शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विष्णुलाल वाइबा : गरीब गुरुवाका नेता

शुक्रबार, २१ जेठ २०७८, १७ : ०३
शुक्रबार, २१ जेठ २०७८

बीएलका नाममा सुपरिचित  कमरेड विष्णुलाल वाइबा हामीबीच रहनुभएन । २०७८ साल जेठ २० गते ६ बजेर २० मिनेटमा दमकको आम्दा अस्पतालमा उहाँको निधन भयो । उहाँप्रति  हार्दिक  श्रद्धाञ्जली ।

बिसं २००० साल फागुणमा जन्मनुभएका कमरेड बीएल जनकपुर– सगरमाथाका कम्युनिष्ट आन्दोलनका धरोहर क.जयगोविन्द शाहको वरिपरि हुर्कनुभएको थियो । किसान आन्दोलनको पृष्ठभूमिबाट  आउनुभएको विष्णुलालजीको व्यक्तित्वको सामाजिक, राजनैतिक र सांगठनिक पक्षहरु छन् । तीनै क्षेत्रमा आफ्नो भूमिकाका कारण उहाँ  सिराहाको एक जनप्रीय नेता हुनुहुन्थ्यो ।

बडहरामालको आधारभूत विद्यालयमा प्रधानाध्यापक हुनुभएका उहाँ  कर्जनाहा माबिको व्यवस्थापन समितिको तत्कालीन अध्यक्षसमेत रहुनुभयो ।

१६ वर्षको उमेरमा कम्युनिस्ट आन्दोलनमा  लागिपर्नुभएका बीएललाई जयगोविन्दजीले सदस्यता  दिनुभएको थियो । जयगोविन्द साहको मूल नेतृत्व अन्तरगत हुने वर्गसंघर्ष, स्वयं सेवा, संगीत मण्डलीदेखि  व्यवस्थापन समेतका  जिम्मेवारीमा बीएल सहभागी  हुनुहुन्थ्यो । ०३६ साल अगाडि चौमको क्षेत्रीय ब्युरो र ०४४ सालमा केन्द्रीय समितिमा पुग्नुभएका वाइबा २०४८ सालको संसदको चुनावमा सिराहा क्षेत्र नं ५ बाट संयुक्त जनमोर्चाका तर्फबाट निर्वाचित हुनुभएको थियो । पछिल्लो समय उहाँ तत्कालीन माओवादी केन्द्रको पोलिटब्युरो सदस्य पनि रहनुभएको थियो ।

हरेक  मानिसका सबल  र दुर्बल  दुबै  पाटो हुन्छन् । बीएलजीका पनि दुबै पक्ष थिए । उहाँको मुल पक्ष सबलता नै  हो । कम्युनिष्ट आन्दोलन र नयाँ पुस्ताले  उहाँबाट  सिक्नुपर्ने  धेरै विषय छन् ।

व्यवहारिक र मिलनसार,  अत्यन्तै सादगिपूर्ण जीवन, सिद्धान्तलाई व्यवहारिक रुपमा बुझाउन सक्ने, जनताका पीरमार्का सुन्ने, जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि विचलित नहुने, मजदुर र किसानको दृढ़  हिमायती  एक देशभक्त हुनुहुन्थ्यो बीएल । संक्षेपमा भन्दा उहाँ साँच्चै  गरीब गुरुवाका  नेता हुनुहुन्थ्यो ।

धनुषाका जुझारु एवं लोकप्रिय नेता  एवं सहिद  कमरेड सूर्यनाथ यादवमाथि राज्य  र पार्टीबाट अन्याय  भएपछि आवाज उठाउने र उहाँप्रति  न्याय  दिलाउन भूमिका  खेल्ने थुप्रै नेतामध्ये   बीएल एक हुनुहुन्न्थ्यो ।

कमरेड बीएलका श्रीमती, दुई छोरी र तीन छोरा हुनुहुन्छ । यतिबेला  बस्तिपुर, बडहरामाल, कर्जनहा लगायत सिराहाको त्यो भेग शोकमा डुबेको छ । शोकसन्तप्त परिवारजन र पार्टीपंक्तिमा गहिरो समवेदना । उहाँले देखाउनुभएको बाटोमा अविचलित हिँड्नु नै उहाँप्रतिको सच्चा श्रद्धासुमन हुनेछ । अलबिदा क.बिष्णुलाल वाइबा ।

( लेखक गिरिराजमणि पोखरेल माओवादी केन्द्रका नेता एवं पूर्व शिक्षामन्त्री हुन् )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराजमणि पोखरेल
गिरिराजमणि पोखरेल
लेखकबाट थप