प्रदेशसभामा एमालेको गणित : ५ वटामा ओली, २ वटामा माधव बलियो
काठमाडौं । संघीय सरकार र सातवटा प्रदेशमध्ये चारवटामा सरकारको नेतृत्व गरेको नेकपा एमालेभित्र शक्ति संघर्ष र त्यसले निम्त्याएको ध्रुवीकरणको असर देशव्यापीरुपमा देखिएको छ ।
पार्टीमा देखिएको ध्रुवीकरणकै कारण एमालेले आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकार गुमाउनुपर्ने तथा सरकार गठनको सम्भावना रहेका प्रदेशहरुमा पनि ती सम्भावनाबाट विमुख हुनुपर्ने परिस्थिति देखिएको छ ।
सातवर्ट प्रदेशमा एमालेको स्थिति कस्तो छ र पार्टी विभाजित हुँदा ओली पक्ष र माधव पक्षको संख्या कस्तो छ भन्नेबारे यहाँ गणितीय विश्लेषण गर्ने प्रयास गरिएको छ ।
सातवटा प्रदेशसभाहरुको कुल सदस्य संख्या ५५० मध्ये हाल बहाल रहेका प्रदेश सांसदहरुको संख्या ५३५ छ । यसमध्ये एमालेका कुल सांसद २४४ जना छन् । तीमध्ये १६१ जना ओलीतिर छन् भने ७३ जना माधव समूहतिर छन् । प्रदेशसभामा रिक्त बनेका १५ स्थानमा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ ।
एमालेको शक्ति सन्तुलन हेर्दा प्रदेश २ र सुदूरपश्चिममा ओली पक्षभन्दा माधव पक्ष बलियो देखिएको छ । बाँकी ५ वटा प्रदेशमा ओली पक्ष बलियो छ । यी ५ मध्ये पनि कर्णाली, लुम्बिनी र गण्डकीमा माधव पक्षको अस्थित्व जोगाउनुपर्ने अवस्था छ भने वागमती र प्रदेश १ मा माधव पक्ष ओलीभन्दा कम संख्यामा रहे पनि उपस्थितिचाहिँ कमजोर छैन । यी दुईवटा प्रदेशमा माधव पक्षले विपक्षी गठबन्धनसँग मिल्दा सरकारमा दाबी गर्न सक्ने स्थिति छ ।
सुदुरपश्चिम र कर्णालीमा सरकारको नेतृत्व गरेको माओवादीले लुम्बिनीमा पनि सरकारको नेतृत्वमा दाबी गरेको छ । गण्डकीमा काँग्रेसले दाबी गरेको छ भने प्रदेश २ मा जसपाको सरकार छ । यो स्थितिमा विपक्षीसँग मिल्दा माधव पक्षले सरकारको दाबी गर्ने ठाउँ भनेको प्रदेश १ र वागमती हो । तर, यी दुई प्रदेशमध्ये एउटामा माधव नेपाल पक्षले काँग्रेससँग सत्ता साझेदारी गर्नुपर्ने हुन सक्छ ।
राष्ट्रियसभाको चुनावमा काँग्रेसले वागमतीमा माधव नेपाल पक्षका उम्मेदवार डा. खिमलाल देवकोटालाई सघाएको थियो भने लुम्बिनीबाट माधव पक्षले काँग्रेसका उम्मेदवारलाई जिताएर राष्ट्रियसभामा पठाएको छ ।
पाँचवटा प्रदेशमा माधवभन्दा ओली पक्ष बलियो
प्रदेश १ मा हाल कायम रहेका ९२ प्रदेशसभा सदस्यमध्ये नेकपा एमाले पूर्ण बहुमतमा छ । उसका ५१ प्रदेशसभा सदस्य छन् ।
तर पार्टीमा देखिएको ध्रुवीकरण अनुरुप एमालेका ५१ प्रदेशसभा सदस्यमध्ये ३३ जना ओली पक्ष र १८ जना माधव पक्षतिर विभाजित छन् ।
प्रदेश २ प्रदेशसभामा हाल १०४ सांसद कायम छन् जसका आधारमा बहुमतका लागि ५३ सांसद आवश्यक हुन्छ । यहाँ एमालेका २१ सांसद छन् । तर एमालेभित्रको ध्रुवीकरणलाई आधार मान्ने हो भने यहाँ ओली पक्षका ८ र माधव पक्षका १३ सांसद छन् ।
बागमती प्रदेशमा हाल कायम १०९ प्रदेशसभा सदस्यका आधारमा बहुमतका लागि ५५ सांसद आवश्यक हुन्छ । यहाँ नेकपा एमाले नेतृत्वमा सरकार छ । यहाँ एमालेका ५५ सांसद छन् । तीमध्ये ओली समूह पक्षमा ३४ र माधव पक्षमा २१ छन् ।
गण्डकी प्रदेशमा सत्तारुढ एमालेमा स्वतन्त्र सांसद दीपक मनाङ्गेसहित २८ सांसद छन् । यो प्रदेशसमा एमालेको माधव पक्ष निकै कमजोर देखिन्छ । यहाँ माधव पक्षका एक सांसदमात्र छन् ।
यस्तै लुम्बिनी प्रदेशमा हाल कायम रहेका ८३ सदस्यमध्ये बहुमतको आंकडा ४२ हो । यहाँ एमालेसँग ३८ सिट छ । यसमध्ये ओली पक्षका ३६ सांसद छन् भने माधव पक्षका दुईजना मात्र छन् ।
यसैगरी कर्णाली प्रदेशमा हाल कायम रहेका प्रदेशसभा सदस्य ३५ छ । यो प्रदेशमा एमालेका २१ सांसदमध्ये हाल १६ कायम छन् । मुख्यमन्त्री विरुद्ध ल्याइएको अविश्वास प्रस्तावको विपक्षमा कर्णाली प्रदेशसभामा एमालेका केही सांसदले ‘फ्लोर क्रस’ गरेपछि एमालेको आन्तरिक शक्ति संघर्ष अझ उत्कर्षमा पुगेको थियो । सोही क्रममा एमालेको ओली पक्षले माधव पक्षका ५ सांसदलाई कारवाही गरेपछि यहाँ एमालेको सांसद संख्या १६ मा सीमित भएको छ । यहाँ माधव पक्षको उपस्थिति अब शून्य बनेको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद छन् । तर, पार्टीमा देखिएको ध्रुवीकरणबीच यो प्रदेशसभा ओली पक्षको तुलनामा माधव पक्षका सांसदको अंकगणित ठूलो छ । यहाँ माधव पक्षका सांसद १८ जना छन् भने ओली पक्षका ७ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक