शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा ७ महिनादेखि स्वास्थ्यकर्मीहरु जोखिम भत्ताबाट वञ्चित

सोमबार, २४ जेठ २०७८, ०८ : ४३
सोमबार, २४ जेठ २०७८

मकवानपुर । बागमती प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीले विगत ७ महिनादेखि जोखिम तथा प्रोत्साहन भत्ता प्राप्त गर्न सकेका छैनन् । प्रदेशका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बागमती प्रदेश सरकारले बजेटमा व्यवस्था गरेअनुसार जोखिम भत्ता गत मंसिर यता पाउन सकेका छैनन् ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको ३ महिना अवधि भइसक्दा समेत प्रदेश सरकारले स्वास्थ्यकर्मी र कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहनस्वरुप बजेटमा ल्याएको योजना पूर्ण कार्यान्वयनमा आउन नसकेको हो । 

कोरोना संक्रमणको सुरुवाती चरणमा प्रदेशमा कार्यरत स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी लगायतलाई जोखिम तथा प्रोत्साहन भत्ता उपलब्ध गाराइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमणको पहिलो लहरको गत मंसिरसम्म प्रदेश सरकारले प्रदेशका ८ वटा अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई जोखिमको आधारमा भत्ता उपलब्ध गराएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोतम सेढाईले जानकारी दिए । 

उनीहरुको काम र जोखिमको आधारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई १०० प्रतिशत, ल्याव, फिभर क्लिनिकमा खटिएका व्यक्तिलाई ७५ प्रतिशत र अन्य सामान्य जोखिम रहेका व्यक्तिलाई ५० प्रतिशतका दरले भत्ता उपलब्ध गराइएको उनले बताए ।

तर, मंसिरपछि उक्त योजना प्रदेशका कुनै अस्पतालमा पनि लागु भएन । मंसिरपछि कोरोना संक्रमणणको दर घटेको भन्दै उक्त योजना रोकिएको उनको भनाइ छ । बागमती प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ता स्वरुप ६ करोड ३९ लाख रकम विनियोजन गरेकोमा हालसम्म १ करोड ७८ लाख ९२ हजार रुपैयाँ खर्च भएको उनले बताए । 

बजेट व्यवस्था गरिसकेको अवस्थामा समेत प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रणमा सक्रिय रहेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नगराएको हो । गत मंसिरसम्म आफूहरुले दुई चरणमा जोखिम भत्ता बुझेको तर मंसिरपछि भत्ता उपलब्ध नभएको नाम नबताउने सर्तमा एक डाक्टरले रातोपाटीलाई बताए ।

‘हामीले कोरोना नियन्त्रण र संक्रमितको उपचारमा खटिएबापत गत वर्षको असार र चालु आर्थिक वर्षको मंसिरसम्म गरी दुई चरणमा जोखिम भत्ता बुझेका छौं तर मंसिरपछि हामीलाई कुनै पनि निकायले ध्यान दिएको छैन,’ उनले भने । 

कोरोना संक्रमणको पहिलो लहरको तुलनामा दोस्रो लहर अझ बढी जोखिमयुक्त रहेको अवस्थामा समेत आफूहरुले निरन्तर काम गरेको भन्दै उनले भत्ता उपलब्ध हुनेमा विश्वास व्यक्त गरे । ‘सरकारले दिन्छु त भनेको छ, के हुन्छ, हेरौं !,’ उनले भने ।

कोरोना संक्रमणको पहिलो लहरको तुलनामा दोस्रो लहरमा ठुलो संख्यामा मानिस संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या पनि अधिक छ । संक्रमणको दोस्रो लहरमा अस्पतालहरु भरिभराउ हुनका साथै अक्सिजन, भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरणको अभावमा धेरैले ज्यान गुमाए ।

 अस्पतालमा बेड अभाव भएपछि सरकारले संक्रमितहरुलाई गम्भीर खालका समस्या देखिएमा मात्र अस्पताल जान आग्रह ग-यो । अभावका बीच पनि स्वास्थ्यकर्मीहरुले सक्रिय रुपमा संक्रमितहरुको उपचारमा खटिइरहे तर प्रदेश सरकार र विषयगत मन्त्रालयले न संक्रमित जनतातर्फ ध्यान केन्द्रित ग-यो, न जोखिम मोलेर बिरामीको उपचारमा खटेका स्वास्थ्यकर्मीमाथि । 

यस्तो परिस्थितिका बीच पनि स्वास्थ्यकर्मीले उपलब्ध स्रोत साधन व्यवस्थापन गरी संक्रमितको उपचार गरिरहे । आफूहरुले हरेक पल जोखिम मोलेर काम गरेको भए पनि सरकारले जोखिम भत्ता उपलब्ध नगराएकोमा स्वास्थ्यकर्मीहरु गुनासो गर्दछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप