बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२५ वर्षकी युवतीले एकैपटक जन्माएकी थिइन् ९ सन्तान, एक महिनापछि यस्तो छ अवस्था

शुक्रबार, २१ जेठ २०७८, १३ : ४२
शुक्रबार, २१ जेठ २०७८

अघिल्लो महिना पश्चिमी अफ्रिकाको मालीकी एक महिला सुत्केरी हुँदा यसले संसारभरी हलचल पैदा गरेको थियो । २५ वर्षकी हलिमा नामकी यी महिलाले एकैपटक ९ बच्चालाई जन्म दिएकी थिइन् । सुत्केरी हुँदा केही समस्या होला कि भनेर उनलाई सरकारको तर्फबाट मोरोक्कोमा उपचार गराउने विशेष प्रबन्ध मिलाइएको थियो । सुरुमा बच्चाको स्थिति नाजुक बताइएको थियो । यद्यपि, अब खबरका अनुसार यी सबै बच्चाको स्वास्थ्यमा निकै सुधार आएको छ । यद्यपि, यी ९ बच्चा अहिले पनि अस्पतालमा भर्ना छन् ।

मोरक्कोको यो अस्पतालले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार ४ मे मा एक मालीकी महिलाले जुन ९ सन्तानलाई जन्म दिएकी थिइन् उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको छ तर उनीहरुलाई थप दुई महिना निगरानीमा राख्न आवश्यक छ ।

ऐन बोरजा क्लिनिकका प्रवक्ता अब्देलकोद्दस हाफसीले दिएको जानकारी अनुसार यी ९ बच्चा अब कुनै मेडिकल उपकरण बिना नै सास फेरिरहेका छन् । उनीहरु सास फेर्दा हुने समस्याबाट मुक्त भइसकेका छन् ।

हाफसीका अनुसार बच्चालाई ट्युबमार्फत् दुध दिइँदैछ र उनीहरुको तौल बढेर ८ सय ग्रामबाट १.४ किलोग्रामबीच भएको छ । यी ९ बच्चामध्ये पाँच छोरी र चार छोरा छन् । बच्चाकी आमा आफ्नो बच्चासँगै छन् ।

हाफसीले भने, ‘यी बच्चा कुनै चिकित्सा सहायताबिना जीवन सुरु गर्नमा अझै डेढदेखि दुई महिनाको समय लाग्नेछ । ’ १० डाक्टर र २५ नर्सको मेडिकल टीमले शल्यक्रियामार्फत् उनलाई सुत्केरी गराएका हुन् ।

मालीको सरकारले ३० मार्चमा राम्रो हेरविचारका लागि हलिमालाई मोरोक्को पठाएको थियो । सुरुमा अल्ट्रासाउन्ड रिपोर्टमा हलिमाको पेटमा सातवटा बच्चा भएको बताइएको थियो तर शल्यक्रिया गर्दा डाक्टरले सात नभई नौ सन्तान भएको पाए ।

९ बच्चासहित सफल सुत्केरी गराइएको यो घटना निकै दुर्लभ हो ।

यसअघि अमेरिकाकी एक महिलाले एकसाथ ८ जीवित बच्चालाई जन्म दिएर विश्व रेकर्ड बनाएकी थिइन् । नद्या सुलेमान नामकी यी महिलाले सन् २००९ मा ३३ वर्षको उमेरमा यो रेकर्ड बनाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप