बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ को सत्ता समीकरणबारे विमलेन्द्र र उपेन्द्रबीच पौने दुई घण्टा वान टू वान छलफल

शुक्रबार, २१ जेठ २०७८, १४ : ०४
शुक्रबार, २१ जेठ २०७८

प्रदेश २ को सत्ता समीकरणका सन्दर्भमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ । शुक्रबार  मध्य बानेश्वरस्थित बिहान निधि निवासमा विमलेन्द्र र उपेन्द्रबीच छलफल पौने दुई घण्टा वान टू वान वार्ता भएको हो । जसपा विभाजनको डिलमा पुगेपछि प्रदेश २ को सत्ता समीकरण हेरफेर हुने संकेत देखिएको हो । आफ्नो नेतृत्वको सरकार जोगाउन अध्यक्ष यादवले काँग्रेस र माओवादी केन्द्रको समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।

प्रदेशमा कुल १०७ सांसद रहेकोमा नेकपा माओवादी केन्द्रले ३ जनालाई कारबाही गरेपछि अहिले सांसदको संख्या १०४ छ । सत्तारुढ जसपासँग ५५ सांसद छ, जसमा ३० तत्कालीन समाजवादी र २५ जना तत्कालीन राजपा पक्षका हुन् ।

यसैगरी नेकपा एमालेको कुल २१ सांसद मध्ये १३ जना माधव नेपाल र ८ जना केपी ओली पक्षमा छन् । नेपाली काँग्रेसका १९, नेकपा माओवादी केन्द्रका ७ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् । 

यादव पक्षले केन्द्रमा विपक्षी गठबन्धनमा रहेको काँग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउन खोजेको हो । त्यसका लागि यादवले विहीबार काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । यादवसँगको भेटवार्तापछि विहीबार नै सभापति देउवा र उपसभापति निधिबीच पनि छलफल भएको थियो ।

केन्द्रमा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन लागिपरेका यादवले प्रदेश २ मा लालबाबु राउतको सरकार जोगाउन काँग्रेसको साथ खोजेका छन् । यादव पक्षलाई माओवादी केन्द्रले भने समर्थन जनाउने बताइसकेको छ । सोही सन्दर्भमा यादवले आज निधिसँग कुराकानी गरेका हुन् ।

'प्रदेश २ को सरकार निर्माण सम्बन्धि कुराकानी भयो । केन्द्रको राजनीतिक समीकरण यथावत राखी प्रदेश २ को सरकार निर्माणका विषयमा छलफल भएको हो,' स्रोतले भन्यो । स्रोतका अनुसार निधिले यादवसँग काँग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउनुपर्ने अडान राखेका थिए ।

तर यादवले राउत नेतृत्वको सरकारमा पहिला काँग्रेसलाई हुन आग्रह गरेका थिए । ‘पहिला सरकारमा सहभागी हौं । काँग्रेसलाई मुख्यमन्त्री बनाउने विषयमा त्यसपछि कुरा गरौँला,’ यादवको भनाइ थियो ।

यादवले शनिबार आफू जनकपुर जान लागेको बताउँदै उताबाट फर्किएपछि फेरि छलफल गर्नुपर्ने बताएका थिए । उपेन्द्र र विमलेन्द्रबीच प्रदेश दुईको नामकरण र राष्ट्रिय राजनीतिका सन्दर्भमा पनि छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप