शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभामा एमालेको गणित :  ५ वटामा ओली, २ वटामा माधव बलियो

बिहीबार, २७ जेठ २०७८, ०७ : १५
बिहीबार, २७ जेठ २०७८

काठमाडौं । संघीय सरकार र सातवटा प्रदेशमध्ये चारवटामा सरकारको नेतृत्व गरेको नेकपा एमालेभित्र शक्ति संघर्ष र त्यसले निम्त्याएको ध्रुवीकरणको असर देशव्यापीरुपमा देखिएको छ ।

पार्टीमा देखिएको ध्रुवीकरणकै कारण एमालेले आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकार गुमाउनुपर्ने तथा सरकार गठनको सम्भावना रहेका प्रदेशहरुमा पनि ती सम्भावनाबाट विमुख हुनुपर्ने परिस्थिति देखिएको छ ।

सातवर्ट प्रदेशमा एमालेको स्थिति कस्तो छ र पार्टी विभाजित हुँदा ओली पक्ष र माधव पक्षको संख्या कस्तो छ भन्नेबारे यहाँ गणितीय विश्लेषण गर्ने प्रयास गरिएको छ ।

​सातवटा प्रदेशसभाहरुको कुल सदस्य संख्या ५५० मध्ये हाल बहाल रहेका प्रदेश सांसदहरुको संख्या ५३५ छ । यसमध्ये एमालेका कुल सांसद २४४ जना छन् । तीमध्ये १६१ जना ओलीतिर छन् भने ७३ जना माधव समूहतिर छन् । प्रदेशसभामा रिक्त बनेका १५ स्थानमा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ ।

एमालेको शक्ति सन्तुलन हेर्दा प्रदेश २ र सुदूरपश्चिममा ओली पक्षभन्दा माधव पक्ष बलियो देखिएको छ । बाँकी ५ वटा प्रदेशमा ओली पक्ष बलियो छ । यी ५ मध्ये पनि कर्णाली, लुम्बिनी र गण्डकीमा माधव पक्षको अस्थित्व जोगाउनुपर्ने अवस्था छ भने वागमती र प्रदेश १ मा माधव पक्ष ओलीभन्दा कम संख्यामा रहे पनि उपस्थितिचाहिँ कमजोर छैन । यी दुईवटा प्रदेशमा माधव पक्षले विपक्षी गठबन्धनसँग मिल्दा सरकारमा दाबी गर्न सक्ने स्थिति छ ।

सुदुरपश्चिम र कर्णालीमा सरकारको नेतृत्व गरेको माओवादीले लुम्बिनीमा पनि सरकारको नेतृत्वमा दाबी गरेको छ । गण्डकीमा काँग्रेसले दाबी गरेको छ भने प्रदेश २ मा जसपाको सरकार छ । यो स्थितिमा विपक्षीसँग मिल्दा माधव पक्षले सरकारको दाबी गर्ने ठाउँ भनेको प्रदेश १ र वागमती हो । तर, यी दुई प्रदेशमध्ये एउटामा माधव नेपाल पक्षले काँग्रेससँग सत्ता साझेदारी गर्नुपर्ने हुन सक्छ ।

राष्ट्रियसभाको चुनावमा काँग्रेसले वागमतीमा माधव नेपाल पक्षका उम्मेदवार डा. खिमलाल देवकोटालाई सघाएको थियो भने लुम्बिनीबाट माधव पक्षले काँग्रेसका उम्मेदवारलाई जिताएर राष्ट्रियसभामा पठाएको छ ।

पाँचवटा प्रदेशमा माधवभन्दा ओली पक्ष बलियो

प्रदेश १ मा हाल कायम रहेका ९२ प्रदेशसभा सदस्यमध्ये नेकपा एमाले पूर्ण बहुमतमा छ । उसका ५१ प्रदेशसभा सदस्य छन् ।

तर पार्टीमा देखिएको ध्रुवीकरण अनुरुप एमालेका ५१ प्रदेशसभा सदस्यमध्ये ३३ जना ओली पक्ष र १८ जना माधव पक्षतिर विभाजित छन् ।

प्रदेश २ प्रदेशसभामा हाल १०४ सांसद कायम छन् जसका आधारमा बहुमतका लागि ५३ सांसद आवश्यक हुन्छ । यहाँ एमालेका २१ सांसद छन् । तर एमालेभित्रको ध्रुवीकरणलाई आधार मान्ने हो भने यहाँ ओली पक्षका ८ र माधव पक्षका १३ सांसद छन् ।

बागमती प्रदेशमा हाल कायम १०९ प्रदेशसभा सदस्यका आधारमा बहुमतका लागि ५५ सांसद आवश्यक हुन्छ । यहाँ नेकपा एमाले नेतृत्वमा सरकार छ । यहाँ एमालेका ५५ सांसद छन् । तीमध्ये ओली समूह पक्षमा ३४ र माधव पक्षमा २१ छन् ।

गण्डकी प्रदेशमा सत्तारुढ एमालेमा स्वतन्त्र सांसद दीपक मनाङ्गेसहित २८ सांसद छन् । यो प्रदेशसमा एमालेको माधव पक्ष निकै कमजोर देखिन्छ । यहाँ माधव पक्षका एक सांसदमात्र छन् ।

यस्तै लुम्बिनी प्रदेशमा हाल कायम रहेका ८३ सदस्यमध्ये  बहुमतको आंकडा ४२ हो । यहाँ एमालेसँग ३८ सिट छ । यसमध्ये ओली पक्षका ३६ सांसद छन् भने माधव पक्षका दुईजना मात्र छन् ।

यसैगरी कर्णाली प्रदेशमा हाल कायम रहेका प्रदेशसभा सदस्य ३५ छ । यो प्रदेशमा एमालेका २१ सांसदमध्ये हाल १६ कायम छन् । मुख्यमन्त्री विरुद्ध ल्याइएको अविश्वास प्रस्तावको विपक्षमा कर्णाली प्रदेशसभामा एमालेका केही सांसदले ‘फ्लोर क्रस’ गरेपछि एमालेको आन्तरिक शक्ति संघर्ष अझ उत्कर्षमा पुगेको थियो । सोही क्रममा एमालेको ओली पक्षले माधव पक्षका ५ सांसदलाई कारवाही गरेपछि यहाँ एमालेको सांसद संख्या १६ मा सीमित भएको छ । यहाँ माधव पक्षको उपस्थिति अब शून्य बनेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद छन् । तर, पार्टीमा देखिएको ध्रुवीकरणबीच यो प्रदेशसभा ओली पक्षको तुलनामा माधव पक्षका सांसदको अंकगणित ठूलो छ । यहाँ माधव पक्षका सांसद १८ जना छन् भने ओली पक्षका ७ जना छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप