बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओली हामीलाई ‘गिनी पिग’ बनाउन चाहन्छन् : जगन्नाथ खतिवडा

‘संसद विघटन गरेकोमा केपी ओलीले माफी माग्नुपर्छ’
आइतबार, २३ जेठ २०७८, २३ : १४
आइतबार, २३ जेठ २०७८

नेकपा एमाले, माधव नेपाल समूहका पोलिटब्युरो सदस्य जगन्‍नाथ खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको र संसद विघटन गरेकोप्रति आत्मालोचना गर्नुपर्ने बताएका छन् । ओलीले आत्मालोचना गरेर माफी नमागेसम्म उनीसँग सम्झौता हुन नसक्ने खतिवडाको भनाइ छ ।

केपी ओलीले आफूहरुलाई ‘गिनी पिग’ बनाउन खोजेको खतिवडाले बताए ।

माधव नेपाल पक्षका हार्डलाइनर नेताका रुपमा चिनिने खतिवडाले भने, ‘केपी ओली समूहसँग आदर्शको मृत्यु भइसकेको छ । आत्मसम्मानयुक्त राजनीतिक वातावरणमा सँगै मिलेर काम गर्न सकिने अवस्था छैन ।’

माधव नेपाल पक्षका नेता खतिवडाले अहिले केपी ओलीसँग चलिरहेको अन्तर संघर्षबारे यसरी विश्लेषण गरेका छन् :   

हामी चारजना म, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले स्थायी कमिटी सदस्यहरुलाई एक ध्यानाकर्षण पत्र प्रेषित गरेका गरेका छौं । अन्त्यहीन विवाद, उद्देश्यहीन गति र लक्षहीन प्रहारबाट हामी सदैव बच्नुपर्छ । आजको अलमल यही नै हो ।

केपी ओली समूहसँग आदर्शको मृत्यु भइसकेको छ । आत्मसम्मानयुक्त राजनीतिक वातावरणमा सँगै मिलेर काम गर्न सकिने अवस्था छैन । डीएनए टेस्ट गरेर मात्र अवसरहरूको बाँडफाँट गर्ने उनको प्रवृत्ति छ । त्यहाँ छोटो समयमा हाम्रा पक्षका कार्यकर्ताहरूले सौहार्दपूर्ण अनुकुलताको सिर्जना हुने अवस्था देखिँदैन ।

पार्टीभित्र रहेको यही प्रवृत्ति र व्यवहारले यो सुध्रिने आशा  पनि नरहेकाले एकता संभव नहुने कुराको प्रष्ट संकेत गरेको छ । तथापि अन्तर संघर्षको यो चरणमा निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।

१.सर्वोच्च अदालतको सन्दर्भलाई आन्तरिक एकताको विषयमा समावेश गर्न हुँदैन । यो कुनै सहमति पूर्व सर्तका रुपमा  हुनुहुँदैन ।

२.वार्ताको ढोका खुला राख्ने तर सबै तहका कमिटीहरु गठन गर्दै नयाँ पार्टी स्थापना गर्ने तयारीलाई निरन्तरता दिनुपर्छ ।

३. वार्ताको पूर्व सर्तका रुपमा  झलनाथ खनाल, माधव नेपाल र अरु नेताहरुको कार्वाही फिर्ता र गर्ने र अपमानजनक अभिव्यक्तिहरूलाई बन्द गर्न लगाउनुपर्दछ ।

४. वार्तामा निम्न कुराहरुलाई बटमलाइन बनाउनुपर्छ–

–     २०७५ जेष्ठ २ पूर्वको आधार समयलाई  मुख्य  बुँदा मानेर  जेष्ठ २ को वरपर, सेरोफेरो भन्ने भ्रममा नपरी मागहरुलाई पूरा गराउनुपर्छ । वास्तवमा जेष्ठ २ को मागको औचित्य कमजोर भइसकेको छ ।

–     केपी प्रधानमन्त्री हुने नै हो भने माधव नेपाललाई पार्टी अध्यक्ष बनाउनुपर्दछ ।

–     सबै तहका निर्वाचन प्रयोजनहरुका लागि सबै तहमा  हाम्रो सहितको संयुक्त आधिकारिक हस्ताक्षर प्रमाणित गरिनुपर्दछ  ।

–     पूर्वमाओवादीवाट आएकालाई समावेश गर्ने कुरामा सहमति गरिनुहुँदैन । केही गरी समावेश गर्ने स्थिति आउन लागेमा त्यति नै संख्यामा हाम्रो तर्फबाट केन्द्रीयमा मनोनयन गरिनुपर्छ र त्यसका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाइनुपर्छ ।

५.वार्तामा केही महत्वपूर्ण सैद्धान्तिक प्रश्नहरुका बारेमा प्रष्टता प्राप्त गर्न आवश्यक छ । 

६. महाधिवेशन गर्ने विषयमा चर्चा गर्नुपर्दा महाधिवेशनको स्वच्छता, निष्पक्ष र भयरहितताको मोडालिटीका बारेमा  डिटेल सम्झौता गर्न जरुरी छ ।

७.सम्झौताहरूको पालना नहुँदा यसको जवाफदेहिता कसले, कसरी लिनेछ भन्ने प्रष्ट ब्यवस्था हुनुपर्दछ ।

८.आजसम्मको संविधान, पार्टी, विधान, अनुशासन र हामीमाथि गरेका ज्यादती र संसद विघटनबारे केपी ओलीले आत्मालोचना गर्नुपर्छ ।

९. हाम्रो विचार, नीति, अडान र संघर्षशीलताले नै नयाँ आधारमा नयाँ  एकता गर्न वातावरण निर्माण गर्न सक्छ । हामीचाहिँ सम्झौतापरस्त किन हुने ? । केपी ओली हामीलाई गिनिपिग बनाउन चाहान्छन् । यस्तो भ्रममा नपरौं ।

१० .केपी ओलीले आजसम्म गरेका जनघाती, गैरसंवैधानिक कार्यहरु र गलत सरकारी निर्णय र नियुक्तिहरु सच्याउने लिखित प्रतिवद्धता आउनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप