सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई दुई थान भेन्टिलेटर सहयोग

बिहीबार, २० जेठ २०७८, २३ : ३६
बिहीबार, २० जेठ २०७८

काठमाडौँ महानगरपालिकाले क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई थप दुई थान भेन्टिलेटर सहयोग गरेको छ । नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा मनोजमान श्रेष्ठलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।

यसअघि यही जेठ ८ गते महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएको ल्हासाबाट प्राप्त भएका दुई थान भेन्टिलेटर पनि उक्त अस्पताललाई दिएको थियो । आज हस्तान्तरण गरिएका भेन्टिलेटर महानगरपालिकाले खरिद गरेको हो ।  उपकरणको मूल्य प्रतिगोटा रु २६ लाख ५० हजार रहेको बताइएको छ ।

अरनिको समाजले आजै अस्पताललाई एक थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने सामान तथा उपकरण प्रदान गरेको छ । यसमा अक्सिजनको सुविधा भएको हेल्मेट, पीपीई, मास्कलगायत रहेका छन् । यसअघि क्षेत्रपाटी क्लबले पनि अस्पताललाई ३२० लिटरको दुईवटा रेफ्रीजेरेटर सहयोग गरेको थियो ।

डा. मनोजमान श्रेष्ठले कोभिड विरामीको उपचारमा कुनै पनि समस्या नओस् भनेर अस्पतालमा दिनमा १०० सिलिन्डरसम्म अक्सिजन भर्न मिल्ने अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरिएको पनि जानकारी दिए । श्रेष्ठका अनुसार करिब १ करोड ४५ लाख मूल्य पर्ने उक्त अक्सिजन प्लान्टका लागि ७५ लाखभन्दा बढी संकलन भइसकेको छ ।

वि.सं. २०१३ मा स्थापना भएको यस सामुदायिक अस्पतालमा हाल आईसीयू ६ वटा र एचडीयू बेड ६ वटा रहेका छन् ।  हाल यस अस्पतालमा  कामपाको सहयोगमा ३५ शय्याको विशेष कोभिड अस्पताल सञ्चालन भइसकेको छ । अस्पतालमा अक्सिजन, नर्स, विशेषज्ञ डाक्टर शुल्क, चार छाक खानालगायत निःशुल्क रहेको छ । त्यस्तै ल्याबहरुमा प्रत्येक विरामीलाई २५ प्रतिशत छुटको व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप