नीतिकथा : जिद्दी र अहङ्कारको नतिजा
प्रसङ्ग भागवत पुराणको हो । परापूर्व कालमा प्रयाग तीर्थमा ऋषिमण्डलीले ठूलो यज्ञ गरेका थिए । प्रयाग तीर्थ भनेको गङ्गाजमुनाको सङ्गम हो । यो स्थान हाल भारतको इलावादमा पर्छ । त्यतिबेला भूमण्डलको प्रशासक दक्षप्रजापति थिए । प्रशासकको नाताले यज्ञमा उनलाई पनि बोलाइएको थियो । उनी आउँदा उपस्थित सबैले उठेर नमस्कार गरे तर महादेवले भने गरेनन् । दक्षप्रजापतिले यसलाई आफ्नो अपमान ठानी महादेवको मेख मार्न हरिद्वारको कनखल तीर्थमा अर्को यज्ञ गरे, जहाँ महादेव र सतीदेवी बाहेक सबै देवीदेवता निम्त्याइएका थिए । यो कुरा सतीदेवीले थाहा पाइन् र महादेवसित भनिन्–
‘महादेव ! बाबा दक्षप्रजापतिले यज्ञ गर्नुभएको रहेछ । हामीलाई त थाहा पत्तै दिएनन् किन होला ?’
महादेवलाई यो कुरा थाहा थियो । अनि थाहा थियोे भावी नतीजा पनि । त्यसैले सकेसम्म थाहा छैन भन्दै टार्न खोजे तर सतीदेवीको जिद्दीको अगाडि केही लागेन र लामो सास फेर्दै भने–
‘छाडी देऊ यस्ता कुरा । बोलाएनन् त बोलाएनन्, हामीलाई के नपुग्दो छ र । नबोलाउँदैमा साना भएका छैनौ क्यारे ।’
सतीदेवीको मनमा थप चिसो पस्यो । अरु जिद्दी गर्दै भन्न लागिन्–
‘पक्कै कुनै कारण हुनुपर्छ भन्नुस् न के हो ? बिना कारण यति ठूलो कार्यमा आफ्नै छोरीज्वाइँलाई सम्झनासम्म नगर्ने पनि हुन्छ कतै ?’
सतीदेवीको जिद्दी गहिरिँदै गएपछि महादेवले अनकनाउँदै भने–
‘तिम्रा बाबा दक्षप्रजापति हामीसँग रिसाउनु भएको छ, त्यसैले हुनुपर्छ ।’
‘बाबा रिसाउनुभएको छ रे ?’
‘हो, रिसाउनुभएको छ ।’
‘किन नि ?’
‘किन भन्ने खोइ । यति बुझ उहाँ रिसाउनुभएको छ ।’
‘बिना कारण पनि कोही रिसाउँछन् ? आफैँले कुनै गल्ती गर्नुभयो होला अनि ।’
‘गल्ती त होइन तर उहाँले गल्ती मान्नुभएको छ ।’
‘ओहो ! मलाई त थाहै थिएन । के भएको थियो भन्नुस् न ।’
‘खासै होइन, तीललाई पहाड बनाएका छन् नि बुढाले । यज्ञस्थलमा आउँदा मैले उठेर नमस्कार गरिन रे । त्यस्तो पनि हुन्छ ? अहङ्कारी बुढा । लाग्दैछ उहाँको अहङ्कारको आगो सितिमिति निभ्ने छैन ।’
‘तपाईँ नै उस्तो । अरुलाई अहङ्कारी भन्नुहुन्छ आफैँ त्योभन्दा बाक्लो अहङ्कारको बर्को ओडी हिड्नुहुन्छ । नमस्कार गर्दैमा के जान्थ्यो, गरिदिनुभएको भइहाल्थ्यो नि । आखिर हामीभन्दा उहाँ नै ठूलो हो क्यारे । ठूलालाई भेट्दा सानाले नमस्कार गर्नुपर्छ भन्ने तपाईँ नै होइन ?’
‘त्यो त हो तर त्यतिबेला मिल्ने अवस्था थिएन ।’
‘भोभो बाहना पार्न पर्दैन । ठूूला मानिसलाई आदर गर्न पनि साइत हेर्नुपर्छ र ?’
‘हो, नाता सम्बन्धमा उहाँ हामीभन्दा ठूलो हुनुहुन्छ तर त्यतिबेला म जुन पदमा थिएँ त्यहाँ बसेर नमस्कार गर्न मिल्ने अवस्था थिएन ।’
‘पदमा हुँदैमा मान्यजनलाई नमस्कार गर्न नमिल्ने पनि हुन्छ कतै ?’
‘हुन्छ महादेवी ! हुन्छ । नाता सम्बन्धभन्दा सार्वजनिक पद ठूलो हुन्छ । नाता सम्बन्ध व्यक्तिगत कुरा हो । पद भनेको सार्वजनिक कुरा हो । पदमा बस्नेले पदीय मर्यादा भुल्नुहुँदैन । अन्यथा चौपट हुन्छ । देवता भए मानव चोलामा आउनुपर्छ । मानव भए दानव चोलामा जानुपर्छ । यसलाई उल्लङ्गन गर्न यमराजले पनि सकेका छैनन्, भगवान् विष्णुले पनि सकेका छैनन् । यसैका कारण धर्मराजले विदुर बन्नुपरेको थियो । विष्णुले राम बनेर आउनुपरेको थियो । पदीय मर्यादा हेक्का नराख्नु र पदको दुरुपयोग गर्नु उस्तै हो । यसले बदनामी गराउँछ, लोकले कुरा काट्छन् । अनि के हुन्छ थाहा छ ? मलाई कसैले टेर्दैनन्, तपाईँसम्म नभनेर तिमी भन्छन् भन्दै हिड्नुपर्छ, भनाउँदै हिड्नुपर्ने अवस्था आउन सक्छ बुझ्यौ ?’
ठीकै छ त्यसो भए त्यसै होला ।’ सतीदेवीले प्रसङ्ग बदल्दै भनिन्–
‘पुरानो कुरा छाडिदिउँ । तुष पालेर कसैलाई पनि फाइदा गर्दैन । जाउँ हिड्नुस् बरु । आफैँ गएर सम्झाउने प्रयास गरौँ ।’
‘हुँदैन, जान मिल्दैन ।’
‘किन र ?’
‘किनकि बोलाएका छैनन् । नबोलाएको ठाउँमा जानु हुँदैन ।’
‘त्यो त हो तर बाबुको घर, पतिको घर, गुरुको घर र भक्तको घर त नबोलाए पनि जान हुन्छ भन्नुभएको होइन ?’
‘हुन त हो तर....।’ केही सोचे जस्तो गर्दै महादेवले भने–
‘सज्जन भए मात्रै । अन्यथा मर्यादा भङ्ग हुन्छ, घोर अनिष्ट निम्तिन सक्छ ।’
‘बाबुको घर जाँदा अनिष्ट हुन्छ भने होस् । जे पर्छपर्छ । मान्नुहुन्छ भने हिड्नुस् सँगै जाउँ । होइन भने बिदा पाउँ एक्लै जान्छु ।’
‘होइन मानिनी त्यस्तो कुरा नगर । जहाँ मान हुन्न त्यहाँ जान हुन्न । तिमी मानमा बसेको मानिस । अपमान सहन गाह्रो पर्छ । त्यस्तै परे मृत्युसम्मको अवस्था आउन सक्छ ।’
‘वश, वश ! अब एक शब्द पनि सुन्न चाहन्न । तपाईँ के गर्नुहुन्छ तपाईँको कुरा । म त हिँडे ।’
यति भनेर सतीदेवी माइती तर्फ लागिन् । महादेव हेरेकोहे¥यै भए ।
माइत पुगेर उनले सर्वप्रथम यज्ञमण्डपमा आँखा लगाइन् । महादेवको आसन खाली देखेर नरमाइलो लाग्यो । बाबुसँग रोइकराई गरी महादेवलाई बोलाई पठाउन आग्रह गरिन् तर दक्षप्रजापतिले सुन्दैसुनेनन् । घमण्ड र अहङ्कारले अन्धो मात्र होइन बहिरोसमेत भइसकेका थिए । त्यसैले अनेक तरहले शिवको निन्दा गर्न थाले ।
‘नारीजाति सबै सहन सक्छन् तर आफ्नो पतिको निन्दा सहन सक्दैनन् । सतीदेवीलाई पनि त्यस्तै भयो । आफ्नो अपमान भन्दा पनि शिवजीको निन्दा सहन गाह्रो भयो । उनलाई शिव निन्दा सुन्ने शरीर लिएर बाँच्नुभन्दा मर्नु नै उत्तम लाग्यो र अग्निदेवसँग शरण माग्दै यज्ञकुण्डमा फाल हालेर प्राण त्याग गरिन् ।
यसरी दक्षप्रजापतिले फुकेका घमण्ड र अहङ्कारको आगो आफ्नै छोरीले प्राणको आहुति लिएपछि मात्र शान्त भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै