मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

खोपमा कहिले होला ‘ब्रेक थ्रु’ ?

निवर्तमान मन्त्री भन्छन्– एक/दुई दिनमै हुन्छ
मङ्गलबार, २५ जेठ २०७८, १२ : ४४
मङ्गलबार, २५ जेठ २०७८

रातोपाटी

‘कोरोनाविरुद्धका खोपहरू क्लिनिकल ट्रायलका क्रममा रहँदै खोप उत्पादन गर्ने देश र कम्पनीलाई नेपालले गरेको पत्राचारको प्रतिउत्तर सकारात्मक आएको छ । अहिले चीन, रुस, अमेरिका र बेलायतलाई पत्राचार गरिसकेका छौँ । चीन र अमेरिकासँग खोप खरिदका बारेमा बढी केन्द्रित भएर अघि बढिरहेकाले आगामी दश दिनभित्र खोपको ब्रेक थ्रु हुन्छ ।’

निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जेठ १४ गते शुक्रबार दिएका अभिव्यक्ति हो यो । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा निवर्तमान परराष्ट्रमन्त्री ज्ञवालीले खोपका सम्बन्धमा १० दिनमा ब्रेक थ्रु हुन्छ भने पनि जेठ २५ गते मंगलबारसम्म कुनै ब्रेक थ्रु हुन सकेन ।

​अहिले परराष्ट्र मन्त्रालयको जिम्मेवारीबाट ज्ञवाली मुक्त भएका छन् । तर, उनले विभिन्न देशसँग गरेका पहलका आधारमा हुने भनिएको ब्रेक थ्रु ११ दिन पुग्दासम्म हुने छाँटकाँट देखिएको छैन ।

यसबीचमा अमेरिकाले कोभ्याक्स सुविधामार्फत् र केही एसियाली देशहरुलाई खोप दिने सामुहिक घोषणा गरेको भए पनि नेपाल आफैंले खोप खरिद गर्ने सम्बन्धमा त्यस्तो ब्रेक थ्रु भने हुन सकेको छैन ।

अहिले परराष्ट्र मन्त्रालयको जिम्मेवारी रघुवीर महासेठले सम्हालेका छन् । तर, खोपको सम्बन्धमा हुने भनिएको ब्रेक थ्रु कहाँ पुग्यो, अहिले कुनै सूचना वा जानकारी बाहिर आएको छैन ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार राष्ट्रपतिमार्फत् चीन, भारत, अमेरिका, बेलायत र रुससँग औपचारिक कुराकानी तथा पत्र आदान–प्रदान भएको छ ।

लम्सालका अनुसार राष्ट्रपतिले चीनका राष्ट्रपतिसँग प्रत्यक्ष टेलिफोन कुराकानी गरेकी थिइन् भने भारत, अमेरिका, बेलायत र रुसमा पत्र पठाएर खोप उपलब्ध गराउन आग्रह गरिएको छ ।

राष्ट्रपतिको टेलिफोनपछि चीन सरकारले नेपाललाई तत्कालै १० लाख डोज खोप उपलब्ध गराएको थियो । जुन खोप यतिबेला नेपालमा आएर मंगलबारदेखि लगाउन सुरुसमेत गरिएको छ । अन्य देशसँग भएको पत्राचारको पनि सकारात्मक जवाफ आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

​राष्ट्रपतिबाहेक परराष्ट्र मन्त्रालय आफैले पनि विभिन्न देशसँग खोप उपलब्ध गराइदिन आग्रह गर्दै टेलिफोन कुराकानी तथा पत्राचार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि मुख्यत खोप उत्पादन गरिरहेका देशका समकक्षीसँग टेलिफोन कुराकानी तथा पत्र पठाएर अनुदान तथा खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

तत्कालीन परराष्ट्रमन्त्री ज्ञवालीले भारत, चीन, अमेरिका, रुस लागतका खोप उत्पादक राष्ट्र तथा क्यानडा, बेलायत लगायतका देशसँग पनि खोप खरिद गर्ने र अनुदानमा उपलब्ध गराउने सम्बन्धमा कुराकानी भएको थियो । पछिल्लो समय चीन र रुससँग खोप खरिदका लागि सहजीकरण गरिदिन र छिटो उपलब्ध गराइदिन आग्रह गर्दै तत्कालीन परराष्ट्रमन्त्रीले पहल गरेका थिए ।

ज्ञवालीले ती राष्ट्रबाहेक खाडी राष्ट्रहरुसँग स्वास्थ्य सामग्री उपलब्ध गराइदिन पनि आग्रह गर्दै पत्राचार तथा समकक्षीसँग कुराकानी गरेका थिए ।

परराष्ट्रमन्त्रीबाट बाहिरिएपछि मंगलबार रातोपाटीसँगको छोटो कुराकानीमा ज्ञवालीले तत्कालीन समयमा सकारात्मक छलफल र पहल भएको कारण नै आफूले ब्रेक थ्रु हुने कुरा गरेको बताए । ज्ञवालीले भने, ‘अहिले म मन्त्रालयमा छैन । त्यसकारण के भइरहेको छ भनेर मैले भन्न सक्दिनँ र मेरो समयमा भएका कुरा पनि अहिले यहाँ भन्नु सान्दर्भिक हुँदैन ।’

कतिपय विषय गोप्य हुने भएकाले त्यो स्पष्ट नभई बाहिर ल्याउनु राम्रो हुँदैन भन्दै ज्ञवालीले थपे, ‘तर म तपाइँलाई यतिचाहिँ भन्न सक्छु कि खोप खरिदका लागि कुरा धेरै अगाडि बढिसकेको छ र अब एक÷दुई दिनमै केही हुन्छ होला । मैले बुझेअनुसार अहिले खोप खरिदका लागि वार्ता चलिरहेको छ । सायद एक÷दुई दिनमै खोप खरिदको निर्णय हुन्छ होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप