शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ ठाकुरहरुले ओली या जसपामध्ये कुनै एकलाई रोज्नुपर्छ

मृगेन्द्रकुमार सिंह यादव, कार्यकारिणी सदस्य, जसपा नेपाल
शुक्रबार, २१ जेठ २०७८, १५ : १६
शुक्रबार, २१ जेठ २०७८

मृगेन्द्रकुमार सिंह यादव नेपाली राजनीतिका विभिन्न कालखण्डमा पनि निरन्तर सक्रिय नाम हो । नेपाल सद्भावना पार्टीमा लामो समय राजनीति गरेका उनी कुनै बेला उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा सामेल थिए । पछि उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा पनि गए । गच्छदारको साथ छाडेपछि उनी राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा प्रवेश गरे । सद्भावना पार्टीसहितका ६ दल मिलेर राजपा नेपाल बनेपछि उनी राजपामा सामेल भए भने राजपा र समाजवादी पार्टी मिलेर जसपा बनेपछि जसपामा रहेर सक्रिय राजनीति गर्दै आएका छन् ।

मृगेन्द्रसिंह यादव अहिले राष्ट्रिय सभाका सदस्य हुन् । उनी पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य पनि हुन् । जसपा नेपालभित्र अहिले शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । शक्ति संघर्षकै बीच सुरुमा राजेन्द्र महतो पक्षमा उभिएका उनी पछिल्लो समय उपेन्द्र यादव पक्षमा देखिएका छन् । राजेन्द्र महतोकै कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका उनी उपेन्द्र यादवको पक्षमा सामेल भएपछि जसपाभित्र महन्थ–राजेन्द्र पक्ष कमजोर भएको छ । नेपाली राजनीतिमा लामो समय बिताएका उनी ‘प्रतिगमन’को समर्थनमा आफू उभिन नसक्ने बताउँछन् ।

पार्टीभित्र देखिएको विवाद र समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर रातोपाटीले उनीसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, राष्ट्रियसभाका सदस्य एवं जसपा कार्यकारिणी समिति सदस्य मृगेन्द्रकुमार सिंह यादवसँग गरिएको कुराकानीको सम्पादित अंश–

जसपा नेपालमा अहिले देखिएको विवाद कस्तो हो ? यसले पार्टीलाई कहाँ लैजान्छ ?

–पार्टी फुटको सँघारमा पुगेको देखिन्छ । तर यो ठिक होइन, एउटा मिसनका लागि वैकल्पिक शक्तिको रुपमा जसपा नेपाल गठन भएको थियो । छोटो समयमै फुटको सँघारमा पुग्नु राम्रो होइन । यसले राम्रो सन्देश गएको छैन । पार्टीका शीर्ष नेताहरुले नै पार्टीको विधान, विधि र प्रकृया मिचेर गतिविधि गरेका कारण यो अवस्था आएको हो । पार्टीमा बैठक नै नबसी रातारात सांसदको नाम बेच्दै हिँड्ने, रिसोर्टहरुमा गुटको भेला गर्नेजस्ता काम भए, जसले गर्दा आज पार्टी यो अवस्थामा पुगेको हो ।

यी काम त दुवै पक्षबाट भएका छन् नि, दोष दुवै पक्षलाई जान्छ होला, होइन र ?

– गर्न त दुवै पक्षले गरेका हुन् तर एउटाले वैधानिक रुपमा गरेको छ भने अर्को पक्षले गैर वैधानिक रुपमा ग¥यो ।

कुन पक्ष वैधानिक र कुन पक्ष अवैधानिक रुपमा हिँड्यो ?

– महन्थ ठाकुर र राजेन्द्र महतोले यो बीचमा जति पनि गतिविधि गर्नुभयो, ती सबै गैरवैधानिक रुपमा भएको छ । पार्टीको निर्णय विपरीत विधि, प्रकृया मिचेर उहाँहरुले काम गर्नुभयो ।

यता, उपेन्द्रजीहरुले पार्टीको विधानअनुसार सबै प्रकृया पूरा गरेर निर्णय र काम गर्नुभएको छ । उपेन्द्र यादवले जति पनि निर्णय लिनुभएको छ, सबैमा पार्टीको बहुमत सदस्यको समर्थन छ । बैठक बसेको छ, बहुमत सदस्य उपस्थित भएका छन् र निर्णयमा समर्थन जनाएका छन । सबै पारदर्शी तरिकाले भएको छ । तर अर्को पक्षले जे पनि व्यक्तिगत रुपमा र स्वेच्छाचारी ढंगबाट गरेको छ । त्यो वैधानिक होइन ।

महन्थ ठाकुर पक्षले आफूसँग बहुमत रहेको र पार्टीको बैठकबाटै सबै काम गरेको दावी गर्दै आएको देखिन्छ नि, यो सत्य होइन ?

– भनेरमात्र हुँदैन, त्यसको प्रमाण दिनुप¥यो नि ! म आफूलाई यो देशको प्रधानमन्त्री हुँ भन्छु, तपाई मान्नुहुन्छ ? मान्नु हुन्न नि ! त्यसका लागि तपाई प्रमाण खोज्नुहुन्छ, वैधानिकता खोज्नुहुन्छ । त्यसैगरी, महन्थजीहरुले बहुमत छ भनेरमात्र हुँदैन, प्रमाण दिनुपर्छ । जेठ ४ गते दुवैजना अध्यक्षको हस्ताक्षरबाट जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय भएको थियो । त्यो अनुसार म बैठकमा भाग लिन काठमाडौँ आइपुगेको थिएँ तर एकजना माननीयजीबाट बैठक स्थगित भएको जानकारी पाएँ ।

महन्थ ठाकुरले बैठक स्थगित गर्नुभएको कुरा जानकारीमा आयो । तर दुईजना अध्यक्षको हस्ताक्षरबाट बोलाएको बैठक एकजना अध्यक्षको हस्ताक्षरबाट कसरी स्थगित हुन्छ ? त्यो सम्भव नै छैन भन्ने सोचेँ । लगत्तै उपेन्द्र यादवले बैठक स्थगित नभएको र तोकिएकै समयमा बैठक हुने विज्ञप्ति जारी गर्नुभएको थियो । ८ गते बसेको कार्यकारिणी समितिको बैठकमा म सहभागी भएँ, त्यहाँ ५२ जना कार्यकारिणी समिति सदस्यमध्ये ३१ जना उपस्थित थिए । त्यसको हस्ताक्षर पनि बाहिर आइसकेको छ । ९ गतेसम्म बैठक चल्यो, फेरि १७ गते पनि बैठक बस्यो । अर्थात्, जबजब आवश्यकता पर्छ, पार्टीको बैठक बसेर निर्णय भएको छ । अहिले पार्टीको विवाद निर्वाचन आयोगमा पुगेको छ । कोसँग बहुमत छ÷छैन, त्यसको निर्णय निर्वाचन आयोगले गर्नेछ । बहुमत कोसँग छ, त्यसको प्रमाण पनि निर्वाचन आयोगमा पेस भएको छ ।

पार्टीको बहुमत उपेन्द्र यादव पक्षसँग छ भन्ने तपाईको दावी हो ?

– उपेन्द्र यादव पक्ष नभनौं, जसपा नेपाल सिङ्गो छ । पार्टीको बैठक बसेको छ । कार्यकारिणी समितिको बैठकमा उपेन्द्र यादव पनि उपस्थित हुनुहुन्थ्यो तर महन्थ ठाकुरलगायतका केही नेता बैठकमा उपस्थित हुनुभएन । जसमध्ये केही नेतालाई सोही बैठकमार्फत पार्टीले कारवाही गरेको छ ।

तपाई त महन्थ ठाकुर नेतृत्वको पूर्व राजपा पक्षका नेता हुनुहुन्छ, अहिले उपेन्द्र यादवको पक्षमा कसरी लाग्नुभयो ?

–अब राजपा वा समाजवादी पार्टी छैन । दुवै पार्टी एकीकरण गरेपछि जसपा नेपाल बनेको हो । म जसपा नेपालको कार्यकर्ता हुँ । अब राजपा नेपालसँग जोडेर मलाई हेर्न मिल्दैन । केही व्यक्तिलाई राजपा नेपाल नै प्यारो छ भने त्यसमा मेरो केही भन्नु छैन । सुन्दैछु, अहिले पनि राजपाको नामबाट बैठक बसिरहेको हुन्छ, अहिले पनि छुट्टै पार्टी कार्यालय सञ्चालन भइरहेको छ । यो एकदम गैरजिम्मेवार काम हो ।

जसपा नेपालको बैठक बोलाउँदा बैठकमा नआउने, कोरोनाको बहाना देखाउने तर राजपा नेपालको नामबाट गोप्य भेलाहरु गर्ने काम पार्टीको अनुशासन विपरीत हो । म जसपा नेपालमा छु र जसपा नेपाललाई विधि, विधान अनुसार चलाउनुपर्छ भन्ने पक्षमा छु । म न उपेन्द्र यादवको पक्षमा छु न त महन्थ ठाकुरको पक्षमा । म जसपा नेपालमा छु ।

पार्टी अनुशासन विपरीत काम गरेको भन्दै अर्को पक्षले उपेन्द्र यादवलाई पनि त कारवाही गरेको छ, यसलाई कसरी बुझ्ने ?

– त्यो त प्रमाणित गर्नुपर्छ नि ! निर्वाचन आयोगले प्रमाण मागेको छ । अब त देलान् नि प्रमाण । कसैले भनेर मात्र हुँदैन, त्यसका लागि तथ्य र प्रमाण चाहिन्छ । जेठ १७ गते बसेको कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षरबाट निर्णय गरेर महन्थ ठाकुरलगायतका नेताहरुलाई कारवाही गरिएको हो, जसको सप्रमाण जानकारी निर्वाचन आयोगमा पठाइएको छ । उहाँहरुले पनि कार्यकारिणी समितिको बैठकबाट उपेन्द्र यादवलाई कारवाही गरेको भन्नुभएको छ तर कुन बैठक, कहाँको बैठक, त्यो बैठकमा कोको थिए, त्यसको प्रमाण निर्वाचन आयोगले माग गरेको छ । उहाँहरुले त्यो दिनुपर्छ । अनिमात्र आरोप प्रमाणित हुन्छ । एउटा कोठामा दुईचार जना बसेर कसैलाई कारवाही गरेरमात्र हुँदैन । त्यो विधिसम्मत, कानुनी प्रकृया अनुसार मिलेको हुनुपर्छ । पार्टी भनेको एकजना अध्यक्षको मात्र होइन, कार्यकारिणी हो, कार्यकारिणी समितिको बहुमत सदस्यले गरेको निर्णय आधिकारीक हुन्छ ।

तपाई मधेस राजनीतिको पुरानो नेता हुनुहुन्छ, अहिले जसपामा नेपालमा देखिएको विवादको मुल जड के हो ?

– जसपा नेपालमा देखिएको विवादको मुख्य जड भनेकै पूर्वराजपा हो । म पनि राजपाबाटै आएको हुँ तर राजपा नेपालका ६ जना अध्यक्षले कहिल्यै पार्टी बन्न दिएनन् । ६ वटा दल मिलेर राजपा नेपाल त बन्यो तर पार्टीका रुपमा त्यसले कहिल्यै पूर्णता पाएन । ६ जना अध्यक्षमा जहिले किचकिच, विवाद भइरहन्थ्यो । राजपाले पूर्णता नलिँदै समाजवादी पार्टीसँग एकीकरण गरेर जसपा बन्यो । जसपा बनेपछि पनि राजपामा रहँदाको त्यो रोग निको भएन । जे तमासा राजपामा हुन्थ्यो, अहिले त्यही तमासा उहाँहरुले जसपा नेपालमा सुरु गर्नुभयो । जसपालाई पनि राजपाजस्तै चलाउन खोज्नुभयो । जसपामा देखिएको विवादको मुल जड नै राजपा हो ।

उहाँहरु मधेसका माग पूरा गराउन सफल देखिनु भएको छ, अनि तपाईहरुबाट त्यसको विरोध किन ?

– मलाई बताइदिनुस् त एकएक गरी ! कुनकुन माग पूरा गराउनु भयो उहाँहरुले ? उहाँहरुले १४० कि १५० वटा मुद्दा फिर्ता गराएँ भन्नुभएको छ नि, ती सबै हल्का मुद्दा थिए । ती मुद्दाका कोही पनि जेलमा थिएनन्, कोही भगौडा थिएनन् । उनीहरुमाथि साधारण मुद्दा लगाइएको थियो । कुनै न कुनै दिन त्यो मुद्दा फिर्ता हुन्थ्यो नै किनकि मुद्दामा कुनै दम थिएन ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई गुमराहमा राखेर मुद्दा फिर्ता गरिदिएँ भनि ताल पिट्न लगाउनुभयो । गम्भीर प्रकृतिका मुद्दा एउटा पनि फिर्ता भएको छैन । प्रकृयामा छ रे ! प्रकृयामा छ भनेको विगत १० वर्षदेखि हामी सुन्दै आएका छौं । रेशम चौधरीलगायत अहिले पनि थुप्रै मान्छे थुनामा छन्, कोही देश छाडेर भागेका छन् । उनीहरुको मुद्दा किन फिर्ता भएन ? किन रिहाइ भएन ? मान्छे मार्दै हिँडेका विप्लवका कार्यकर्ता रिहा हुने, देशद्रोहीका मुद्दा लागेका सिके राउत र उहाँका कार्यकर्ता रिहा हुने, जघन्य अपराध गरेकाहरु मन्त्रिपरिषद्को निर्णयबाट रिहा हुने तर मधेस आन्दोलनमा पक्राउ परेकाहरु किन रिहा भएनन् ? प्रधानमन्त्री ओलीले कसको आँखामा धुलो छर्न खोज्नु भएको हो ? मधेसी जनता अब त्यति बेवकुफ छैनन् ।

अहिले अध्यादेशबाट नागरिकताको समस्या समाधान गरेको भनि हल्ला मच्चाइएको छ । तर अध्यादेशमा ल्याइएको कुरा त संविधानमै उल्लेख छ । संविधानमा उल्लेख भएका कुरालाई अध्यादेशमार्फत सरकारले कानुन बनाएर कुन ठूलो तीर मा¥यो भन्ने मैले बुझ्न सकेको छैन । यदि नागरिकताको समस्या समाधान नै गर्नुथियो भने संसदमा रहेको नागरिकता सम्बन्धी विधेयकलाई पास गराउँदा हुन्थ्यो नि !  किन चार वर्षदेखि त्यहीँ अल्झेको छ ? वैवाहिक अंगिकृतका बारेमा के भयो ? नागरिकता ऐनमा व्यवस्था छ तर संविधानमा व्यवस्था किन भएन ? संविधान संशोधन गरेर त्यो विषय सम्बोधन गर्नु पर्दैनथ्यो ? वंशजले मात्र संवैधानिक पदमा जान पाउने प्रावधान छ, त्यसलाई पनि संशोधन गरेर सच्याउन माग गरिएको थियो, त्यो किन गराइएन ? जे संविधानमा छ, त्यो ल्याएर कानुनमा राखिदियो भन्दैमा धेरै ठूलो काम भयो ? संविधानमा जुन कुरा सम्बोधन भएको छैन, त्यसलाई सम्बोधन गर्न संविधान संशोधन हुनुपर्छ भनेको हो । त्यसबारे कोही बोलेका छैनन् । रह्यो संविधान संशोधनका लागि विज्ञ समूह गठनको कुरा । यस्ता विज्ञ समूह र कार्यदल पहिला पनि गठन भएकै हो । अहिले कार्यदलमा रहेकै नेताजीहरु कतिचोटी यस्तै कार्यदल तथा समूहमा बस्नु भएको छ, उहाँहरुले नै जवाफ दिनुहोला ।

यस्ता भ्रममार्फत मधेसी जनताको आँखामा धुलो हाल्ने काम प्रधानमन्त्रीबाट भएको छ । यसको मतियार उहाँ (महन्थ) हरु बन्नुभएको छ । काँग्रेस र माओवादीले संविधान संशोधनका लागि संसदमा प्रस्ताव लग्दा त्यसलाई उहाँ (ओली) ले नै असफल पार्नुभएको होइन ? अहिले आफ्नो कुर्सी जोगाउनका लागि यति गरेको हो भन्ने सबैलाई थाहा छ । चुरेबाट बालुवा, गिट्टी बेच्ने निर्णय प्रधानमन्त्री ओलीले गर्नुभएको छ, के त्यो मधेसविरोधी निर्णय होइन ? अहिले सबैतिरबाट त्यसको विरोध भइरहेको छ तर उहाँ (महन्थ) हरु त्यसबारे अहिलेसम्म किन बोल्नुभएको छैन ? यसको मतलब प्रधानमन्त्रीले जेजे काम गर्नुभएको छ, ती सबैको साक्षी उहाँहरु पनि हुनुहुन्छ । प्रधानमन्त्री ओलीले जुन प्रतिगामी कदम चाल्नु भएको छ, उहाँहरु पनि त्यसको मतियार हुनुहुन्छ ।

तपाई ती नेताहरुसँग लामो समयसम्म सँगै रहेर काम गर्नुभएको छ, उहाँहरुले ओलीलाई किन साथ दिनुभएको होला जस्तो लाग्छ तपाईलाई ?

– अरु केही होइन, सत्ताको लागि ओलीको पछि लाग्नुभएको छ । कहिले १० वटा मन्त्रालयको कुरा भएको भनेर सुुन्दैछु, कहिले ८ वटाका लागि कुरा भएको भन्ने सुन्दैछु । कहिले आजै शपथ ग्रहण हुन्छ भन्ने पनि सुन्छु, कहिले नाम फाइनल हुँदैछ भनेको सुन्छु । उहाँहरुले सरकारमा जानका लागि फलानो फलानो माग पूरा गरायौं भनेर औंला गन्दै हुनुहुन्छ तर ती सबै भ्रम हो । मधेसी जनताको आँखामा छारो हाल्ने र सरकारमा जाने नियत हो । देशमा तानाशाह लाद्ने र त्यसको मतियार हुने काममा उहाँहरु लाग्नुभयो । जसपा नेपालका केही नेताको आडमा प्रधानमन्त्री ओलीले देशमा तानाशाह लाद्ने काम गरेका छन् र यसको मतियार उहाँहरु बन्नुभएको छ । ओलीले संघीयता र गणतन्त्र विरोधी काम गरिरहँदा उहाँ (महन्थ ठाकुर) हरुले साथ दिइरहनु भएको छ ।

त्यसो भए पार्टीमा मिलन बिन्दुको सम्भावना समाप्त भइसक्यो ?

– महन्थजीले पटक पटक भन्नुहुन्छ कि मैले ओलीलाई बचन दिइसकेको छु, उहाँलाई कुनै पनि हालतमा छाड्दिनँ ।

महन्थजीहरुले ओलीलाई नछाडेसम्म मिलनको बिन्दुको सम्भावना म देख्दिनँ । महन्थ ठाकुरहरुले ओली रोज्नुपर्छ या जसपा । ओलीलाई रोज्नेले जसपा रोज्न पाइँदैन, जसपा रोज्नेले ओली रोज्न पाइँदैन । यही हो मिलन बिन्दुको बटमलाइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप