बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाबीच बैङ्करमाथि आर्थिक वर्ष अन्त्यको चाप, कसरी हुँदैछ व्यवस्थापन ?

आइतबार, २३ जेठ २०७८, १२ : ३०
आइतबार, २३ जेठ २०७८

कोरोना भाइरसको दोस्रो लहरको महामारीबाट सिङ्गो मुलुक नै आक्रान्त भएको यो अवस्थामा अत्यावश्यक सेवा क्षेत्रमा पर्ने बैङ्किङ पनि अछुतो रहन सकेन । गत वर्षको कोरोना भाइरसको पहिलो लहरको महामारीबाट धेरै प्रभावित बने पनि दोस्रो लहरबाट भने कम प्रभावित भएको पाइएको छ । सरकारले अग्र भागमा कार्यरत र अत्यावश्यक सेवा क्षेत्रमा कार्यरतका लागि खोपको व्यवस्था गरेसँगै दोस्रो लहरको महामारीको समय यस क्षेत्रले राहत महसुस गरेको छ । 

बैङ्कमा कार्यरत थुप्रै कर्मचारीमा सङ्क्रमण भयो तर गम्भीर प्रकृतिको सङ्क्रमणबाट भने जोगियो । बैङ्कमा कार्यरत लगभग ३० प्रतिशतले खोप पाएका छन् । बाँकीलाई पनि खोप उपलब्ध गराउन र बैङ्क तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीमा सङ्क्रमणको जोखिम बढी भएकाले उनीहरूका परिवारका सदस्यलाई पनि खोपको व्यवस्था गर्न सरकारसँग बैङ्क तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले माग गर्दै आएका छन् ।

निषेधाज्ञा सुरु भएसँगै राष्ट्र बैङ्कले सीमित शाखा मात्र खोलेर सेवा प्रदान गर्न र डिजिटल बैङ्किङ क्षेत्रलाई प्रोत्साहन गर्न दिएको निर्देशनसँगै बैङ्कहरूले न्यून शाखाबाटै सेवा दिइरहेका छन् । सीमित शाखा मात्रै खुल्दा ग्राहकहरू समस्यामा परेको, घन्टौँ लाइन लाग्नुपर्ने र यस्तोमा ग्राहक तथा बैङ्कका कर्मचारीमा सङ्क्रमणको जोखिम बढी हुने भएकाले शाखा सङ्ख्या बढाउनुपर्ने माग पनि भएको छ ।

एकातिर ग्राहक सेवा, अर्कोतिर कर्मचारीको स्वास्थ्य । यसलाई व्यवस्थापन गर्न बैङ्कहरूले कोभिड हटलाइन सेवा सञ्चालन गरिरहेका छन् भने कतिले हरेक शाखाका सम्पर्क व्यक्तिको फोन नम्बर नै उपलब्ध गराएर ग्राहकलाई कुनै पनि सेवा लिन सक्ने गरी व्यवस्था मिलाएका छन् । शाखा बन्द रहेको अवस्थामा पनि अत्यावश्यक पर्दा सम्पर्क गरी सेवा लिन सकिने सुविधा यतिबेला बैङ्कहरूले दिइरहेका छन् ।

आर्थिक वर्ष अन्त्यको चाप अब यो क्षेत्रमा देखिन थालिसकेको छ । एकातिर नाफा बढाउनुपर्ने दबाब अर्कोतिर कर उठाउन ढिलाइ । महामारी नियन्त्रणमा आउने सङ्केत दखिएको छैन भने निषेधाज्ञा अझै लम्बिन सक्ने देखिन्छ । यस्तोमा बैङ्कले कसरी सेवा प्रदान गर्लान् ? कर्मचारीको सुरक्षा, नाफा कमाउनु पर्ने दबाब, कर उठाउन घर्किंदै गरेको समय लगायतलाई बैङ्कले कसरी व्यवस्थापन गर्दैछ भन्नेबारे हामीले केही बैङ्कसँग चासो व्यक्त गरेका छौँ ।

बैङ्किङ सेवासँगै कर्मचारीको सुरक्षा

अत्यावश्यक सेवा क्षेत्रमा पर्ने बैङ्कले महामारी फैलिएसँगै सीमित शाखा कार्यालय सञ्चालन गरी सीमित कर्मचारीबाट सेवा उपलब्ध गराउन सरकारले दिएको निर्देशनअनुसार अगाडि बढिरहेको छ । नेपालमा सञ्चालित जति पनि सङ्घसंस्था छन्, तीमध्ये सबैभन्दा इमानदार र आज्ञाकारी संस्था बैङ्क भएको ग्लोबल आईएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य दाबी गर्छन् ।

सरकारले कोरोना भाइरसको दोस्रो लहर घोषणा गर्दै निषेधाज्ञामा जाने बताएदेखि नै बैङ्कले सरकार र राष्ट्र बैङ्कको निर्देशनअनुसार कार्य गर्दै आएको बज्राचार्यको भनाइ छ । अग्रभागमा रहेर काम गर्नेहरूलाई र अत्यावश्यक क्षेत्रमा पर्ने बैङ्कका कर्मचारीलाई पनि खोपको व्यवस्था गरिदिएकोमा नेपाल सरकारलाई धन्यवाद दिँदै बज्राचार्य भन्छन्, ‘निषेधाज्ञाको पूर्ण पालना गर्नेदेखि स्वास्थ्य मापदण्ड पालना गर्नेमा बैङ्क अग्रभागमा छ । हामीले कर्मचारीको सुरक्षामा पनि उत्तिकै ध्यान दिएका छौँ । कर्मचारी भनेको संस्थाको मेरुदण्ड हुन् । उनीहरू नै सुरक्षित भएनन् भने कसरी ग्राहकलाई सेवा दिन सक्छन् ? त्यसैले उनीहरूको सुरक्षाको प्रत्याभूत गर्न संस्थाले हरसम्भाव प्रयास गरेको छ ।’

सावधानी अपनाउँदा अपनाउँदै पनि थुप्रै कर्मचारी सङ्क्रमणको सिकार बनेको उनले बताए । तर बैङ्कले कर्मचारीको स्वास्थ्यका लागि उपचारसँगै परामर्शको पनि व्यवस्था गरेकाले कर्मचारीलाई राहत मिलेको उनी बताउँछन् ।

०००

यता नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह पनि अत्यावश्यक सेवा क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने अनि बैङ्कले चाहिँ त्यसको फाइदा लिने तर सेवा दिन सक्दैनौँ भन्न मिल्दै नमिल्ने बताउँछन् । हालसम्म नबिल बैङ्कका ७० प्रतिशतले खोप पाएको उनी बताउँछन् । ग्राहक र कर्मचारीलाई सङ्क्रमणबाट कसरी बचाउने भनेर विशेष सावधानीपूर्वक मापदण्ड नै बनाएर बैङ्किङ सेवा दिइरहेको उनी बताउँछन् । सरकारले भनेजति शाखा कार्यालयबाट अहिले सेवा दिइरहेको छ र सरकारले आग्रह गरेमा अझ बढी शाखाबाट सेवा दिन आफूहरू तयार रहेको उनले बताए ।

नबिलले कर्मचारीका लागि स्वास्थ्य सामग्रीको व्यवस्था, चिकित्सकको परामर्श, आइसोलेसन लगायतको व्यवस्थाका लागि कोभिड रेस्पोन्स म्यानेजमेन्ट टिम नै बनाएर काम गरिरहेको छ । कर्मचारी समस्यामा परेको छ भने तत्काल समाधनका लागि टोली लागिपर्ने शाह बताउँछन् । अहिले सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको दर बढी भएकाले छिट्टै यो महामारीबाट निकास पाइने आशा पलाएको सीईओ शाह बताउँछन् ।

शाह भन्छन्, ‘कर्मचारीको सुरक्षालाई हामी सधैँ प्राथमिकतामा राख्छौँ । कर्मचारीलाई केही समस्या नहोस् भनेर हामीले क्विक रेस्पोन्स टिम नै खडा गरेका छौँ । कोही कर्मचारीमा सङ्क्रमण भयो भने उपचारसँगै परामर्शको उचित व्यवस्था गरेका छौँ । यसले उनीहरूमा आत्मबल बढ्नुका साथै सङ्क्रमण मुक्त हुन सघाएको पाइएको छ । अस्पताल अनि डाक्टरहरूसँग सहकार्य गरेका छौँ । आइसोलेसनमा रहेका र गम्भीर प्रकृतिका बिरामी कर्मचारीलाई उपचारको व्यवस्था गरेकाले उहाँहरू छिटै निको भएर काममा फर्किनु भएको छ ।’

निषेधाज्ञाका कारण ग्राहकलाई अहिले बैङ्कसम्म आउन समस्या छ । त्यसैले हरेक क्षेत्रमा रहेका शाखाका सम्पर्क व्यक्तिको फोन नम्बर उपलब्ध गराएर ग्राहकलाई कुनै पनि समस्या नहोस् भनेर सेवा दिइरहेको शाह बताउँछन् । उनी भन्छन्, ‘नागरिक धेरै नै सचेत हुनुहुन्छ । सङ्क्रमणको जोखिम बढेसँगै डिजिटल बैङ्किङलाई हामीले प्राथमिकतामा राखेका छौँ । ग्राहकहरूले पनि अहिले प्रायः कारोबार डिजिटल माध्यमबाटै गर्नुभएको छ । अहिले डिजिटल बैङ्किङमा क्रान्ति नै आएको छ । यो निकै सकारात्मक पक्ष हो । यसलाई व्यवस्थित गर्दै निरन्तरता दिन हामी कटिबद्ध छौँ ।’

०००

यसैगरी सेन्चुरी कमर्सियल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज न्यौपाने पनि बैङ्कले कर्मचारीको सुरक्षासँगै सेवालाई निरन्तरता दिएको बताउँछन् । उनी आफ्ना कर्मचारीको मनोबल बढाउन चेतना जगाउने, स्वास्थ्य समस्या आएमा चिकित्सक परामर्शका साथ उपचारका लागि पहल गर्ने गरेको बताउँछन् । कोभिडका कारण सेवा प्रभावित नहोस् भनेर डिजिटल तथा अनलाइनमार्फत सेवा दिइरहेको उनले बताए ।

कोही ग्राहकहरू शाखासम्म आउन चाहन्छ भने पनि सीमित शाखाबाट स्वास्थ्य सतर्कता अपनाएरै सेवा दिइरहेको उनले बताए । उनी भन्छन्, ‘हरेक शाखाका प्रमुख र सम्पर्क व्यक्तिको फोन नम्बर उपलब्ध गराएकाले आवश्यकताअनुसार ग्राहकले सम्पर्क गरी कारोबार गर्नुभएको छ । लोन लगायत भुक्तानीका कामका लागि इमेलमार्फत नै काम गरिरहेका छौँ । रेमिट्यान्सका लागि सीधै खातामा रकम जाने प्रावधान राखिएकाले ग्राहकलाई बैङ्कसम्म आउन नै पर्दैन । पायक पर्ने स्थानबाट एटीएमको प्रयोग गरी रकम झिक्न सकिन्छ । यसले कर्मचारीमा पनि सङ्क्रमणको जोखिम कम भयो भने ग्राहकमा पनि ।’

सीमित शाखा र कर्मचारीमा खुम्चिनुपर्दा

सरकारले थप शाखा खोल्न भन्यो भने पनि खोल्न तयार रहेको ग्लेबल आईएमई बैङ्कका सीईओ बज्राचार्य बताउँछन् । उनले भने, ‘पूर्ण सुरक्षित तरिकाले हामी ग्राहकलाई सेवा दिन तयार छौँ । उपत्यकामा मात्रै ५९ वटा शाखा कार्यालय छन् । त्यसमध्ये ६ वटा शाखाबाट मात्र अहिले सेवा दिन भनिएको छ । यस्तोमा ग्राहक समस्यामा पक्कै पर्ने भए । थोरै शाखा खुल्दा भीड हुने भएकाले त्यसलाई व्यवस्थित गर्न हटलाइन र शाखा प्रमुखहरूलाई सीधै सम्पर्क गरी सेवा दिन भनेका छौँ । ग्राहक सेवाका लागि हामी तयार छौँ ।’

बज्राचार्य अगाडि भन्छन्, ‘केन्द्र बैङ्कको निर्देशन मान्दै अहिले २० प्रतिशत मात्रै कर्मचारीले कर्पोरेट कार्यालय सञ्चालन गरिरहेका छौँ । बाँकीले वर्क फ्रम होमलाई अवलम्बन गरेका छौँ । थोरै मात्र शाखा खोल्दा भीडभाड हुने भएकाले सकेसम्म डिजिटल कारोबार गर्न र आवश्यकताअनुसार बैङ्क शाखामा जान ग्राहकहरूलाई बारम्बार आग्रह गरेको छौँ ।’

स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्दै कार्यालयमा हुँदा पनि भर्चुअल मिटिङ गर्ने गरेको उनी बताउँछन् । अहिले स्वास्थ्य सामग्री र खाद्यान्नलगायत बाहिरबाट आयात गर्नैपर्ने चिजहरूका लागि एलसी  खोल्नुपर्ने र टीटीबाट कारोबार गर्नुपर्ने हुँदा पालैपालो कार्यालय जाने व्यवस्था मिलाएको उनले बताए । अहिलेको आवश्यकताअनुसार पालैपालो हप्तामा तीन÷तीन दिन कार्यालय जाने बाँकी दिन घरबाट नै गर्नेगरी कर्मचारीलाई मिलाइरहेको बज्राचार्य बताउँछन् । बैङ्कले सञ्चालनमा ल्याएको कल सेन्टरले पनि अहिले ग्राहकको समस्याको समाधान गरिरहेको उनले बताए ।

गत वर्षभन्दा अहिले नागरिकहरू बढी सचेत देखिएका छन् । ग्राहकहरूले पनि डिजिटल कारोबारलाई प्राथमिकतामा राखेर कारोबार गरिरहेका छन् ।

०००

यता नबिल बैङ्कका सीईओ अनिल केशरी शाह पनि औषधिलगायतका स्वास्थ्य सामग्री आयात बढेसँगै यससम्बन्धी कारोबारका लागि पनि बैङ्कमा उपस्थित हुनै पर्ने बताउँछन् । तर नबिलले वर्क फ्रम होमका लागि विशेष एप बनाएर काम गरिरहेको छ । यसले सकेसम्म कार्यालय जान नपरोस् र इमेल वा एममार्फत नै काम गर्न सकियोस् भन्ने मनसाय भएको उनी बताउँछन् । अत्यावश्यक पर्दा इमेल वा फोनबाट सम्पर्क गरी सीमित कर्मचारी मात्रै कार्यालय गएर काम गर्ने गरेको शाहले बताए ।

०००

सेन्चुरी बैङ्कका मनोज न्यौपाने अन्तर्राष्ट्रिय कारोबारहरू गर्नुपर्ने जस्तै एलसी, टीटीलगायत पनि मेलबाट नै गरेको र कार्यालय जानै पर्ने अवस्थामा भने सीमित कर्मचारीले कार्यालयबाट सेवा दिने गरेको बताउँछन् ।

महामारीको समय भएकाले औषधिजन्य सामान आयातका लागि एलसी खोल्नैपर्ने भएकाले यस्तो बेला सेवा नदिने भन्ने कुरा नै आउँदैन । ठूला कारोबारलाई पनि सकेसम्म अनलाइनमार्फत गरेर अत्यावश्यक कार्यलाई अहिले प्राथमिकतामा राखेको उनले बताए । लोन प्रक्रिया, खाता नवीकरणलगायत कार्य पनि अनलाइनबाटै गर्ने गरेको उनले बताए ।

आर्थिक वर्ष अन्त्यको चाप

बैङ्क तथा वित्तीय संस्थाहरू सधैँ नै नाफा कसरी कमाउने भन्ने दौडमा देखिन्छन् । कसले बढी नाफा देखाउन सक्छ भन्ने प्रतिस्पर्धा यस क्षेत्रमा देखिन्छ । सँगसँगै असार लाग्दै गर्दा बैङ्कहरूमा यसको प्रेसर प्रष्टै देखिन्छ । कोरोना महामारीले सबै क्षेत्र ठप्प रहेको बेला राष्ट्र बैङ्कले आफ्ना ऋणीलाई केही सहुलित दिन गरेको आग्रहअनुसार बैङ्कहरू यतिबेला सहुलियतको कुरा गरिरहेका छन् । यस्तैमा बैङ्कहरूले समयसीमा नै तोकेर जसले छिटो ब्याज तिर्नसक्छ उसलाई यति छुट भन्न थालिसकेका छन् ।

यस्तो अवस्थामा ग्लोबल आईएमई बैङ्कका सीईओ बज्राचार्य भने राष्ट्रबैङ्कको निर्देशनअनुसार आफूहरू चल्ने बताउँछन् । उनी नियम कानुनको अवलम्बन गर्ने संस्थाहरूमा बैङ्क एक नम्बरमा पर्ने दाबी गर्दै आफ्ना ग्राहकको सुविधाका लागि बैङ्क सदासर्वदा तयार रहेको बताउँछन् । ग्राहकको समस्या भनेको बैङ्क आफैको समस्या भएकाले ग्राहकलाई सहुलियत दिन आफूहरू अगाडि बढिरहेको उनले बताए । गत वर्षको महामारीले निम्त्याएको समयमा पनि ग्राहकलाई सहुलियत दिएका दिएको र अहिले पनि यसबारेमा छलफल गरिरहेको उनले बताए । आफूहरू नाफा कमाउनभन्दा पनि ग्राहकको सुविधामा ध्यान केन्द्रित गर्ने उनको भनाइ छ ।

नबिल बैङ्कका सीईओ अनिल शाह आर्थिक वर्ष सकिनै लाग्दा यस क्षेत्रको चिन्ता भनेको कसरी स्टेबल हुने मात्रै भएको बताउँछन् । यो नाफा घाटा खोज्ने समय नभएको भन्दै उनी अहिलेको अवस्थामा सस्टेन नै मुख्य भएको बताउँछन् । महामारीको यो अवस्थामा सबै कर्मचारीलाई कार्यालयमा उपस्थित गराएर काम गराउने अवस्था नरहेकाले कुनै पनि दबाब नआउने शाहको भनाइ छ ।

त्यसैगरी, सेन्चुरीका डीसीईओ मनोज न्यौपाने पनि बैङ्कलाई सस्टेन गराउन र सहभागितामूलक रूपमा अगाडि बढ्न केन्द्रित हुने बताउँछन् । भर्खरै सार्वजनिक भएको बजेटमार्फत नयाँ बाटोमा जान सबै बैङ्कहरूलाई सरकारले प्रेरित गरेकाले यसका लागि बैङ्कहरू तयार देखिएको उनको तर्क छ । अहिले कुनै पनि बैङ्क नाफा कमाउनमा केन्द्रित नभएको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप