शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : उपेन्द्र यादव र काङ्ग्रेस संसदीय दलका नेताबीच भेटवार्ता

आइतबार, २३ जेठ २०७८, २१ : २३
आइतबार, २३ जेठ २०७८

केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा महन्थ( राजेन्द्र समूह सहभागी भएसँगै प्रदेश नम्बर २ मा सत्ता समीकरण परिवर्तन हुने संकेत देखिएको छ । दुई दिनदेखि जनकपुरधाममा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले सत्ता साझेदारीका लागि प्रदेश नम्बर २ का काङ्ग्रेसका संसदीय दलका नेता रामसरोज यादवसँग भेटवार्ता गरेका हुन् ।

प्रदेशमा सत्ता साझेदारीबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता रामसरोज यादवले पाएलगत्तै अध्यक्ष उपेन्द्र यादवले भेटघाट गरेका हुन् । आइतबार बसेको काङ्ग्रेसको संसदीय दलको बैठकबाट नीति कार्यक्रम, बजेट र सत्ता साझेदारीको विषयमा निर्णय गर्ने अधिकार नेता रामसरोज यादवलाई दिएको छ ।

संसदीय दलका नेता यादवले रातोपाटीलाई भने, ‘प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, बजेट र केन्द्रमा रहेको गठबन्धन अनुसार नै प्रदेशमा पनि सत्ता साझेदारी गर्न कुन सांसदलाई कतिखेर कहाँ बोलाउनुपर्ने र छलफल गर्नुपर्ने भनी निर्णय गर्ने अधिकार मलाई दिएको छ ।'

यादवले जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि सत्ता साझेदारीका विषयमा कुराकानी भएको स्वीकार गरे । उनले केन्द्रकै गठबन्धन अनुसार सत्ता साझेदारीसहितका विषयमा छलफल भएको बताए ।

औपचारिक रुपमै जसपा विभाजित हुन बाँकी रहेपनि  प्रदेश( २ मा महन्थ(राजेन्द्र पक्षका  सांसदले असहयोग गरेमा उनीहरुलाई हटाएर काङ्ग्रेस र माओवादीसँग मिलेर गठबन्धनको सरकार मुख्यमन्त्री लालबाबु राउतकै अगुवाइमा पुनःगठन तथा मन्त्रीमण्डल बिस्तार गर्ने गृहकार्यमा यादव लागेका छन् । यसका लागि जसपाले काङ्ग्रेस, माओवादी र नेकपा एमाले माधव नेपाल पक्षसँग  समेत छलफललाई निरन्तरता दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप