शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा सत्ताको खेल : ओली–महन्थ भर्सेस काँग्रेस–जसपा

काँग्रेस र जसपाको भागवण्डा मिलेन, महन्थ ठाकुरको बेग्लै प्रयास
मङ्गलबार, २५ जेठ २०७८, १४ : ०३
मङ्गलबार, २५ जेठ २०७८

जनता समाजवादी पार्टी (जसपा) भित्रको विवादको बाछिटाले  प्रदेश २ को सत्ता समीकरणमा असर पारेको छ । प्रदेश २ मा सत्ता सहकार्यका लागि उपेन्द्र यादव पक्ष र नेपाली काँग्रेसबीच छलफल चलिरहेको छ । तर, भागबण्डामा सहमति जुट्न सकेको छैन ।

प्रदेश २ मा सत्ता सहकार्यका लागि जसपाको यादव पक्ष र काँग्रेसबीच एक सातादेखि वार्ता र छलफल चलिरहेको छ भने अर्कोतर्फ महन्थ ठाकुर पक्ष र एमालेका बीचमा पनि छलफल चलिरहेको छ ।

जसपाको उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनल र तीनजना राज्यमन्त्रीलाई सरकारबाट हटाएपछि ती मन्त्रालयहरू खाली बनेका छन् । रिक्त मन्त्रालयमा काँग्रेस र माओवादीलाई ल्याउने मुख्यमन्त्री लालबाबु राउतको तयारी छ । मुख्यमन्त्री राउत जसपाको उपेन्द्र यादव पक्षका हुन् ।

उता, महन्थ ठाकुर पक्षले पनि काँग्रेसलाई मुख्यमन्त्री दिएर एमाले समेतको सहकार्यमा नयाँ सरकार बनाउने प्रयास थालेको छ ।

पार्टीको विवादले सरकार धरापमा

प्रदेश २ मा अहिले जसपा नेतृत्वको सरकार छ । जसपा एक ढिक्का बनेको अवस्थामा उसैको एकल बहुमत ५५ सीट छ । तर, महन्थ ठाकुर पक्षसँगको विवादपछि  बहुमत गुम्ने अवस्था आएकाले उपेन्द्र यादवले सरकार टिकाउनका लागि नयाँ समीकरणको तयारी थालेका हुन् ।

केन्द्रको विवाद प्रदेशमा पनि देखा परेका कारण उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार धरापमा परेको हो । मुख्यमन्त्री राउतले आफूलाई सुरक्षित राख्न काँग्रेस र माओवादीको साथ खोजेका छन् । र, यही मौकामा एमाले र महन्थ ठाकुर पक्षले पनि सरकार बनाउने कसरत थालेका छन् ।

यस्तो छ प्रदेश २ को अंक गणित

प्रदेश नम्बर २ को प्रदेशसभामा कुल सांसद १०७ रहेकोमा हाल १०४ जना सदस्य कायम छन् । यस मध्येबाट सरकार बनाउन वा ढाल्नका लागि ५३ जनाको बहुमत आवश्यक पर्छ ।

प्रदेशसभाका कुल १०४ सांसदमध्ये जसपाको उपेन्द्र यादव पक्षसँग ३५ सांसद छन् । काँग्रेसका १९ र माओवादीका ८ जना सांसदले साथ दिँदा मुख्यमन्त्री राउतको पक्षमा ६२ सीट, अर्थात सुविधाजनक बहुमत पुग्छ ।

अझै मिलेन भागवण्डा

जसपाको उपेन्द्र यादव पक्ष र नेपाली काँग्रेसबीच काठमाडौँदेखि जनकपुरसम्म पटक–पटक वार्ताहरु भएका छन् । सहमति जुटाउनका लागि दुवैतर्फबाट तीन–तीनजना गरी ६ जनाको कार्यदल गठन भएको छ ।

काँग्रेसले मुख्यमन्त्री वा मन्त्रिपरिषद्मा ५० प्रतिशत हिस्सा मागेको छ । तर, जसपाले मुख्यमन्त्री दिन नसकिने र अहिलेलाई दुईटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन काँग्रेसलाई आग्रह गरेको छ ।

शनिबारदेखि जसपा अध्यक्ष यादवको उपस्थितिमा सुरु भएको वार्तामा काँग्रेसले सरकारमा ५० प्रतिशत हिस्सेदारी चाहिने अडान राखेको छ । यही विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको नेताहरु बताउँछन् ।

जेठ २७ गते प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा पहिले नै सहमति गरेर मन्त्रिपरिषद् विस्तार गरिसक्नुपर्ने सत्तारुढ जसपामा दबाव छ ।

जसपाका प्रदेशसभा सदस्य रामअषिश यादवले सहमतिको प्रयास जारी रहेको र मंगलबार साँझसम्म नभए बुधबारसम्म काँग्रेससहितको मन्त्रिपरिषद् विस्तार हुने दाबी गरे । छलफल सकारात्मकरुपमा अगाडि बढेको भन्दै उनले छिट्टै सहमति हुने विश्वास व्यक्त गरे ।

यससैवीच, माओवादी केन्द्र भने एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन लगभग सहमत भएको स्रोतले बतायो ।

काँग्रेसलाई फकाउँदै महन्थ ठाकुर

यसैवीच, महन्थ ठाकुर पक्षको जसपाले काँग्रेसलाई मुख्यमन्त्री दिन सकिने बताइसकेको छ । मुख्यमन्त्री लिएर रोजेको मन्त्रालय लिन उसले काँग्र्रेसलाई प्रस्ताव गरेको स्रोतले बतायो ।

महन्थ ठाकुरले अहिलेको समीकरण भत्काउने उद्देश्यले जसपा, काँग्रेस र एमाले मिलाएर सरकार बनाउन दौडधूप थालेका छन्, जसमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसमेतले चासो देखाएको महन्थ निकट नेताहरु बताउँछन् ।

महन्थ ठाकुरको पक्षमा २० सांसद छन् । एमालेका ओली र माधव दुबै समूहका २१ जना सांसद छन् । एमाले र ठाकुर पक्षको जोड्दा ४१ पुग्छ, जसमा बहुमतका लागि १४ जना थप्नुपर्ने हुन्छ । यो अवस्थामा काँग्रेसले साथ नदिएसम्म ठाकुर पक्ष र एमालेको वैकल्पिक सरकार बन्न सक्दैन ।

केन्द्रमा उपेन्द्र यादव पक्ष काँग्रेससँग मिलेकाले प्रदेश २ मा एमालेसहितको गठबन्धनमा काँग्रेस सहभागी हुने सम्भावना कमै रहेको नेताहरुको विश्लेषण छ ।

तथापि यो गठबन्धन निर्माणको गृहकार्यमा निवर्तमान मन्त्री जितेन्द्र सोनल लागिपरेका छन् । उनले काँग्रेसका नेताहरुसँग सम्पर्क गरी छलफललाई अगाडि बढाएको स्रोतले जनायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप