बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एक साताभित्र संक्रमण दर ७४ प्रतिशतले बढ्यो

बुधबार, २६ जेठ २०७८, २२ : ४९
बुधबार, २६ जेठ २०७८

बेलायतमा पछिल्लो एक सातामा कोरोना संक्रमण दर ७४ प्रतिशतले बढेको अधिकारीहरुले जनाएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा ७ हजार ५४० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमण दर गत फेब्रुअरी २६ यताकै सबैभन्दा उच्च  कायम भएको हो । फेब्रुअरी २६ मा ८ हजार ५२३ जना संक्रमित भएका थिए ।

यो संख्या अघिल्लो दिनको तुलनामा एक हजार पाँच सयले बढी हो । यससँगै बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख ३५ हजार ७५४ पुगेको छ ।

संक्रमण दर बढ्दै गर्दा बेलायतमा कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने विज्ञहरुले बताउँदै आएका छन् । कोरोना संक्रमणका कारण हुने मृत्यु दरमा भने अहिलेसम्म खासै वृद्धि भएको छैन । पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । हिजो मंगलबार १३ जना  संक्रमितको ज्यान गएको थियो ।

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ८६० पुगेको छ । संक्रमण दर बढ्दै गएपनि अस्पताल भर्ना हुने र अस्पतालमा रहेको संक्रमित संख्या भने अझै न्यून रहेको छ ।

बेलायतमा ६ करोड ९२ लाख भन्दा बढी खोप वितरण

बेलायतमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएयता ६ करोड ९२ लाख ५१ हजार भन्दा बढी  डोज खोप वितरण भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । पछिल्लो जानकारीअनुसार यहाँ ५४ दशमलव २ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ७७ दशमलव ३ प्रतिशतले पहिलो डोज लगाइसकेका छन् ।

पछिल्लो तथ्याँकअनुसार बेलायतमा  ६ करोड ९२ लाख ५१ हजार १६३  डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ७ लाख १० हजार ३१९ जनाले पहिलो र दुई करोड ८५ लाख ४० हजार ८४४ जनाले दोस्रो डोज लगाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप