शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभामा कड्किए जसपाका सांसद, मुख्यमन्त्री संघीय सरकारको मलामी गएको आरोप

सोमबार, २४ जेठ २०७८, १५ : ०५
सोमबार, २४ जेठ २०७८

 प्रदेश १ को प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकमा जनता समाजवादी पार्टीका सांसद जयराम यादव प्रदेश सरकारविरुद्ध कड्किएका छन् ।

उनले आफूहरु पनि जनप्रतिनिधि रहेको र जनताप्रति जिम्मेवार रहेको भन्दै प्रदेश सरकारका कारण जनताको बीचमा जान पनि लाज लाग्ने अवस्था भएको बताए ।

उनले संघीय सरकारकै सिको गर्दै प्रदेश सरकारले अध्यादेश मोह देखाएको आरोप पनि लगाए । कोरोना महामारीकै बीच अहिले प्रदेशसभा बैठक बसेको भन्दै उनले यही बैठकलाई केही दिन अघि बोलाएर नियमित प्रक्रियाबाट सरकारले आफ्ना काम अघि बढाएको भए के हुन्थ्यो भन्ने प्रश्न पनि गरे ।

‘समय हुँदाहुँदै पनि प्रदेश सरकार अध्यादेशबाट अघि बढेको छ,’ उनले भने, ‘यो पनि संघीय सरकारजस्तै हो ? त्यहाँ पो प्रतिनिधिसभा विघटन भएको छ, यहाँ त प्रदेशसभा जीवितै छ नि ।’

प्रदेशसभा जीवित रहेको अवस्थामा बैठक नबोलाएर अध्यादेश ल्याउनुको नियत के हो भन्ने उनको प्रश्न थियो ।

उनले निषेधाज्ञा जारी भएको यतिका दिनसम्म मजदूर वर्गले कसरी पेट पालेका छन् भन्नेबारे प्रदेश सरकारले सोधखोज नै नगरेको प्रस्ट पारे । प्रदेशमा कोरोना विरुद्धको खोपको व्यवस्था गर्न नसकेको, स्वास्थ्य पूर्वाधार बढाउने काम गर्न नसकेको भन्दै उनले प्रदेश सरकारको आलोचना गरे ।

‘प्रदेशका जनताको समस्यालाई छाडेर मुख्यमन्त्रीज्यू संघीय सरकारको मलामी हुन आफ्नो प्रदेश छाडेर, आफ्नो जिम्मेवारीबाट पन्छिएर काठमाडौं पुग्नुहुन्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप