शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फाइजरले १२ वर्ष मुनिका बालबालिकामा खोप परीक्षण गर्दै

बुधबार, २६ जेठ २०७८, १४ : ४०
बुधबार, २६ जेठ २०७८

अमेरिकी खोप निर्माता कम्पनी फाइजरले १२ वर्षमुनिका बालबालिकामा कम डोजको खोप ठूलो संख्यामा  परीक्षण गर्ने भएको छ । अमेरिका, फिनल्यान्ड, पोल्याण्ड र स्पेनका ९० भन्दा धेरै स्थानमा ४ हजार ५ सय बालबालिकामा यो परीक्षण सञ्चालन हुने कम्पनीले जनाएको छ । 

फाइजर र उसको जर्मन साझेदार बायोनटेकले मिलेर तयार गरेको यस खोपले  अमेरिका, क्यानडा र युरोपेली युनियनमा १२ वर्ष र त्यसभन्दा माथिको उमेरका मानिसमा आपतकालिन प्रयोगको अनुमति पाइसकेको छ । सबैले ३० माइक्रोग्राम डोज प्रयोग गर्छन् । 

१२ वर्षमुनीका बालबालिकामा भने यो डोजको परिमाण कम हुनेछ । यसै साता फाइजरले ५ देखि ११ वर्षसम्मका १ सय ४४ बालबालिकामा फेज वान अध्ययन थालेको थियो ।  फाइजरका अनुसार उसले ५ देखि ११ वर्ष उमेरका बालबालिकामा १० माइक्रोग्राम र ६ महिनादेखि ५ वर्ष उमेरका शिशुहरूमा ३ माइक्रोग्राम डोज परीक्षण गर्नेछ । फाइजरका प्रवक्ताले ५ देखि ११ वर्ष उमेरका बालबालिकामा गरिने परीक्षणको डाटा सेप्टेम्बरसम्म प्राप्त हुने अपेक्षा रहेको जनाएका छन् । उनले अगस्तसम्म नियामक संस्थाहरु समक्ष आपतकालिन प्रयोगको अनुमति मागिने पनि जनाएका छन् । त्यस्तै, ६ महिनादेखि २ वर्षसम्मका बालबालिकाको समूहको परीक्षण तथ्याङ्क अक्टुबर वा नोभेम्बरमा आउने अपेक्षा गरिएको पनि उनले बताएका छन् । 

अमेरिकामा झन्डै ७० लाख किशोर–किशोरीले कम्तिमा खोपको एक डोज लिएको युएस सेन्टर्स अफ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले जनाएको छ । कोभिड १९ महामारीलाई नियन्त्रण गर्न तथा हर्ड इम्युनिटी हासिल गर्नका लागि बालबालिका र युवालाई खोप लगाउनु महत्वपूर्ण हुने विज्ञहरुले बताउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप