शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बूढानीलकण्ठका १,४०९ ले लगाए भेरोसेल खोप

मङ्गलबार, २५ जेठ २०७८, २२ : ३२
मङ्गलबार, २५ जेठ २०७८

बूढानीलकण्ठ नगरपालिकाले एक हजार ४०९ जनालाई कोरोना भाइरसविरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा उपलब्ध गराएको छ ।  नगरपालिका क्षेत्रका ६०–६४ वर्ष उमेर समूहका ७१८ महिला र ६९१  पुरुषलाई आज कोरोना भाइरसविरुद्धको खोप दिइएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।

वडा नं २ स्थित गणेश माध्यमिक विद्यालय, वडा नं ९ स्थित  नेशनल आइडियल बोर्डिङ स्कूल मण्डिखाटार र वडा नं १० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयलाई नगरपालिकाले खोप केन्द्र तोकेको  छ । खोप बुधबार  र बिहीबार पनि लगाइने कार्यक्रम छ । 
यसअघि नगरपालिकाका दुई हजार ९०७ महिला र दुई हजार ६१३ पुरुष गरी कुल पाँच हजार ५२० जनालाई कोभिसिल्डको पहिलो मात्रा उपलब्ध गराइएको थियो । भारतले कोभिसिल्डको निर्यात बन्द गरेपछि दोस्रो मात्रा दिनेबारे अन्योल छ । 
नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म यहाँका दुई हजार २८४ जनामा कोरोना पुष्टि भइसकेको छ । आज मात्रै कोरोनाका ६३ नयाँ केस भेटिएका छन् । यद्यपि संक्रमितमध्ये एक हजार ८३७ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् ।

अब नगरपालिकामा सक्रिय संक्रमितको संख्या ४२८ छ । तीमध्ये ३९० जना होम आइसोलेशन र ३८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिकाको नियमित बुलेटिनमा उल्लेख छ ।  कोरोनाबाट नगरपालिकामा हालसम्म १९ जनाको मृत्यु भइसकेको वडा नं १० का वडाध्यक्ष भट्टराईले जानकारी दिए । नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार ज्यान गुमाउनेमा आठ महिला र ११ पुरुष छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप