शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा संक्रमणको दर ओरालो लाग्दै, जोखिम भने कायमै

प्रदेशमा १० दिनमा ६ हजार बढी संक्रमणमुक्त
बिहीबार, २० जेठ २०७८, २१ : ०९
बिहीबार, २० जेठ २०७८

दोस्रो लहरमा कोरोना संक्रमणको हटस्पट बनेको प्रदेशको राजधानी विराटनगर लगायतका प्रदेश १ का जिल्लामा पछिल्लो एक सातायता संक्रमण दर कम हुँदै गएको छ । वैशाख १६ गते देखि बिराटनगर सहित प्रदेशका सबै जिल्लामा लगाइएको निषेधाज्ञाका कारण प्रदेशका १२ जिल्लामा चेनब्रेक हुँदै गएकाले संक्रमण दर घट्दै गएको प्रदेश १ समाजिक विकास मन्त्रालयको जनाएको छ ।

दोस्रो लहर सुरु भएलगत्तै प्रदेशको राजधानीसमेत रहेको विराटनगरमा वैशाख दोस्रो र तेस्रो सातातिर संक्रमण दर बढेर ५२ प्रतिशतभन्दा बढी पुगेको थियो । तर गएको एक साता यता भने संक्रमण दर औसतमा ३५ प्रतिशतमा झरेको प्रदेश १, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको “कोभिड–१९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समितिको सचिवालयका संयोजक डा. रवीन्द्र निरौलाले बताए ।

उनले वैशाखको अन्तिम सातादेखि जेठको दोश्रो सातासम्मको अवधिमा प्रदेशको विशेष गरी तराईका तीन जिल्ल मोरङ, सुनसरी र झापामा संक्रमण दर उच्च रहेकोमा अब ती जिल्लामा पनि क्रमिक रुपमा संक्रमणको दर ओरालो लाग्ने क्रममा देखिएको बताए । संक्रमण तर ओरालो लागेको देखिएपनि जोखिम भने उतिकै रहने संयोजक निरौलाले बताए ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो १० दिनमा प्रदेशमा ८ हजार ९९४ जना संक्रमित थपिएका छन् । बुधबारमात्र प्रदेश १ मा ७ सय ६४ जना संक्रमित थपिएका छन् । अहिले प्रदेशमा संक्रमणमुक्त हुनेको संख्यापनि उच्च रहेको छ । जसमा १० दिनको यो अवधिमा ६ हजार ९९९ जना संक्रमणमुक्त भएका छन् ।

गएको जेठ १० गते सबै भन्दा बढी १ हजार ३७ जना प्रदेशमा संक्रमित थपिएका थिए भने जेठ १९ मा सबैभन्दा १ हजार ४२ जना संक्रमितमुक्त भएको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

१९ हजार ८८० सक्रिय संक्रमित, ३०९ जना अस्पताल भर्ना

प्रदेश १ मा बुधबार साँझसम्म  १९ हजार ८८० जना सक्रिय संक्रमित छन् ।  तीमध्ये प्रदेश १ का विभिन्न दश वटा अस्पतालमा २ सय ८ जना संक्रमित उपचाररत छन् । भेन्टिलेटरमा ४३, आईसीयूमा १६५ जनाको उपचार भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसमा अन्य थप १०१ जना विभिन्न अस्पतालका साथै संस्थागत आइसोलेसन केन्द्रमा रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश भरी १९ हजार १७२ जना संक्रमित घरको होम आइसोलेसनमा छन् । त्यसैगरी कोरोनाको दोश्रो लहरसँगै प्रदेशमा संक्रमणका कारण  ४६७ जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप