केन्द्रीय संस्करण
मेरो जीवन

दीपक गिरीको जीवन : आर्मी बन्ने सपना त्यागेर राजनीतिमा होमिए

‘ज्योतिषमा विश्वास लाग्छ, इमानदार भएकाले राजनीतिमा धेरै दुःख पाएँ’

person explore access_timeजेठ २२, २०७८ chat_bubble_outline0

दाङ पुर्ख्यौली घर भएका पूर्वमन्त्री दीपक गिरी नेपाली काँग्रेसका नेता हुन् । पारिवारिक माहौलले सानैदेखि नेपाली काँग्रेसमा होमिएका उनले २०३६ सालदेखि नेपाल विद्यार्थी सङ्घबाट काँग्रेसको सक्रिय राजनीति सुरु गरेका थिए । प्रजातन्त्र आउनुपूर्व सत्याग्रहको समयमा नेपाली काँग्रेसको एक्सन कमिटीका केन्द्रीय सदस्य रहेका उनी २०५१ को संसदीय चुनाबमा असफल भएका थिए ।

दोस्रो संविधान सभापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी सिँचाइ मन्त्री भए । २०७० सालमा दाङको साबिक क्षेत्र नं ५ बाट निर्वाचित गिरी २०७४ मा दाङको क्षेत्र नं ३ बाट पराजित भए ।

गिरी २०६७ सालदेखि काँग्रेसको केन्द्रीय सदस्यमा निरन्तर छन् । नेपाली काँग्रेसको राजनीतिमा आफ्ना समकालीन भन्दा पछि परेका उनी आफू इमानदार भएर पछि परेको दाबी गर्छन् ।

नेपाली काँग्रेसका नेता दीपक गिरीको जीवन उनकै शब्दमाः

मेरो राजनीति

म सानैदेखि राजनीतिमा छु । मेरो परिवार नै राजनीतिमा थिए । मेरा हजुरबुबा २०१४ सालमा नेपाली काँग्रेसको सल्लाहकार सभाको सदस्य हुनुहुन्थ्यो । मेरा बुबा पनि माननीय हुनुभएको थियो । म पनि सानैदेखि प्रजातन्त्रका लागि लडेको व्यक्ति हुँ ।

प्रजातन्त्रका लागि लड्दा म २०३० सालमै पक्राउ परेको थिएँ । आधिकारिक रूपमा भने नेपाली काँग्रेसको सदस्य २०३४ सालमा भएँ । २०३४ मै नेपाली काँग्रेसको दाङको क्षेत्रीय सभापति पनि भएको थिएँ । २०३६ सालमा नेविसङ्घको केन्द्रीय सदस्य भएपछि भने मेरो नेपाली काँग्रेसको सक्रिय राजनीति सुरु भएको थियो ।

प्रजातन्त्र आउनुभन्दा पहिले सत्याग्रहको समय म एक्सन कमिटीको केन्द्रीय सदस्यमा थिएँ । २०३८, ०३९ सालमा त्रिचन्द्रमा, त्यसपछि त्रिभुवन युनिभर्सिटीमा समेत स्ववियु चुनाव लडेँ । २०६७ देखि भने म नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुँ । २०५१ सालको सांसद चुनावमा म असफल भएको थिएँ । २०७० सालको चुनावमा सांसद भएँ ।

दोस्रो संविधान सभापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका म सिँचाइ मन्त्री भएँ । मेरा समकालीनभन्दा म राजनीतिमा पछि छु । राजनीतमा चतुर मानिस मभन्दा धेरै पहिले मन्त्री भए भने म धेरै पछि ।

म स्वच्छ राजनीतिमै समर्पित छु । पहिले, अहिले र अब पनि रहनेछु । पछिल्लो समय राजनीति चलाखी र फोहोरी खेल भएको छ । सोझो राजनीति गर्ने भएकाले मैले जहिले पनि दुःख पाएँ ।

राजनीतिमा होमिनुभन्दा पहिले मेरो आर्मीमा जाने सोच थियो । यदि राजनीतिमा नआएको अहिले आर्मी अफिसर हुन्थेँ होला ।

मेरो खाना

नेपाली खाना दालभात, तरकारी, अचार, माछामासु सबथोक मनपर्छ । करेलाको भने सानैदेखि मनपर्दैन । मेरा साथीहरूका धेरै ग्रुप छन् । साथीभाइ, परिवार सबैसँग रेस्टुरेन्ट जान्छु ।

पहिले मटन र अहिले चिकेन धेरै खान्छु । त्यसपछि चाइनिज, इन्डियन, नेवारी, नेपाली डिक्स मनपर्छ । पकाउनमा अलि अलि रुचि छ । कहिलेकाहीँ मासु पकाउँछु । मासुका विभिन्न परिकार र मीठोसमेत पकाउन सक्छु ।

मेरो फिट्नेस

फिट्नेसका लागि सजग छु । नियमित क्लब जान्छु । तर हेभी एक्सरसाइज गर्दिनँ । सोना स्टिमसमेत लिन्छु । एक्सरसाइजका लागि घरमा सेराजिन मेसिन छ । त्यसमा पनि नियमित एक्सरसाइज गर्छु ।

विद्यार्थी जीवनमा एक्सरसाइज धेरै गर्थें । अहिले भने थोरै गर्छु । काठमाडौँ भएको बेला नियमित क्लब जान्छु । बाहिर हुँदा घरमै एक्सरसाइज गर्छु । पहिले पहिले मर्निङवाक समेत गर्थें । अहिले छोडेको छु ।

मेरो पोसाक

रफ खालका पहिरन नै बढी प्रयोग गर्छु । धेरैजसो कटन पाइन्ट, सट र टिसर्टलगायत लगाउँछु । कुर्थासुरुवाल कहिलेकाही लगाउँछु । विवाह, पार्टी र फर्मल कार्यक्रममा दौरासुरुवाल, कोट, कोट, पाइन्ट प्रयोग गर्छु ।

पहिरनमा मनपर्ने रङ स्काई रङ, नीलो र सेतो हो । पहिरन मनपरेको किन्छु । ब्रान्डेड पनि छान्छु । कपडा लगाउँदा राम्रो लगाउनुपर्छ भन्ने मेरो मान्यता हो । मेरो सोख जुत्ता र चस्मामा छ ।

एक पटक बीपीले मानिसको पर्सनालिटी जुत्ताबाट थाहा हुन्छ भन्नुभएको थियो । त्यसैले म विशेष ध्यान जुत्तामा दिन्छु ।

मेरो अध्ययन

पहिले पहिले पुस्तक पढ्थेँ । अहिले इन्टरनेटमा सबै पाइने भएकाले त्यसैमा अध्ययन गर्छु । पत्रपत्रिका, अनलाइन अध्ययन गर्छु ।

मैले इतिहास विषय लिएर एमए प्रथम श्रेणीमा उत्तीर्ण गरेको छु । विद्यार्थी जीवनमा नोबलहरू धेरै पढ्थेँ । अहिले भने बायोग्राफी धेरै पढ्छु ।

मेरो घुमफिर

घुमफिरमा धेरै रुचि छ । धार्मिक क्षेत्रमा बढी घुमघाम गरेको छु । भारतको रामेश्वरदेखि केदारनाथ, बद्रीनाथलगायत धेरै धार्मिक स्थल घुमिसकेको छु ।

मन्दिर र निकुञ्ज घुम्न असाध्यै मनपर्छ । अमेरिका, युरोपलगायत धेरै ठाउँ देशसमेत घुमेको छु । फुर्सद भयो कि म देश विदेश घुम्न निस्कहाल्छु । देशका ७७ जिल्ला पुगेको छु । ओलाङचुङ गोलासमेत पुगेको छु । त्यस गाविसमा ९८ जना मानिस रहेछन् । १ स्कुल र तीन शिक्षक, ४ जना विद्यार्थी थिए ।

मेरो फुर्सद

राजनीति होस् वा अन्य मेरो साथी सर्कल धेरै छन् । युवादेखि वृद्धसम्म मेरा साथी छन् । मेरो बुबाका साथी पनि अहिले मेरो साथी छन् ।

त्यसैले मलाई फुर्सद कमै हुन्छ । बिजी भनेर कामले बिजी होइन । साथीभाइ, परिवार, आफन्तलगायत केही न केहीमा व्यस्त भइरहेको हुन्छु ।

मेरो खेलकुद

मनपर्ने खेल फुटबल हो । पहिले त म राम्रो खेलाडी थिएँ फुटबल र एथलेटिक्स्को । वीरेन्द्र सिलमा जिल्ला स्तरीय १५०० मिटर एथलेटिक्स्मा प्रथमसमेत भएको थिए । सानो हुँदा फुटबल खेलको राम्रो खेलाडी थिएँ ।

अहिले वल्र्डकप, एसियनकप लगायत फुटबलका महत्त्वपूर्ण खेल कहिल्यै छुटाउँदिनँ । २०२२ मा कतारमा आयोजना हुने फुटबल खेल उतै गएर हेर्ने विचार छ ।

मेरो मोबाइल

पहिले डबल सिम भएको एउटा मोबाइल बोक्थेँ । अहिले भने दुईवटा मोबाइल बोक्छु । मोबाइल जहिले पनि मसँग लेटेस्ट भर्सनकै हुन्छ । अहिले पनि एप्पलको लेटेस्ट भर्सनको छ ।

धेरै वर्षदेखि एप्पल ब्रान्डका मोबाइल बोकिरहेको छु । अमेरिकामा साथी भएका कारण नयाँ मोडल निस्कने बित्तिकै पठाउँछन् ।

साथीभाइ सबैसँग सम्पर्क, ह्वाट्स एप, म्यासेन्जर, इमेल, भाइबर, फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जाल मोबाइलमा चलाउने गर्छु ।

मेरो टिभी

टिभी अलि अलि हेर्छु । टिभीमा समाचार, बीबीसीका कार्यक्रम, सीएनएनका कार्यक्रम हेर्छु । धार्मिक कार्यक्रम पनि हेर्न मनपर्छ । टिभीमा आउने महाभारत प्रायः छुटाउँदिनँ । म दङ्गाली हुँ । त्यसैले कहिलेकाहीँ लोकदोहोरी पनि हेर्छु ।

मेरो फिल्म

फिल्म मनपर्छ, हेर्छु । नयाँ, राम्रा भनिएका र चर्चित फिल्म नेपाली र हिन्दी सबै हेर्छु । साथीभाइ, परिवारसँग हलमै गएर कहिलेकाहीँ फिल्म हेर्छु । पहिले जय नेपाल हलमा गएर फिल्म हेर्थें । पछिल्लो समय लबिङ मलमा गएर हेर्न थालेको छु । घरमै टिभीमा समेत हेर्छु ।

ऐतिहासिक, कमेडी र रमाइलो खालका फिल्म मनपर्छ । देशभक्ति विषयका फिल्मसमेत राम्रो लाग्छ । बाहिर विभिन्न टेन्सन त्यसैले हलमा रमाइलो फिल्म मनपर्छ । पछिल्लो समय हेरेको फिल्म बलिउडको ‘सन्जु’ हो ।

मेरो विवाह

पहिले प्रजातन्त्र आएपछि मात्र गर्छु भनेर विवाह दिमागमा राखिनँ । प्रजातन्त्र आएपछि कहिले के मिलेन, कहिले केमा अल्झिएँ । त्यसैले विवाह ढिलो गरेँ । २०६२ सालमा मैले विवाह गरेको हो ।

विवाह छोटो प्रेम र समझदारीमा भयो भन्नुपर्छ । एक कार्यक्रममा साथीसँग जाँदा उनको दाइसँग भेट भयो । त्यसपछि उनलाई भेटेँ । परिचय र कुराकानी पनि हुन थाल्यो । यही क्रममा उनले पनि मनपराइन् र मलाई पनि मनप¥यो । भेटेको ६, ८ महिनामा हामीले विवाह ग¥यौँ ।

मेरो सपना

साउथ कोरिया, बैङ्कक लगायत थुप्रै मुलुक विकसित र समृद्ध भएका छन् । नेपाललाई पनि त्यही गतिमा देख्ने र पु¥याउने सपना छ ।

अहिले राजनीतिप्रति धेरै मानिसको विश्वास गुमेको छ । पछिल्लो समयको राजनीतिले त्यस्तो भएको हो । वास्तवमा म ठूलो मानिस बन्छु भनेर राजनीतिमा लागेको होइन । म राम्रै सुखसयलमा हुर्किएको मानिस हुँ । सुरुमा प्रजातन्त्र ल्याउँछु भनेर जीवन समर्पित गरियो । नेपालको खराब पक्ष अन्त्य गर्ने मेरो लक्ष्य हो ।

मुलुक समृद्ध, राजनीति स्वच्छ र नेपाल विश्वको उत्कृष्ट देशमध्येको एक भएको हेर्ने मेरो सपना हो ।

मेरो खुसी

धनी मात्र होइन गरिब पनि हरेक कुरामा लायक हुन् । उनीहरूले केहीबाट पनि वञ्चित हुनुप¥यो भनेको सुन्नु नपरोस् । म खुसी त्यसैमा देख्छु ।

मेरो गीतसङ्गीत

गीतसङ्गीत मनपर्छ । नेपाली, हिन्दी सबै प्रकारका सेन्टिमेन्टल गीत सुन्छु । नारायण गोपाल, भक्तराज आचार्य, अञ्जु पन्तलगायत नयाँ पुराना सबै प्रकारका गायक गायिको गीत सुन्छु ।

मेरो मापसे

मापसे तरिका मिलाएर गर्थें । अहिले छोडेको केही महिना भयो । तौल बढ्यो भनेर छोडेको हो । भदौबाट फेरि लिन्छु होला । साथीसर्कलका कारणले थोरै भए पनि लिनैपर्ने हुन्छ । त्यसैले लिमिट लिन्छु ।

पहिले बियर, भोड्का खान्थेँ । अहिले सिङ्गलमड खान्छु । घरमा रक्सी सजाएर राखेको छैन । कहिलेकाहीँ साथीभाइ आउँदा चाहिन्छ भनेर केही ब्रान्ड भने छन् ।

मेरो भुल

मानिस हुँ, जानी नजानी धेरै भुल भए होलान् । भुलबाट सिक्ने पनि हो । कतिले यो धेरै रिसाउँछ भन्छन् । त्यो रिसाउनु पनि मेरो भुल हुनसक्छ । जीवनमा कहिलेकाहीँ यो नगरेको भए पनि हुने रहेछ भनेर केही कुरामा फिल हुन्छ । त्यो पनि भुल होला ।

प्रजातन्त्रपछिको राजनीतिक तालमेल देख्दा योभन्दा फरक तवरले जानुपथ्र्याे कि जस्तो लाग्छ । समग्र देशको राजनीति हामीले सुधार्न सकेनौँ कि जस्तो लाग्छ । त्यो पनि एक किसिमको भुल हो कि ? अरूलाई छिटो विश्वास गर्ने भएकाले  धेरै चोटि धोका खाएको छु । त्यो पनि मेरो भुल नै हो ।

मेरो रोग

भगवान्को कृपाले अहिलेसम्म ब्लड प्रेसरबाहेक केही रोग छैन । प्रेसर भने औषधि खाँदैछु ।

मेरो राशि

मेरो राशि ‘तुला’ हो । ग्रहदशामा पूरै विश्वास लाग्छ । ज्योतिष हेराउने जुराउने सबै गर्छु । मेरो जीवनमा हेराएको कुरो धेरै मिलेको छ । पशुपतिका मूल भट्ट मेरा गुरु हुन् । सेकेन्ड भट्टकहाँ पनि हेराउने गर्छु । कुन्नि किन हो ज्योतिषमा विश्वास लाग्छ ।

मेरो मृत्यु

मृत्यु जीवनको अन्तिम सत्य पनि हो । जन्मेपछि मर्नुपर्छ । अहिले छोराछोरी सानै छन् । काँधमा उनीहरूको जिम्मेवारी छ । बच्चाहरू सक्षम भएपछि मर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.