शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुङ्गा–रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण

शुक्रबार, २१ जेठ २०७८, २२ : ४८
शुक्रबार, २१ जेठ २०७८

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले ओखलढुङ्गा–रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडा जिरो प्वाइन्टदेखि रुम्जाटार एयरपोर्ट गेटसम्मको ११ दशमलव १ किलो मिटर लम्बाइ र ७ मिटर चौडा सडक कालोपत्रेको काम सकेर प्राधिकरणले प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । 

प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बीरबाबु गुरुङको प्रमुख आतिथ्यतामा रुम्जाटारमा आयोजित कार्यक्रमबीच प्राधिकरणका जिल्ला आयोजना कार्यान्वयन इकाइले प्रदेश सरकारलाई उक्त आयोजना जिम्मा लगाएको हो । 
गत ३० डिसेम्बर २०१८ मा तामाङ कुमार जेभीले कालोपत्रेको सम्पूर्ण काम ३० मे २०१९ सम्ममा काम सक्नेगरि ठेक्का लिएको थियो । पटक पटक म्याद थप र स्थानीयको दवावपछि ठेकेदार कम्पनीले काम सकेको थियो । 
भ्याटसहित २० करोड ६८ लाख १४ हजार ९ सय १८ रुपैयाँ ९२ पैसामा कालोपत्रे गरिएको उक्त सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोध र सरोकारवालाको खबरदारी पछि ठेकेदारले सडक मर्मत गरेको थियो । 

उक्त आयोजनालाई तत्काल सुधार गरिने प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले बताए । आयोजना हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले ठेकेदारले राम्रो काम नगर्दा सर्वाधिक महत्वको सडक विकास दिगो नभएको भन्दै यसलाई सुधार गर्न आफूले तत्काल योजना अघि बढाउने बताए । यसअघि संघ सरकार अन्तरगतको पुनर्निर्माण प्राधिकरणले यो आयोजना हेरिरहेकाले प्रदेश सरकारको क्षेत्राधिकार भित्र नपर्दा गुणस्तरीय कामका लागि आफुले ताकेता गर्न नमिलेको बताउँदै तत्काल सडक सुधारको काम थालिने मन्त्री गुरुङको भनाई छ ।

पुननिर्माण प्राधिकरण अन्तर्गत गुणस्तरीय काम नभएकाले प्रदेश सरकारले जिम्मा लिनुपरेको मन्त्री गुरुङको भनाई थियो । जिल्लाका अधुरा योजनाको तिव्रता र गुणस्तरहीन संरचनाको सुधारमा आफू निरन्तर लागिरहेको उनले बताए ।
भूकम्प प्रभावित जिल्लामा सञ्चालित आपतकालीन भूकम्पीय सहयोग परियोजनाअन्तर्गत ओखलढुंगा–रुम्जाटार सडक कालेपत्रे गरिएको थियो । उक्त परियोजना अन्तरगत ओखलढुंगा–रामपुर–लप्सेफेदी सडक आयोजनाको काम चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप