शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञामा अपराध : एक महिनामा २६५ महिला र बालबालिका पीडित

बिहीबार, २७ जेठ २०७८, ०७ : ४२
बिहीबार, २७ जेठ २०७८

काठमाडौं बौद्धस्थित नौतलेमा मंगलबार बोरामा प्याक गरेको अवस्थामा मान्छेको जलेको पैताला भेटियो । अन्यत्र जलाएर बाँकी बसेको भाग त्यहाँ ल्याएर फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

जलेको पैतालाबाट मान्छे पहिचानमा सवैभन्दा ठुलो समस्या भएको बताउँछन् महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ । व्यक्ति पहिचान नभएसम्म हत्या अनुसन्धान अगाडि बढ्न नसक्ने प्रहरीको निष्कर्ष छ ।

बौद्धमा मात्र होइन । निषेधाज्ञाकै बीचमा पनि काठमाडौं उपत्यकामा हत्या र बलात्कारका घटना रोकिएका छैनन् । देशभर हत्या र हिंसाका घटना भइरहेका छन् ।

वैशाख १६ मा निषेधाज्ञा शुरु भएपछिको एक महिनामा मात्र २ सय ११ जना महिला तथा बालबालिका हिंसाको शिकार भएका छन् । ओरेक नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार महिला तथा बालबालिका बलात्कार तथा घरेलु हिंसाको शिकार भएका हुन् ।

ओरेक नेपालले २ वटा हटलाइन, २३ जना मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, महिला सामुदायिक संघसंस्था र सञ्चार माध्यमबाट सो तथ्यांक संकलन गरेको जानकारी दिएको छ । जेठ १५ भन्दा पछिमात्रै १ सय ३ जना महिला तथा बालबालिका हिंसाको शिकार भएका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार ०७८ वैशाख महिनामा खुन डाँका, आत्महत्या दुरुत्साहन र गर्भ संरक्षण विरुद्ध ७ सय ११ वटा मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

आत्महत्या सम्बन्धी ५ सय ९१ घटना दर्ता भएका छन् । देशभर १ सय ४६ वटा चोरीका घटना भएका छन् । सामाजिक अपराध अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुर, सार्वजनिक हित विरुद्धको कसुर, स्वास्थ्य र सुरक्षासँग सम्बन्धित ५ सय ८६ वटा मुद्दा दर्ता गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।

२०७८ वैशाख महिनाको अपराध तथ्यांक

स्रोत : प्रहरी प्रधान कार्यालय

वैशाख १६ बाट प्रमुख जिल्ला अधिकारीहरुले संक्रामक रोग ऐन–२०२० अनुसार निषेधाज्ञा जारी गरेका थिए । निषेधाज्ञा जारी भएको महिनामा संगठित तथा आर्थिक अपराधसम्बन्धी ३ सय ३९ वटा मुद्दा दर्ता भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत वैशाखमा विवाह, मानव बेचविखन, जबरजस्ती करणी, अप्राकृतिक मैथुन, बलात्कार र बलात्कार उद्योगका ३ सय ६५ घटना दर्ता भएका छन् ।  सवारी ज्यान सम्बन्धी २११ वटा घटना अभिलेख गरिएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा वैशाख महिनासम्म ज्यान सम्बन्धी ६ हजार ४ सय ४० वटा केस प्रहरीका युनिटमा दर्ता भएका छन् । सो अवधिमा आत्महत्या ५ हजार ६ सय ५५, चोरी १ हजार ९ सय ८०, आपराधिक लाभ र संगठित आर्थिक अपराधका ३ सय २ वटा केस प्रहरीकहाँ दर्ता भएका छन् ।

महिला तथा बालबालिका सम्बन्धी ३ हजार ९ सय ७२ वटा केस दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको ०७८ वैशाख मसान्तसम्ममा बलात्कार, अपहरण तथा कर्तब्य, बैंकिङ र लिखत सम्बन्धी २४ सय ९३ वटा घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बलात्कार अझै दर्दनाक

निषेधाज्ञामा बलात्कार झन दर्दनाक स्वरुपमा देखिन थालेको छ । जेठ १८ मा ललितपुरको एकान्तकुनामा झड्केलो बुबाले छोरीलाई बलात्कार गरे । १४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका घर भएका पुरुषले जेठ १८ मा छोरीलाई बलात्कार गरेको उजुरी आएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।  

बलात्कारको आरोप लागेका पुरुष परिवारसँग एकान्तकुनामा बस्दै आएका थिए । पत्नी, छोरा र झड्केलो छोरीसँग बस्दै आएका उनले डेरामा छोरी बलात्कार गरेका थिए । आरोपी महानगरीय प्रहरी परिसरको हिरासतमा छन् ।

निषेधाज्ञा शुरु भएपछि ललितपुरमा बलात्कारको अर्को घटना पनि भएको छ । जेठ १९ मा ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिका–३ बाट २० वर्षीय राम आशिष सदा पक्राउ परे ।

सप्तरीको सम्भुनाथ नगरपालिका घर भएका आशिषले गोदावरी नगरपालिका–३ स्थित मोतिचौरको निर्माणाधीन होटलमा लगेर बालिकालाई बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप