बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोना संक्रमण फेरि उकालो लाग्दै

मङ्गलबार, २५ जेठ २०७८, २२ : ४१
मङ्गलबार, २५ जेठ २०७८

पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर निरन्तर वृद्धि  हुँदै गइरहेको छ । कोरोनाविरुद्धको खोपलाई तीव्रता दिएसँगै बेलायतमा संक्रमण दर र मृत्यु दरमा उल्लेखनीय परिवर्तन आएको थियो । केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्ला दिनमा संक्रमण दरमा वृद्धि हुँदै गइरहेको हो । दैनिक संक्रमण दर दुई हजारभन्दा तल झरेको भएपनि हाल संक्रमित संख्या ६ हजार भन्दा बढी हुन थालेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा ६ हजार ४८ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख २८ हजार ४४२ पुगेको छ । अघिल्ला केहि दिनमा संक्रमित  संख्या ६ हजार भन्दा कम रहेको थियो ।

बेलायतमा कोरोना संक्रमण दर बढ्दै गएपनि मृत्युदरमा भने खासै वृद्धि भएको छैन। बितेको २४ घन्टामा १३ जना संक्रमितको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । अघिल्लो दिन एकजनाको मात्र मृत्यु भएको थियो ।  योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ८५४ पुगेको छ ।

बेलायतमा ५३ प्रतिशतले लगाए खोपको दुवै डोज

बेलायतमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएयता ५३.६ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् ।  यसैगरी ७७ प्रतिशतले पहिलो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याँकमा उल्लेख छ ।

पछिल्लो तथ्याँकअनुसार बेलायतमा हालसम्म ६ करोड ८८  लाख ८७९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५ लाख ७३ हजार ५१७ जनाले पहिलो डोज र दुई करोड ८२ लाख २७ हजार ३६२ जनाले दोस्रो डोज लगाएका हुन् । इङ्ल्यान्ड २५ देखि ३० वर्ष उमेर पुगेकालाई कोरोनाविरुद्ध खोपको लागि निमन्त्रणा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप