नर्स र डाक्टरहरुका नाममा...
प्रिय नर्स र डाक्टर ! समयले तिम्रो काँधमा आफ्नै मृत्यु र अरुलाई बचाउने जिम्मेवारीको जोखिम एकैपटक राखिदिएको छ । तिमीलाई मृत्युको भयले किच्यो भने जिम्मेवारीबाट टाढा भाग्नेछौ र जिम्मेवारीबोधले जित्यो भने मृत्युलाई रछ्यानमा सुताउने छौँ । साँच्चिकै डरलाग्दो भूमरीमा छौ तिमी । कोठाभित्र कोरोनाको भयले थन्किरहेको मलाई यति सोच्दा पनि जिउमा काँडा उम्रन्छ ।
कोभिड–१९ बाट दैनिक अप्रत्याशित मृत्यु र हजारौँ संक्रमित भएको खबरले दिमाग खराब गराइरहेका बेला के लेख्न सकिएला ? यति सोच्नसाथ सेतो पीपीई, मास्क र फेस सिल्ड गरिएको भर्चुअल इमेज मेरो खप्परमा आइपुग्यो । र, लाग्यो तिम्रो वीरताका अक्षरहरू त लेखिनै पर्छ । लेखिएला... ।
तिम्रै अस्पतालबाट तुफान जसरी निस्किरहेका छन् मृत्युका खबर । र, हावा जसरी फैलिरहेका छन् दुनियाँका मकान–मकानसम्म, कान–कानसम्म ।
कोरोनाले ध्वस्त पार्दै गरेको संक्रमितको फोक्सोमा अक्सिजन अभाव हुँदा तिम्रा सिलिण्डरविहीन हात कापिरहेका होलान् । फ्याँ–फ्याँ गरेको संक्रमित बोकेर तिम्रो हस्पिटलको प्यासेजमा साइरन बजाउँदै एम्बुलेन्स आइरहँदा बेड नभएर भक्कानिँदै छ होला तिम्रो मन । शय्यामा हट्टाकट्टा शरीरले फेरिरहेको सास क्षणभंगुरमै नाटकसरी रोकिँदा बर्सिरहेका होलान् तिम्रा आँखामा आँशु ।
हप्ता दिनसम्म एउटै पीपीईमा संक्रमितको अघिपछि गर्दा काँपिरहेका होलान् तिम्रो मुटु । चाहिएका बेला मास्क र फेससिल समेत फेर्न हम्मे–हम्मे पर्दा कैयौँपटक सम्झिएका छौ होला परिवारको अनुहार र थपथपाए हौला आफ्नो निर्दोष निधार ।
प्रिय नर्स/डाक्टर !
हो, तिमी भयङ्कर जंगमा छौ । यो तिम्रो पेसाले होइन, देशको विवशताले दिएको सजाय हो । गरिव देशको गैरजिम्मेवार शासकले दिएको उपहार हो । नागरिकप्रतिको उत्तरदायित्व बिर्सिएको बेपरवाह नेतृत्वले गरेको क्रुर मजाक हो । तर, बा मूर्ख भए भन्दैमा तिमीलाई पटमूर्ख हुने छुट छैन । र, त लडिरहेकाछौ रणभूमिमा । अगाडि लेख्नु पूर्व तिम्रो साहासलाई एकपटक स्यालुट गर्छु । स्वीकार गर !
मेरो देश हावाले चलिरहेको छ । अर्थात हावा गफले, हावा अनुमानले, हावा तर्कले, हावा निर्णयले, हावा उपदेशले (अधिकांश यस्तै) । ११ कक्षा पढ्दै गरेको मेरो भाइले पनि भन्छ हाम्रो देशका नेताहरुले त कस्तो हावा–हावा कुरा गर्ने । अर्थात देशको अभिभावकहरुले सन्तानलाई हावा बन्ने तालिम दिइरहेका छन् ।
तिमीले पनि पाएकै हौ, शतप्रतिशत जोखिम भत्ताको आश्वासन । पटक–पटक सरकारले गरेकै थियो स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री अभाव हुन नदिने प्रतिबद्धता । डेढ वर्षअघि नै घोषणा भएकै थियो अस्पतालमा बेड, डाक्टर, नर्सको अभाव हुनै नदिने । भनें नि ! यी सब हावा रहेछन् । खल्लो पूर्वतयारीको जगबाट जुरुक्क उठ्यो कोरोना नामको भाइरस र चुनौति दिन तँछाडमछाड गर्दै तिम्रो अगाडि उभियो । त्यसैले त हतियारबिना युद्धमा होमिएको तिमीलाई क्षमतामाथि आरोपको भाइरसले पलपलले ठुँग्न आइपुग्यो ।
खैर, घोषित भत्ताका लागि तिमीले आन्दोलन छेड्नुप-यो । लुम्बिनीदेखि वीर अस्पतालसम्म काम गर्ने तिमीले पीपीई माथि कालो कफन बाँधेर अधिकारको माग गर्नुप¥यो । र पनि तिम्रा आवाज अस्पतालका कतै कुनामा बिलाए । पर्याप्त सुरक्षा सामाग्रीका लागि हड्तालमा उफ्रिनुपर्यो । तर, स्रोताविनाको तिम्रो रोदन स्मसानघाटमा अलप भए ।
कोभिडको पहिलो वेभ चलिरहँदा वीर अस्पतालका एक चिकित्सकले भनेका थिए, ‘भत्ता त परको कुरा, तलव नै नियमित पाउन सकेका छैनौँ । न सुरक्षा सामाग्री छ, न अस्पतालको मोटिभेसन । पाँच महिना भो छोरीसँग भेट नभएको । श्रीमती नेशनल मेडिकल कलेजको कोभिड आइसियुमा छिन् । दिमागले काम गरिरहेको छैन ।’
अवस्था कस्तो भने उनी खाली हात संक्रमितसँग हेलिनुपरेको थियो । ड्युटीको कुनै समयसीमा थिएन । उनले निरश अनुहार लगाउँदै भने, ‘त्यति खर्च गरेर पढियो, यसरी जोखिम मोलेर काम गर्दा आफ्नो भविष्य बारे पनि त सोच्नुपर्ला नि होइन र ?’ करारका ती चिकित्सक संक्रमित भए । तर, रणमैदानबाट फरार भएनन् । आजको दिनमा संक्रमित नभएका फ्रन्टलाइनर चाल्न औधी गाह्रो छ ।
लुम्बिनी कोभिड अस्पतालका चिकित्सकहरुले उस्तै बिलौना गरेका थिए । उनीहरुले भनेका थिए, ‘चिकित्सकहरु संक्रमित बन्दै जाँदा एकजनाले संक्रमितको भीड थेग्नुपरेको छ । एक हप्तासम्म नियमित ड्युटीमा खटिनुपरेको छ । संक्रमित मरिरहेको दृश्य लाचार भएर हेर्नु परिरहेको छ ।’ तर, उनीहरुलाई जोखिम भत्ता होइन कि तलबकै ठेगान थिएन । यो स्थिति सुधारिनुको सट्टा झन् झन् भयावह बन्दै गयो । संक्रमित चिकित्सक, नर्स नै उपचारमा नखटिई सुख भएन । एउटै नर्सले १० जनाभन्दा बढी संक्रमितलाई स्याहार गर्नुपर्ने अवस्था आइलाग्यो ।
पहिलो लहरकै बेला हो त्रिवि शिक्षण अस्पतालका सिनियर फ्रन्टलाइनर चिकित्सकले मसँग भनेको, ‘तपाईहरु नीजि अस्पतालको चिकित्सक र नर्सको अवस्था हेर्नुस् त कति बिजोग छ । न्युनतम तलबमा ज्यान फालेर काम गर्नु परेको छ ।’ र, त्यसै समय हो निजी अस्पतालमा एक संक्रमित अनुसार दैनिक ३० देखि ७०÷८० हजार रुपैयाँसम्मको बिल निस्किरहेको छ । यी सब देख्दा देख्दै पनि तिमी उपचारमा खटिन विवश छौ । त्यसैले, भन्छु तिम्रो खुन पसिनाको व्यापार गर्ने विरुद्ध अर्को युद्ध लड्नैपर्छ । तर, अहिले यसको उपयुक्त समय होइन ।
तिम्रो त्यागलाई कत्लेआम गर्नेहरुको भीड यही समाजबाट उदय भएको देख्दा म विभोर हुन्छु । लामो समयदेखि स्वास्थ्य सामाग्री, अक्सिजन अभाव भएको भेरी अस्पतालमा उपचारमा खटिएको तिमीले १३ जेठ रातिको नियति भोग्नुप-यो । उपचार गरिरहेको तिमीमाथि एक्कासी मुड्की बज्रिदा, भीडले घाँटी अठ्याउँदा र लखेटी लखेटी लात्ती हान्दा तिम्रो आत्मामा कति ठेस पुग्यो होला ? त्यो अपुरणीय छ ।
प्रिय नर्स डाक्टर, तिमीले झ्यालबाट हाम हालेर ज्यान जोगाउनुपर्यो । कथित नागरिकको विवेकले बागमतीको ढल खाएपछिको नियति हो यो । त्यही अस्पताल हो, जहाँ नर्स कमला नेपाली दोस्रो पटक संक्रमित भइरहँदा पनि संक्रमितकै सेवामै थिइन् ।
कोभिड अस्पतालमा काम गर्ने नर्सलाई भक्तपुरको डेरामा बस्न नदिई बजारबासीले ढुंगा हानेर झ्याल फुटाइदिएको साक्षी छौं हामी । आँसुको आहालमा डुबेकी ती नर्सलाई एनआरए १६ ले उद्धार गरेको थियो । अरु त अरु, नयाँ बानेश्वरमै ठूलो भीड स्वास्थ्यकर्मी बसेको होस्टेल घेर्न पुगे र डेराबाट निस्कन धम्की दिए, आक्रमणको प्रयास गरे ।
गत २५ साउनमा विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्ष र चिकित्सकको गाडी तोडफोड गर्दै स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार र कालोमोसो दल्ने प्रयास भयो । शुक्रबार बिहानमात्रै हुम्लाका स्वास्थ्यकर्मीमाथि मुड्की बजारिएको छ । नेपाल चिकित्सक संघका अनुसार २०७० देखि २०७७ साल चैतसम्मका ३४ घटनामा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । तर, सबै घटना संघसम्म आइपुग्दैनन् ।
प्रिय डाक्टर, नर्स ! एउटा सचेत नागरिकको हैसियतले म माफी चाहान्छु ।
४० देखि ५० जनासम्म बिरामी एक जना नर्सले हेर्नुपरेको छ । देशभरका प्रायः सरकारी अस्पतालका कोभिड वार्डमा यो सामान्य हो भन्ने तिमीलाई थाहा छ । आईसीयू, सीसीयूमा र पोस्ट अपरेटिभ वार्डमा एक बिरामी बराबर एक जना नर्स हुनुपर्ने विश्व स्वास्थ्य संघको मापदण्ड पढेको सम्झँदा कोभिड महामारिको पीडामा पनि हाँसो उठ्छ होला । संघले त हरेक १० हजार जनसंख्याका लागि चिकित्सक, नर्स र मिड्वाइफ गरी २३ स्वास्थ्यकर्मी चाहिने भनेको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ८ हजार ३१४ स्वास्थ्य संस्थामा जम्मा १ लाख ४०० चिकित्सक कार्यरत छन् ।
चौतर्फी बाध्यताका बीचबाट पनि जसरी तिमीले आफ्नो धर्म बिर्सिरहेका छैनौँ । यसको प्रशंशा गरेर म थाक्दिनँ । भोलिको आफ्नो अधिकारको लडाइँलाई सार्थक तुल्याउनको लागि पनि आजको महामारीमा तिमी जोतिनै पर्छ । एउटा जिम्मेवार नागरिकको हैसियतले पनि । आफै भन त आजको महामारीमा प्रयोग गरेनौ भने तिम्रो क्षमता केको लागि साँच्छौँ ? कृपया आफ्नो स्वास्थ्यको भने ख्याल राख्नु है ?
कति चिकित्सक, नर्सले संक्रमितको उपचार गर्दागर्दै आफैंलाई त्याग्नुपर्यो । पक्कै पनि आगोमा खेल्नेहरुलाई आगोले पोल्ने गर्छ, भवन निर्माण गर्नेहरु खस्न सक्छन्, जहाज उडाउनेहरु दुर्घटनामा पर्न सक्छन् । ती चिकित्सक नर्स, जसले अरुलाई बचाउनका लागि आफ्नै प्राण आहुति दिए, उनीहरुको श्रद्धामा दुई थोपा आँशु ।
प्रिय नर्स डाक्टर !
म कुनै उपदेश दिन नभएर फ्रन्टलाइनर तपाईको साहसको सम्मानका खातिर चरणमा दुई ढुंगा फूल अर्पण गर्न उपस्थित भएको थिएँ । अब, अलप हुन्छु ।
धन्यवाद ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा खानेपानी मिटरको सुरक्षाको जिम्मा घरधनी आफैँले लिन अनुरोध
-
तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको कति ?
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन
-
एमाले जग्गा विवाद : न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पेसी
-
क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह : अर्थ मन्त्रालय
-
यसरी गर्न सकिन्छ कर्णालीमा सडक दुर्घटना न्यूनीकरण