ठाकुर पक्षले आयोगमा अझै बुझाएन प्रमाण
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगले माग गरेअनुसार कागजात अझै बुझाएको छैन । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासित गर्दै कारवाहीबारे निर्वाचन आयोगलाई जानकारी गराएका थिए । पत्र बुझाएको दुई दिनपछि उल्लेखित ढाँचाअनुसार निवेदन दिने प्रकृया नपुगेको भन्दै आयोगले सोहीअनुसार निवेदन दिन यादव पक्षलाई भनेको थियो भने ठाकुर पक्षलाई कागजातहरु पनि नपुगेको हुनाले नियम वालीको अनुसूची १८ को ढाँचा अनुसार निवेदन दिन र आवश्यक कागजात बुझाउन भनेको थियो ।
यादव पक्षले तोकिएको ढाँचाअनुसार आयोगमा निवेदन दिइसकेको छ । तर ठाकुर पक्षले भने कोरोनाको कारण देखाउँदै तत्काल कागजात दिन नसक्ने भन्दै एक हप्ताको थप समय माग गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले माग गरेअनुसार कागजात यादव पक्षले बुझाइसकेको तर ठाकुर पक्षले भने एक हप्ताको समय माग गर्दै निवेदन दिएको रातोपाटीलाई जानकारी दिए । गत जेठ २३ गते ठाकुर पक्षले निर्वाचन आयोगमा एक हप्ताको समय माग गर्दै निवेदन हो ।

यादव पक्षले कार्यकारिणी समितिको बैठकबाट अर्का अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको थियो । सो पक्षले जेठ १७ गते बसेको कार्यकारिणी समितिको बैठकको हस्ताक्षरसहितको निर्णयको कपी आयोगमा बुझाएको छ ।
ठाकुर पक्षले पनि जेठ १८ गते बसेको कार्यकारिणी समितिको बैठकबाट निर्णय गरी अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गरेको जानकारी आयोगलाई गराएको थियो । यद्यपि आयोगमा दिएको निवेदनमा कारवाहीको निर्णयमा हस्ताक्षर गरेकाहरुको नामावली तथा निर्णयको कपी थिएन । ठाकुर पक्षसँग कार्यकारिणी समिति सदस्यको हस्ताक्षर र निर्णय कपी आयोगले माग गरेको छ ।
'किन कागजात नबुझाएको त ?' भन्ने प्रश्नमा ठाकुर पक्षका कार्यकारिणी समितिका सदस्य वृशेषचन्द्र लाल भन्छन्, ‘कोरोनाका कारण म घरबाटै निस्केको छैन । निर्वाचन आयोगमा के गर्यो, के गरेन थाह नै छैन । तर अहिलेसम्म कागजातहरु बुझाएको छैन भन्ने चाहिँ थाहा पाएको छु ।’
उता यादव पक्षका कार्यकारिणी समितिसदस्य इस्तियाक राइले भने ठाकुर पक्षसँग प्रमाण नै नभएको दाबी गरे । ‘अध्यक्ष ठाकुरसँग प्रमाण भए पो दिनु ? सबै फर्जी काम गरेपछि कहाँबाट कागजात जुटाउन सकिन्छ ?,' आयोगलाई अल्झाउनका लागि मात्र निवदेन दिइएको उनले दावी गरे । आफूहरुले १९ गते नै सबै कागजातसहित तोकिएको ढाँचामा निवेदन बुझाइसकेको बताउँदै अब कति चाँडो निर्णय गर्छ भन्ने आयोगमा भरपर्ने उनले बताए ।
यता आयोगका प्रवक्ता श्रेष्ठले अध्यक्ष ठाकुरले एक हप्ताको समय मागेको र सो समयभित्र कागजात नआए आयोग आफ्नो प्रकृयामा अघि बढ्ने रातोपाटीलाई बताए ।

कहाँ छ बहुमत ?
जसपामा अध्यक्ष उपेन्द्र यादव केन्द्रीय समिति, कार्यकारिणी समिति र राष्ट्रियसभामा बहुमतमा छन् । तर केन्द्रीय समिति गठन गरेको बारेमा निर्वाचन आयोगलाई जानकारी नगराएको अर्थात् अभिलेखमा केन्द्रीय सदस्यहरुको नाम नपठाएको कारण आयोगले कार्यकारिणी समितिलाई मात्र चिन्छ । जसपा दर्ता हुँदा ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यको नामावली बुझाइएको थियो ।
कार्यकारिणी समितिका ५१ सदस्यीयमध्ये ३१ जना उपेन्द्र यादवको पक्षमा छन् । राष्ट्रिय सभामा जसपाका ३ जना सदस्य रहेका छन् । त्यसमध्ये दुईजना उपेन्द्र यादवको पक्षमा रहेका छन् ।
ठाकुर पक्षको बहुमत संसदीय दलमा थियो तर अहिले प्रतिनिधिसभा भंग भएको हुनाले सो समूह पार्टीमा अल्पमतमा रहेको यादव पक्षका नेताहरुको दावी छ ।
एक हप्ताको समय मागेर अहिले ठाकुर पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत पुर्याउन कसरत गरिरहेको छ । यादव पक्षमा रहेका कार्यकारिणी समितिका सदस्यलाई आफूतिर तान्ने प्रयासमा अध्यक्ष ठाकुर लागेका छन् । यसका लागि विभिन्न प्रलोभन समेत दिइएको यादव पक्षको आरोप छ । यता, ठाकुर पक्षका एक कार्यकारिणी सदस्यले बहुमत पुर्याउने आवश्यकता जुन दिन पर्छ त्यो दिन आफूहरुसँग बहुमत हुने दाबी गरे ।
ठाकुर पक्ष सरकारमा गएको कारण सो पक्षका थुप्रै नेताहरु असन्तुष्ट छन् । मन्त्रिपरिषद्मा पुरानै अनुहार पठाएको, नयाँलाई अवसर नदिएको भन्दै पार्टीभित्र निकै असन्तुष्टि रहेको छ । यादव पक्षले पनि सो असन्तुष्टिलाई क्यास गर्ने प्रयास गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण