शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भोकै बस्न बाध्य मजदुर भन्छन्– 'यो संकटमा नदिएको चामल चुनावमा चाहिँदैन'

आइतबार, २३ जेठ २०७८, १० : २३
आइतबार, २३ जेठ २०७८

गुल्मी । रेसुङ्गा नगरपालिका–७ छेंडापोखरीका दलित परिवारहरु दैनिक गुजाराका लागि समस्यामा परेका छन् । दैनिक मजदुरी गरेर दुई छाक टार्दै आएका उनीहरु लामो समयदेखि निषेधाज्ञा जारी रहेपछि काम गर्न नपाउँदा भोकै बस्नुपर्ने अवस्थामा पुगेका हुन् ।

स्थानीय विष्णु परियारका अनुसार उक्त टोलमा ९ घरपरिवार  दलित छन् । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका आफूसहित ती घरपरिवार अहिले दुई छाक टार्ने समस्यामा पिल्सिएको उनले बताए ।

चुनावको समयमा नेताहरुले दलित घरपरिवारलाई चामलसमेत बाँड्ने गरेको स्मरण गर्दै उनले भने, ‘यस्तो संकटका बेला कसैले वास्ता गरेनन्, संकटमा नपाएको चामल चुनावमा चाहिँदैन ।’

उनका अनुसार नजिकैको बुट्टाकुरी टोलमा रहेको दलित बस्तीको अवस्था पनि उस्तै छ ।

दलित परिवारमात्र होइन, दैनिक मजदुरीबाटै जीविकोपार्जन गर्दै आएका गैरदलितको अवस्था पनि नाजुक छ । इस्मा गाउँपालिका–२ उजुङ्ग घर भई तम्घासको पुतली बजारमा डेरा गरी बस्ने गंगाबहादुर ठकुरीले भोकै बस्नुपर्ने अवस्था निम्तिएको पीडा सुनाए ।

उनको परिवारमा बुहारी र दुई नाति छन् । निषेधाज्ञा अघिसम्म बुहारीले होटलमा भाँडा माझ्ने, अरुको कपडा धुने गरेर गुजारा चलेको उनले सुनाए । ‘म बुढो मान्छे, काम गर्न सक्दिँन,’ उनले भने, ‘कमाउन भनेर हिँडेको छोरो सम्पर्कमै छैन । हामीलाई अहिले दुई छाक टार्न सकस छ ।’

रेसुङ्गा नगरपालिका–८ का डिलबहादुर नेपाली आफूहरु समस्यामा पर्दा कसैले वास्ता नगरेको गुनासो गर्छन् । निषेधाज्ञा जारी भएपछि काम नपाउँदा पेट भर्न समस्या भएको उनले बताए । ‘चुनावमा चामलमात्रै हो र ! पैसा पनि बाँड्थे नेताहरु । अहिले हामीलाई यत्रो संकट पर्दा कोही वास्ता गर्दैनन् ।’

गत वर्ष लकडाउन भएको दोश्रो हप्तादेखि स्थानीय सरकारका तर्फबाट खाद्यान्न राहत बाँडिए पनि यो वर्ष यतिका दिनसम्म निषेधाज्ञा भएर आफूहरु सकसमा पर्दा कसैले वास्ता नगरेको उनीहरुको गुनासो छ ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल तत्काल त्यसरी राहत बाँड्नेबारे योजना नबनेको बताउँछन् ।

राष्ट्रिय दलित पत्रकार संघ गुल्मीले कोभिड पीडित मजदुरका लागि राहत अभियान सञ्चालन गरेको छ । सो अभियानमार्फत जिल्लाका २१ सञ्चारकर्मी र एक दर्जन मजदुरहरुलाई खाद्यान्न वितरण गरिएको छ । थप दुई दर्जन मजदुरलाई पुग्ने रासन संकलन भएको अभियानका सचिव मनु सुनार मनसुनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप