शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा विपक्षी गठबन्धन एकजुट, विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप

बुधबार, २६ जेठ २०७८, १८ : ३६
बुधबार, २६ जेठ २०७८

गण्डकी प्रदेशमा विपक्षी गठबन्धनमा आवद्ध चार दलले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विश्वासको मत नदिन आ–आफ्नो संसदीय दलमार्फत ह्वीप जारी गरेका छन् । मुख्यमन्त्री गुरुङले प्रदेशसभामा बिहीबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दैछन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा (साविक नयाँ शक्ति) पार्टी उक्त प्रस्तावलाई विफल तुल्याउन एकजुट देखिएका हुन् । माओवादी केन्द्रका प्रदेशसभा सदस्य दिपक कोइरालाले आफ्नो पार्टीका सबै सांसदलाई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न बुधबार ह्वीप जारी गरिएको जानकारी दिए ।

‘हाम्रो संसदीय दलले ह्वीप जारी गरिसकेको छ,’ उनले भने, ‘विपक्षमा रहेका चारवटै दलले आ–आफ्ना सांसदलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्ने सहमतिअनुसार हामीले आवश्यक निर्णय गरेका हौं ।’ काँग्रेसका प्रदेशसभा सदस्य विष्णु लामिछानेका अनुसार काँग्रेसले पनि आफ्ना सांसदलाई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।

राष्ट्रिय जनमोर्चाको संसदीय दलको नेता पियारी थापाले पनि संसदीय दलले ह्वीप जारी गरेको बताइन् । रातोपाटीसँग कुरा गर्दै उनले भनिन्, ‘ह्वीप जारी गर्ने भनेर हामी सबैले निर्णय गरिसकेका छौं, अहिले त्यसलाई नै औपचारिकता दिने काम भइरहेको छ ।’

जसपाका सांसद हरिशरण आचार्यले विपक्षी गठबन्धनमा रहेका चारवटै दलले ह्वीप जारी गर्ने सहमति अनुसार सम्बन्धित दलहरु आवश्यक प्रक्रियामा जुटेको जानकारी दिए । ‘भर्खरै मैले जानकारी पाएअनुसार चारवटै दलले विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न आ–आफ्ना सांसदलाई ह्वीप जारी गरेका छन्,’ उनले भने ।

६० सदस्यीय प्रदेशसभामा सत्तारुढ नेकपा एमालेको पक्षमा एक स्वतन्त्रसहित २८ सांसद छन् । विश्वासको मतका लागि कम्तीमा पनि ३१ सांसदको समर्थन आवश्यक हुन्छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा भने वर्तमान सरकारलाई नै समर्थन गर्ने अडानमा रहेका कारण केही समयअघि पार्टीको कारवाहीमा परेका भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण सांसदकै रुपमा बहाल भएका छन् । उनले ह्वीप उल्लंघन गरेर सरकारलाई विश्वासको मत दिएको अवस्थामा समेत आवश्यक बहुमत जुट्न नसक्ने देखिन्छ ।

अर्कोतिर विपक्षी गठबन्धनमा पनि काँग्रेसको १५, माओवादी केन्द्रको सभामुख बाहेक ११, राष्ट्रिय जनमोर्चाको ३ र जसपाको २ सांसद गरी जम्मा ३१ मत पुग्छ । तर जनमोर्चाका कृष्ण थापाले विपक्षी गठबन्धनलाई साथ दिनेमा आशंका रहेका कारण विपक्षी गठबन्धन पनि आफ्नो पक्षमा बहुमत जुट्नेमा ढुक्क छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप