शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा कोरोना संक्रमण दर ३१ प्रतिशतमा झर्‍यो

अस्पतालमा बेड, आइसियु र भेन्टिलेटर समेत खाली हुन थाले
बुधबार, २६ जेठ २०७८, १३ : १८
बुधबार, २६ जेठ २०७८


एकसाता अघिसम्म विराटनगरको सरकारी अस्पताल कोशी कोभिड–१९ उपचार केन्द्रमा बेड पाउन मुस्किल थियो । तर ९६ शय्याको सो अस्पतालमा यो बीचमा ६० जनामात्र संक्रमित उपचाररत छन् । हाल सो अस्पतालको ३६ शय्या खाली छन् ।

कोरोना संक्रमण दर घट्दै गएपछि अस्पतालका शय्या खाली हुँदै गएका हुन् । ‘अहिले बिरामी भर्ना लिन कुनै समस्या छैन,’ केन्द्रका फोकल पर्सन बैजनाथ शाहले भने, ‘पाँच दिनदेखि अस्पतालको ३५ बेड खाली छ ।’

विगतमा बेड अभाव हुँदा ४० जनासम्मलाई पर्खाइको सूचीमा राख्नु परेको स्मरण गदै शाहले अहिले त्यस्तो अवस्था नरहेको बताए । उनले भने, ‘अहिले सहज रुपमा भर्ना पाउनसक्ने अवस्था सिर्जना भएको छ ।’

शाहले अस्पतालमा बिरामीको चाप कम भएसँगै आफुहरुले पनि केही राहत महसुस गरेको बताए । उनका अनुसार पछिल्ला दिनमा भर्नाका लागि नयाँ संक्रमित आउनेभन्दा डिस्चार्ज भएर जानेको संख्या बढ्न थालेको छ ।

मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेजको कोभिड युनिटमा पनि हाल ८० जनामात्र संक्रमित उपचाररत छन् । यो अस्पतालको कोभिड युनिटका १८० बेड खाली छन् । १५ दिन अघिसम्म यो अस्पतातमा बेड अभावका कारण बिरामी भर्ना लिन नसक्ने अवस्था थियो । सोही कारण १९६ संख्याको कोभिड युनिटलाई बिस्तार गरी २६० बेड पु¥याएको थियो ।

अहिले अस्पतालमा बिरामीको संख्या घट्दै जाँदा आधाभन्दा बढी बेड खाली छन् । अस्पतालका कोभिड फोकल पर्सन सुनिल देवले एक सातायता अस्पतालका बेड खाली हुने क्रम निरन्तर बढ्न थालेको बताए । अस्पतालका सघन उपचार कक्षका बेड पनि खाली हुन थालेका छन् ।

सघन उपचार कक्ष अन्तर्गत कुल ४० बेड भेन्टिलेटर रहेकोमा अहिले १२ जनामात्र उपचाररत छन् । त्यसैगरी ४० बेडको आइसियुमा ३० जनामात्र उपचाररत रहेको उनले बताए ।

प्रदेश १ मा कोरोना संक्रमणको दर ओरालो लागेसँगै कोभिड उपचारका लागि तयार पारिएका सरकारी र नीजिस्तरका १० वटा अस्पतालमा बिरामीको संख्यामा पनि कमी आउन थालेको हो । संक्रमितको भर्ना दरमा आएको कमीसँगै धेरै अस्पतालका बेड खाली हुन थालेका छन् ।

प्रदेश १ सरकारले पनि एकसाता यता प्रदेशमा संक्रमितको दर घटेर ३१ प्रतिशतमा झरेको जनाएको छ । जेठको पहिला सातादेखि दोस्रो साताको बीचमा संक्रमण दर ५२ प्रतिशत थियो ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको ‘कोभिड–१९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समिति’को सचिवालय संयोजक डा‍. रविन्द्र निरौलाले मंगलबार परीक्षणको तुलनामा संक्रमण दर ३१.४८ प्रतिशतमा झरेको बताउँछन् । प्रदेश १ मा परीक्षणको ५२ प्रतिशतसम्म संक्रमण दर देखिएको थियो । अहिले यो दर क्रमशः घट्दै गएको निरौला बताउँछन् ।

उनका अनुसार विश्व स्वास्थ्य सङ्गठनको मापदण्डले परीक्षण गरिएको संख्यामध्ये ३ देखि १२ प्रतिशत बीचमा संक्रमण देखिए त्यसलाई सामान्य अवस्थाकै रूपमा हेर्ने गरेको छ । उक्त मापदण्डका आधारमा भने प्रदेश १ अझै जोखिममै छ ।

१९ हजार ४८० सक्रिय संक्रमित, २९८ जना अस्पताल भर्ना

प्रदेश १ मा बुधबार बिहानसम्म १९ हजार ४८० जना सक्रिय संक्रमित छन् ।  तीमध्ये प्रदेशका विभिन्न १० अस्पतालमा १९८ जना संक्रमित उपचाररत छन् । सबै अस्पताल गरी १२९ भेन्टिलेटर रहेकोमा हाल २१ जना, २८७ क्षमताको आइसीयुमा १७७ जनाको उपचार भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसमा थप १०० जना विभिन्न अस्पतालमा अक्सिजनसहितको बेडमा उपचाररत छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभरी १८ हजार ८५१ जना संक्रमित होम आइसोलेसनमा छन् । कोरोनाको दोश्रो लहरसँगै प्रदेशमा संक्रमणका कारण ५२४ जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा कोरोनाको संक्रमण दर वृिद्ध भएसँगै त्यसको रोकथाम र नियन्त्रणको लागि भन्दै गत वैशाख दोश्रो हप्तादेखि सबै जिल्लामा निषेधाज्ञा जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप