कोरोना : बच्चाको भ्याक्सिन ठूलाभन्दा किन भिन्न छ र कहिले आउँछ ?
दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा सोमबारदेखि बच्चाका लागि कोरोनाभाइरस भ्याक्सिन ‘कोभ्याक्सिन’ को क्लिनिकल ट्रायलको स्क्रिनिङ चरण सुरु भइसकेको छ । यो चरण अन्तर्गत एम्समा १२ देखि १८ वर्षका उमेर समूहका केही बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । यस्तै, एम्स (पटना) मा क्लिनिकल ट्रायलको प्रक्रियाको सुरु गरिएको छ ।
एम्स (पटना) को मेडिकल सुपरिटेन्डेन्ट प्राध्यापक सीएम सिंहले बताए अनुसार सुरुवाती समयमा उनको अस्पतालमा कूल तीन बच्चालाई भ्याक्सिन दिइएको छ । यसका साथै भारतमा हालसम्म कूल २५ जनालाई भ्याक्सिन दिइएको छ र उनीहरुको स्वास्थ्यमाथि निगरानी भइरहेको छ ।
अमेरिका, क्यानडा, बेलायत, सिंगापुर र संयुक्त अरब इमिरेट्सजस्ता देशले आफ्नो देशमा बच्चाहरुलाई खोपको मञ्जुरी दिइसकेका बेला भारतमा पनि यसबारे चहलपहल भएको छ । ताजा घटना चीनको हो जहाँ कोरोनाभ्याकलाई तीन वर्षभन्दा माथि उमेरका बालबालिकालाई मञ्जुरी दिइसकेको छ । फाइजर र मोडर्नाजस्ता कम्पनीले पनि बच्चामाथि आफ्नो ट्रायल पुरा गरिसकेको छ । फाइजरले बेलायतमा मञ्जुरी पाइसकेको छ ।
यस्तो प्रश्न यो उठ्छ कि के भारतीय सरकार बच्चाका लागि फाइजर मगाउनेबारे विचार गरिरहेको छ ?
भारतको नीति आयोगसँग सम्बन्धित डा. विके पोलले यो मुद्दामा भनेका छन्, ‘भारतमा सबै बालबालिकालाई खोप लगाउनका लागि २५–२६ करोड भ्याक्सिनको आवश्यकता पर्छ । तर कसैले भ्याक्सिन पाउने, कसैले नपाउने व्यवस्था भने सही हुने छैन ।’
चार दिनअघि उनले कोभ्याक्सिनका साथै जायडस नामको भ्याक्सिन पनि बालबालिकामाथि परीक्षण गरिएको बताएका छन् । यी दुबै भारतीय भ्याक्सिन हुन् ।
तेस्रो लहर आउने आशंकाले घेरिएका अभिभावकको मनमा विभिन्न प्रश्न छन् । बालबालिकाको भ्याक्सिनमा के छ विशेषता, यो कति प्रभावकारी छ र यो ट्रायल कतिसम्म चल्नेछन् आदि इत्यादि ।
बीबीसीले आइसीएमआरका पूर्व महानिर्देशक एनके गांगुलीसँग उस्तै केही प्रश्नको जवाफ खोज्ने कोसिस गरेको छ ।
बालबालिकाको भ्याक्सिन ठूलाको तुलनामा कति भिन्न ?
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कूल २३ करोड भ्याक्सिन डोज दिइसकिएको छ । सरकारको तर्फबाट दाबी गरिए अनुसार भारतमा दिँदै गरेको कोभिशिल्ड र कोभ्याक्सिन दुबै भ्याक्सिन अत्यधिक सुरक्षित छन् ।
यस्तोमा मानिसहरुको मनमा एउटा सहज प्रश्न यो उठिरहेको छ कि के बच्चामाथि जुन भ्याक्सिनको ट्रायल भइरहेको छ, त्यो यही भ्याक्सिन हो कि भिन्न हो ?
आइसीएमआरका पूर्व महानिर्देशक डा. गांगुलीका अनुसार यो त्यहि भ्याक्सिन हो जुन पहिला ठूलालाई दिइएको थियो ।
डा. गांगुली थप्छन्, ‘यो भिन्न भ्याक्सिन होइन । भ्याक्सिन सबैभन्दा पहिला १८ वर्षभन्दा माथिकालाई दिइन्छ । त्यसपछि त्यसलाई उमेर र वर्गको हिसाबले बाँडिन्छ । किनभने बढी उमेर भएका मानिसहरुमा रोग प्रतिरोधी क्षमता धेरै हुँदैन । त्यसपछि जब भ्याक्सिन सुरक्षित र असरदार भएको डाटा आउँछ तब यसलाई अतिसंवेदनशील जनसंख्या जस्तै गर्भवती महिला र बालबच्चामा दिने गरिन्छ । बच्चामा पनि पहिला किशोरलाई दिइन्छ र त्यसपछि साना बालबालिकालाई दिने गरिन्छ ।’
‘दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई सामान्य रुपमा भ्याक्सिन दिइँदैन किनभने यो उनीहरुले गर्भनाल र आमाको दुधबाट पाउँछन् । एकाध पटक एक वर्षसम्मका बालबालिकामाथि भ्याक्सिन ट्रायल भएका छन् तर यो सामान्य होइन । कम उमेरका बालबालिका सामान्यतयाः घरमा बस्छन्, घरकै खानेकुरा खान्छन्, यसै कारण यो प्रक्रिया अपनाइन्छ तर ठूलालाई दिइने भ्याक्सिन नै बालबालिकालाई दिइने हो ।’
बच्चालाई दिइने भ्याक्सिनको क्लिनिकल ट्रायलमा कस्ता बालबालिकाको चयन हुन्छ भन्ने बारे पनि मानिसहरुबीच भारी उत्सुकता छ ।
ठूलाको भन्दा कति भिन्न छ बालबालिकाको भ्याक्सिनको क्लिनिकल ट्रायल ?
दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थानसँग आबद्ध डा. संजय कुमार रायले एक नीजि टिभी च्यानलसँग कुरा गर्दै क्लिनिकल ट्रायलको प्रक्रियाबारे बताएका छन् ।
उनी भन्छन्, ‘यो प्रक्रिया अन्तर्गत स्वस्थ स्वयंसेवक (भ्याक्सिन लिनका लागि आफै राजी भएका बालबालिका) लाई लिइन्छ । जुन बालबालिका आइरहेका छन्, उनीहरु स्वस्थ छन्, छैनन् भनेर हामीले हेरिरहेका छौं । उनीहरुका केही परीक्षण गरिन्छन् । परीक्षणमा स्वस्थ देखिएपछि बच्चालाई भ्याक्सिन दिइन्छ ।’
‘आज यो प्रक्रियाको स्क्रिनिङ चरण सुरु भएको छ । त्यसपछि स्वस्थ पाइने बच्चालाई खोप दिइनेछ । वयस्कका लागि पनि यही प्रक्रिया हुन्छ । प्रक्रियामा कुनै अन्तर छैन । यद्यपि, सहमति र प्रोसेसिङमा अन्तर हुन्छ ।’
बालबालिकामाथि गरिएको क्लिनिकल ट्रायलको गम्भीरताबारे कुरा गर्दै डाक्टर गांगुली भन्छन्, ‘यो अध्ययन निश्चित नियमको आधारमा गर्नुपर्छ ।’
चीनको उदाहरण दिँदै उनी भन्छन्, ‘चीनले निकै हतार गरेर अध्ययन गर्दै दुईदेखि १५ वर्षका तीन–चारसय बच्चामाथि क्लिनिकल ट्रायल सुरु गर्यो । यो दुई समूहमा पनि गरिएन । यसरी अध्ययन गर्नु हुँदैन ।’
पछिल्लो वर्ष भारतमा वयस्क जनसंख्यालाई भ्याक्सिन दिनका लागि नियममा परिवर्तन गरिएको थियो जसका कारण सरकारले निकै विवादको सामना गर्नुपरेको थियो ।
यस्तोमा प्रश्न यो उठ्छ क नियमका अनुसार यो ट्रायल कहिलेसम्म पूरा होला ?
ट्रायल कहिलेसम्म पूरा होला ?
डा. संजय राय मान्छन् कि यी क्लिनिकल ट्रायलको नतिजा आउन केही महिना लाग्न सक्छ ।
उनी भन्छन्, ‘अब ६ देखि ९ महिनासम्म यी बालबालिकाको फलोअप लिइनेछ (अर्थात् स्वास्थ्यमाथि निगरानी राखिनेछ) । यो भ्याक्सिन प्रभावकारी नै नहोला भन्ने सम्भावना पनि छ । यस्तै, यो अत्यन्त प्रभावकारी पनि हुन सक्ला । साथै, यो सुरक्षित नहुन पनि सक्छ । यद्यपि, वयस्कमा यो भ्याक्सिन सुरक्षित छ । ’
तर जबसम्म प्रमाण छैन तबसम्म यो बच्चाका लागि सुरक्षित छ छैन भन्न सकिँदैन । यस्तोमा डाटा आएपछि मात्रै केही भन्न सकिन्छ तब मात्रै नियामक संस्थाले भ्याक्सिनलाई मञ्जुरी दिनेछ । जबसम्म हामीले यो भ्याक्सिन सुरक्षित र प्रभावशाली छ भनेर देखाउँदैनौं तबसम्म हामी यसलाई नियामक संस्थालाई दिनेछौं । त्यसपछि यदि उहाँहरुलाई लाग्छ कि डाटा सही छ तब मात्रै उहाँहरुले मञ्जुरी दिन सक्नुहुन्छ ।’
भ्याक्सिन कहिलेसम्म आउला ?
भारतमा थुप्रै राज्य अहिले पनि भ्याक्सिनको उपलब्धतासँग जुधिरहेको छ । यो विषयमा केन्द्र र राज्यबीच तनावको स्थिति बन्दै गरेको देखिएको छ । भ्याक्सिन उपलब्ध नभएका कारण केन्द्र सरकार देशका सर्वसाधारणदेखि विपक्षी पार्टीको तर्फबाट दबाब झेलिरहेको छ ।
यस्तोमा प्रश्न उठ्छ कि जब बच्चाको भ्याक्सिनको ट्रायलको नतिजा आउन थुप्रै महिना लागिरहेका ेछ भने भ्याक्सिन उपलब्ध हुन कति समय लाग्ला ?
नीति आयोगसँग आबद्ध विके पललाई विश्वास गर्ने हो भने बच्चाको भ्याक्सिन चाँडै नै उपलब्ध हुनेछ । तर डाक्टर गांगुली मान्छन् कि बालबालिकालाई भ्याक्सिन दिइने प्रक्रियामा कुनै प्रकारको हतार गर्नुहुँदैन ।
उनी भन्छन्, ‘बालबालिकाको भ्याक्सिनको मामिलामा कुनै प्रकारको हतार गर्नु हुँदैन । र जबसम्म देशका बालबालिकाका लागि पर्याप्त मात्रामा भ्याक्सिन डोज उपलब्ध हुँदैन तबसम्म यो प्रक्रिया सुरु गर्नबाट जोगिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पाले तोड्यो बाहुबलीको रेकर्ड
-
भारतसहित ५ देशमा नियुक्त भएका राजदूतहरूले लिए शपथ
-
अल्लू अर्जुनको घरमा तोडफोड गर्नेले पाए जमानत
-
जनार्दन शर्माको निष्कर्ष– ओली सरकार असफल, गम्भीर राजनीतिक संकटको खतरा देखियो !
-
विकासलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या बनाएको छ : मुख्यमन्त्री लामा
-
मस्क अमेरिकाको राष्ट्रपति बन्न सक्लान् ?