चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप
सोमबार, २४ जेठ २०७८, १६ : १९

चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका घटना देखिएको बताउँदै त्यसले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा थप सचेतता अपनाउन आवश्यक रहेको सङ्केत गरेको बताए ।
खोप कार्यक्रमका बारेमा आमजनतालाई हिचकिचाहट नराख्न आह्वान गर्दै प्रमुख झेङले “खोपको ग्रेट वाल” निर्माण गर्न जनता र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको बताए । आयोगका अनुसार शनिबारसम्म चीनमा ७६ करोड ३० लाखभन्दा बढी डोज खोप लगाइएको छ । विश्वमै सबैभन्दा बढी खोप लगाउने मुलुक चीन नै भएको छ । –सिन्ह्वा