेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप