शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बन्दाबन्दीमा वन्यजन्तुको चोरी शिकार बढ्यो

सोमबार, २४ जेठ २०७८, ११ : ३५
सोमबार, २४ जेठ २०७८

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा वन्यजन्तुको चोरी शिकार बढेको छ । यहाँका ग्रामीण क्षेत्रबाट जङ्गली वन्यजन्तुको खुलेआम चोरी शिकार हुने गरेको पाइएको छ । 

वन्यजन्तुको चोरी शिकार व्यापक भएपनि हालसम्म चोरी शिकार नियन्त्रणको प्रभावकारी अभियान सञ्चालन हुन नसकेको स्थानीयवासीको आरोप छ । जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनहरुमा खुलेआम रतुवा, बदेंल, घोरल, कालिजलगायतका वन्यजन्तु र बहुमूल्य जडीबुटी समेत तस्करी हुने गरेको उनीहरुको भनाइ छ । 

यहाँका ग्रामीण क्षेत्रहरुबाट तस्करले जङ्गली जनावरको मासुको सुकुटी बनाई लैजाने गरेको स्थानीयवासीहरु बताउँछन् ।

वन्यजन्तुको चोरी शिकार हुने गरेको व्यापक जनगुनासो आउने गरेको भएपनि कोरोना कहरका कारण नियन्त्रण तथा रोकथामका लागि टोली खटाउन नसकिएको डिभिजनल वन कार्यालयले जनाएको छ । 

यहाँको महाभारत श्रृङ्खलाअन्तर्गतको तेलेलेक वन र खप्तड राष्ट्रिय निकुञ्ज आसपासका वनहरुमा चोरी शिकार बढेको सायल गाउँपालिकाका रमेश कामीले बताए । उनले भने, “बन्दाबन्दीले सबै ठाउँ बन्द छ, जङ्गलतिर कोही जाँदैनन, अहिले वन्यजन्तु चोरी शिकार गर्न तस्करलाई निकै सजिलो भएको छ ।”

केही हप्तादेखि मौलाएको वन्यजन्तु चोरी शिकारका कारण जङ्गली वन्यजन्तु लोप हुने अवस्थामा पुगेको शिखर नगरपालिका–१ नापानीका वासिन्दा यज्ञ बोगटीले बताए । उनले भने, “वन्यजन्तुको चोरी शिकारीहरुले खुलेआम रुपमा दैनिक वन्यजन्तु मारिरहेका छन्, रोक्न सकिएको छैन । अब त वन्यजन्तु नै लोप हुने स्थिति आएको छ ।” 

तस्करहरुले चोरी शिकारीका लागि महिनौँ पहिलेदेखि घरेलु हातहतियारसहित जङ्गलमा निगालोका डोको बुन्ने बहानामा बास बस्ने र शिकार गर्ने गरेको स्थानीयासीहरु बताउँछन् । शिकार गरी मारिएका वन्यजन्तुको मासु यहाँका विभिन्न राजमार्गलगायत सदरमुकामका होटलहरुमा समेत बिक्री वितरण हुने गरेको छ । 

कर्णाली किनार हुँदै डडेल्धुराको गन्यापधुरादेखि डोटीका विभिन्न स्थानीय तहलाई तेलेलेकको वनले समेटेको छ । चोरी शिकारी बढी हुने क्षेत्रका रुपमा चिनिएको यस वन क्षेत्रलाई जिल्लाको शिखर नगरपालिकाले चोरी शिकारी नियन्त्रण अभियान शुरु गर्ने बताएको छ । डिभिजन कार्यालयसँग मिलेर चोरी शिकारी नियन्त्रण र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने तथा चोरी शिकारी निरुत्साहित गर्नेसम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेको शिखर नगरपालिका—१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताए । 

उनले भने, “तेलेलेकमा हुने वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि हामी योजनाबद्ध तरीकाले अगाडि बढ्ने भएका छौँ, चोरी शिकार गर्नेलाई नियन्त्रणमा लिई कारवाही गरेरै छाड्ने छौँ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप