शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जसपा विवाद : केन्द्रको साइड इफेक्ट अब प्रदेशमा

महन्थ केन्द्रीय सरकारमा जाँदै, उपेन्द्र प्रदेश २ को मन्त्री हेरफेर गर्दै
शुक्रबार, २१ जेठ २०७८, १४ : १७
शुक्रबार, २१ जेठ २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संघीय सरकारमा गृहकार्य गरिरहेको बेला अर्का अध्यक्ष उपेन्द्र यादव पनि प्रदेश २ को मन्त्रीपरिषद् हेरफेर गर्ने गृहकार्यमा लागेका छन् । त्यसका लागि यादवले काँग्रेस, माओवादी केन्द्र र एमाले (माधव नेपालपक्ष) सँग छलफल चलाएका हुन् । अध्यक्ष यादवले हिजै मात्र काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । आज उनले सो पार्टीका उपाध्यक्ष विमलेन्द्र निधिसँग छलफल गरेका छन् ।

काँग्रेसले पार्टीमा छलफल गरेर निर्णय लिने अध्यक्ष यादवलाई जवाफ दिएको स्रोतले जनाएको छ । प्रदेश २ मा जसपा नेतृत्व (पूर्व राजपा र पूर्व समाजवादी पार्टी) नेतृत्वको सरकार रहेको छ । त्यसमध्ये पूर्व राजपाका केही मन्त्रीलाई हटाएर मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी अध्यक्ष यादवको रहेको छ । पूर्वराजपाका तीनजना मन्त्री र तीनजना राज्यमन्त्री छन् भने पूर्व समाजवादीका मुख्यमन्त्रीसहित तीनजना मन्त्री र तीनजना राज्यमन्त्री छन् ।

पूर्वराजपाका दुईजना मन्त्री रामनरेश राय यादव र नवलकिशोर साह उपेन्द्र यादवका पक्षमा आइसकेका छन् । बाँकी एकजना मन्त्री जितेन्द्र सोनल र सुरेश मण्डल, डा.डिम्पल झा र अभिराम शर्मा मात्र राजपा नेपाल पक्षमा रहेका छन् । प्रदेश २ का एकजना प्रदेशसभा सदस्यले भने, ‘एकजना मन्त्री हटाएर उपेन्द्र यादवले रिक्स लिनु हुन्न, रामनरेश र नवलकिशोरलाई हटाउन सक्नुहुन्न, बाँकी रह्यो एकजना जितेन्द्र सोनल उहाँलाई एक्लै हटाउनु हुन्न बरु मन्त्रालय थप गरेर काँग्रेसलाई सहभागी गराउने सम्भावना देखिएको छ । नत्र अर्को पनि सम्भावना छ, सबै मन्त्रीलाई हटाएर काँग्रेस, माओवादी केन्द्रलाई समेत समावेश गरेर मन्त्रीमण्डल पुनगर्ठन गर्ने सम्भावना रहेको छ ।’

त्यसका लागि प्रदेश २ मा हस्ताक्षर अभियान पनि चलिरहेको छ । मुख्यमन्त्रीमा टिक्नका लागि आफ्नो पक्षमा बहुमत देखाउनका लागि लालबाबु राउतले हस्ताक्षर संकलन गरिरहेका छन् भने उता, जसपा नेपालका तर्फबाट जितेन्द्र सोनलले पनि हस्ताक्षर संकलन गरिरहेका छन् । संसदीय दलको नेता जो बन्छ, उही नै मुख्यमन्त्री बन्ने भएकाले प्रदेश २ मा संसदीय दलको नेता बन्नका लागि हानथाप चलिरहेको छ ।

संसदीय दलको नेता बन्नका लागि २८ जना सांसद चाहिन्छ ।  जसपा नेपालका ५५ जना सांसद छन् । (३० जना पूर्व समाजवादी पार्टी र २५ जना पूर्व राजपा), काँग्रेसका १९, माओवादी केन्द्रका ८, एमालेको २१, संघीय समाजवादी पार्टीका एक गरी १०४ सांसद छन् । सरकार बनाउनका लागि ५३ जना सांसद भए पुग्छ ।

विमलेन्द्र र उपेन्द्रबीच पौने दुई घण्टा वान टू वान छलफल

प्रदेश २ को सत्ता समीकरणका सन्दर्भमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ । शुक्रबार  मध्य बानेश्वरस्थित बिहान निधि निवासमा विमलेन्द्र र उपेन्द्रबीच छलफल पौने दुई घण्टा वान टू वान वार्ता भएको हो । 

यादव पक्षले केन्द्रमा विपक्षी गठबन्धनमा रहेको काँग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउन खोजेको हो । केन्द्रमा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन लागिपरेका यादवले प्रदेश २ मा लालबाबु राउतको सरकार जोगाउन काँग्रेसको साथ खोजेका छन् । यादव पक्षलाई माओवादी केन्द्रले भने समर्थन जनाउने बताइसकेको छ । सोही सन्दर्भमा यादवले आज निधिसँग कुराकानी गरेका हुन् ।

'प्रदेश २ को सरकार निर्माण सम्बन्धि कुराकानी भयो । केन्द्रको राजनीतिक समीकरण यथावत राखी प्रदेश २ को सरकार निर्माणका विषयमा छलफल भएको हो,' स्रोतले भन्यो । स्रोतका अनुसार निधिले यादवसँग काँग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउनुपर्ने अडान राखेका थिए ।

तर यादवले राउत नेतृत्वको सरकारमा पहिला काँग्रेसलाई हुन आग्रह गरेका थिए । ‘पहिला सरकारमा सहभागी हौं । काँग्रेसलाई मुख्यमन्त्री बनाउने विषयमा त्यसपछि कुरा गरौँला,’ यादवको भनाइ थियो ।

यादवले शनिबार आफू जनकपुर जान लागेको बताउँदै उताबाट फर्किएपछि फेरि छलफल गर्नुपर्ने बताएका थिए । उपेन्द्र र विमलेन्द्रबीच प्रदेश दुईको नामकरण र राष्ट्रिय राजनीतिका सन्दर्भमा पनि छलफल भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप