मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नशाको कारोबार गर्ने गिरोहकी एक 'महारानी' को कथा

बिहीबार, २० जेठ २०७८, १४ : ३०
बिहीबार, २० जेठ २०७८

एमा कोरोनेल एसपूरो न्यूयोर्कमा एक चकाचौंधले भरीपूर्ण जीवन बाँचिरहेकी थिइन् । यसलाई उनको ड्रग माफिया ख्वाकीन गूसम्यान लोएरा उर्फ अलो च्यापोसँग विवाहको फाइदा बताउन सकिन्छ । त्यसपछि उनी पक्राउ परिन् र उनलाई भर्जिनियाको एक जेलमा हालिएको छ ।

आखिर नशाको कारोबार चलाउने गिरोहकी यी महारानीमाथि के भयो ?

भर्जिनियाको एलेक्जेन्ड्रिया शहरमा विलियम ट्रूसडेल अडल्ट डिटेन्सनको जेलका झ्याल आयताकार आकारमा काटिएको छ । यसको बीचको एउटा रातो इट्टा अट्ने जती स्थान छोडिएको छ । यसै जेलमा एकान्त कारावासका लागि प्रयोग गरिने एउटा सानो कोठामा एमा करोनेल एसपुरोलाई राखिएको छ ।

उनकी वकिल मेरिएल कोलोनी मिरोका अनुुसार यो कोठामा आफ्नो समय बिताउनका लागि एमा रोमान्टिक उपन्यास पढ्ने गर्छिन् ।

यो जेलमा एमाको जीवन र स्थिति उनको यसअघिको जीवनभन्दा ठिक विपरित छ ।

केही महिना अघि उनले कपडाको एउटा ब्रान्ड ‘अल च्यापो गुजम्यान’ सुरु गर्ने योजना बनाएकी थिइन् । वास्तवमा यो जोडीलाई स्टाइल आइकन मानिन्थ्यो । उनकी छोरीले पनि आफ्नो पिताको नाम प्रयोग गर्दै फेसन इन्डष्ट्रिमा पाइला टेकेकी छिन् ।

सन् २०१९ मा जब एमाका श्रीमान् गूजम्यानविरुद्ध न्यूयोर्कको अदालतमा मुद्दा चलिरहेको थियो तब मैले उनीसँग कुरा गरेकी थिएँ । त्यतिबेला उनले गहना र अत्यधिक महँगो घडी लगाएकी थिइन् ।

त्यसपछि यस वर्षको सुरुवातमा ३१ वर्षकी कोरोनेललाई भर्जिनियाको डलास अन्तरराष्ट्रिय विमानस्थलमा पक्राउ गरियो । उनीमाथि कुख्यात सिनालोआ कार्टेल चलाउनमा आफ्ना ड्रग माफिया श्रीमानलाई मद्दत गरेको आरोप लगाइयो । ६४ वर्षका गूजम्यान यतिबेला कोलोराडो सुपरम्याक्सको जेलमा जन्मकैदको सजाय काटिरहेकी छिन् ।

एफबीआई अधिकारीका अनुसार कोरोनेलले कोकिन डिस्ट्रिब्यूशनको षड्यन्त्र रचेको र सन् २०१५ मा मेक्सिकोको जेलबाट आफ्ना श्रीमानलाई भगाउने योजना बुन्न मद्दत गरिन् ।

एमाको नीजि जीवनको कहानी एक धोकेबाज श्रीमान्, श्रीमानकी दोस्रो प्रेमिका र एक आपराधिक संगठनको वरिपरि घुम्छ । यद्यपि, एमाको कहानीबाट ड्रग कार्टेल्सको रहस्यमयी दुनियाँ र त्यसमा संलग्न महिलाबारे धेरै कुरा बताउँछ ।

उनको मुद्दाको सुनुवाईको मिति अहिले पनि निश्चित भइसकेको छैन । यदि उनीमाथि लागेको आरोप सिद्ध भए उनलाई जन्मकैदको सजाय हुनसक्छ ।

ड्रग–तस्करीको दुनियाँमाथि निगरानी गर्ने विश्लेषकहरुले एमा दोषी वा निर्दोष हुने कुरालाई पाखा लगाउँदै एमाले आफ्नो लागि एक विशेष स्थान बनाएको जानकारी दिएका छन् । उनी एक सार्वजनिक हस्ती र एक व्यवसायी थिइन् ।

जब उनका श्रीमान् गूजम्यान ड्रग कार्टेल चलाइरहेकी थिइन् तब उनीसमक्ष को पुग्न सक्छ भनेर एमाले नै निर्धारण गर्ने गर्थिन् ।

स्यान डियागोकी क्यालिफोर्निया युनिभर्सिटीमा स्कलर सेसीलिया  फारफन मन्डेज भन्छिन्, ‘परम्परागत रुपमा ड्रग तस्करका श्रीमतीहरुलाई ‘असाध्यै कामुक’ महिलाको रुपमा हेरिन्छ जोसँग ‘कुनै काम’ हुँदैन । तर कोरोनेल भिन्न थिइन् । उनले प्रमाणित गरिन् कि महिलाको हातमा पनि शक्ति हुन्छ ।’

तर एक ड्रग कार्टेलमा सत्ता हासिल गर्नमा आफ्नो जोखिम पनि छ ।

अमेरिकाको ड्रग एन्फोर्समेन्ट एडमिनिस्ट्रेशनमा एक पूर्व विशेष एजेन्ट डेरेक माल्ट्ज भन्छन्, ‘यदि तपाईं यो धन्धामा हुनुहुन्छ भने अन्त्यमा कि त तपाईं पक्राउ पर्नुहुनेछ कि मारिनु हुनेछ ।’

आफ्नै फेसन कम्पनी खोल्ने योजनासहित एमाले आफूलाई बहादुर देखाउँदै अघि बढिरहिन् । तर उनीमाथि अनुसन्धानको डोरी कसिलो हुँदै गइरहेको थियो । यसबारे माल्ट्ज भन्छन्, ‘उनको जग भत्किरहेको छ ।’

अपहरण र हत्याः

आफ्नो श्रीमानको मुद्दाको सुनुवाईका बेला कोरोनेल ब्रुकलिनको फेडरल डिस्ट्रिक्ट कोर्टमा आइसबर्ग लेटिस खाइरहेकी थिइन् । त्यतिबेला क्याफटेरियामा आफ्नो साथीहरुसँग बसेकी एमा निकै हँसी मजाक गरिरहेकी थिइन् ।

उनकी वकिल मीरो भन्छिन्, ‘उनी एक ठूलो हस्ती हुन् । म जुन एमालाई चिन्दछु, उनी ऊर्जावान् छिन् र सधैं मुस्कुराइरहन्छिन् ।’

एमासँग अमेरिका र मेक्सिको दुबैको नागरिकता छ । १७ वर्षको हुँदा उनले गुजम्यानलाई भेटेकी थिइन् र चाँडै नै उनीहरुको विवाह भएको थियो । उनका दुई सन्तान छन् । मारिया ख्वाकीना र एमाली । आफ्नो श्रीमानको मुद्दाको सुनुवाइका बेला कोरोनेल लगभग दैनिक अदालतमा उपस्थित हुन्थिन् ।

मेक्सिकोमा बसेर ड्रग कार्टेल्समाथि अध्ययन गर्ने पेरिसकी सुरक्षा विश्लेषक रोमेन लि कूर ग्रान्डमाइसन कोरोनेललाई ‘एक सिनाओला अप्सरा’ भन्छिन् ।

रातो लिपिस्टिक, हिराको गहना र कसिलो जिन्स कोरोनेल ब्यूकोनाको पहिचान हो । मेक्सिकोमा ब्यूकोना शब्दलाई ड्रग कारोबारीकी प्रेमिकाका लागि प्रयोग गरिन्छ ।

जर्ज मेसन युनिभर्सिटीकी गुआडालुपे कोरे कबेराले मेक्सिकोको सिनालोआमा अनुसन्धान गरेकी छिन् । यही यो स्थान हो जहाँबाट अल च्यापोको कार्टेल सञ्चालित हुने गर्दथ्यो ।

ब्यूकोना शब्दको ब्याख्या गर्दै उनी भन्छिन्, ‘उनले असाध्यै महँगो कपडा लगाउँछिन् । लुई भिटनको पर्स राख्छिन् । उनको सबैकुरा असाध्यै ‘एक्स्ट्रा’ हुन्छ र कोरोनेल यो छविलाई बिल्कुल सटिक तरिकाले पेश गरिरहेकी छिन् । यहाँसम्म कि प्लास्टिक सर्जरी पनि किनभने तपाईंको बाहिरी आवरण नै सबैकुरा हो ।’

कोरे कबेराका अनुसार उनको सबैभन्दा आकर्षक विशेषता उनको पछाडिको हिस्सा हो जसलाई कोरे ‘असाध्यै सुडौल’ बताउँछिन् ।

उनको आकर्षक छवि अल चेपोको कार्टेलको सञ्चालनको वास्तविकताभन्दा पूर्ण रुपमा विपरित थियो ।

गुजम्यानले अवैध ड्रग बजारमा आफ्नो नियन्त्रण स्थापित गर्नका लागि हिंसाको सहारा लिए । यसमा नतिजा यो भयो कि उनी र उनको परिवार थप धनी हुँदै गयो । सन् २००६ देखि हालसम्म मेक्सिकोमा तीन लाखभन्दा बढी मारिइसकेका छन् । यही त्यो वर्ष हो, जसपश्चात् सरकारले कार्टेल्सको सफायाको अभियान सुरु गरेको थियो ।

ड्रगसँग सम्बन्धित हिंसाका पीडितमा गूसम्यानको दुश्मनका साथै उनका आफन्त पनि समावेश छन् । उनकी एक प्रेमिकाको शव कारको डिग्गीमा बरामद भएको थियो । यो हत्या कथित रुपमा उनको प्रतिद्वन्द्वी गुटले गराएको थियो ।

बफादारीको मूल्यः

लामो समयसम्म गूजम्यानकी प्रेमिका बनेकी लुसेरो गुआदालूपे सांचेज लोपेजले अदालतमा गूसम्यानविरुद्ध बयान दिइन् । उनले जून २०१७ मा ड्रग्ससँग सम्बन्धित आरोपमा अमेरिका–मेक्सिकोको सीमाबाट पक्राउ गरिएको थियो ।

लुसेरोले अपराध कबुल गरेपछि उनलाई बताइयो कि उनलाई १० वर्षको जेल सजाय हुनेछ । दुई सन्तानकी आमा सांचेजले सम्झौता अनुरुप अनुसन्धानमा अभियोजकको मद्दत गरिन् ।

कैदीको निलो पोसाक लगाएकी सांचेजले अदालतमा आफ्नो प्रेम सम्बन्ध र कार्टेल लिडरको रुपमा गुसम्यानको कामबारे बताएकी थिइन् । उनी असाध्यै डराएकी थिइन् र बारम्बार आँखा झिम्क्याइरहेकी थिइन् । उनीभन्दा निकै पर बसेर गूसम्यान निकै विचलित देखिएका थिए र उनी बारम्बार घडी हेरिरहेका थिए ।

कोरोनेल दोस्रो पंक्तिमा बसेकी थिइन् । उनी आफ्नो लामो कपालमा आफ्ना औंला घुमाइरहेकी थिइन् । उनले त्यो दिन त्यस्तै मखमलको ज्याकेट लगाएकी थिइन् जस्तो उनका श्रीमानले लगाएका थिए ।

गूसम्यानका वकिल विलियम परपूराले एउटै खालको ज्याकेटले उनीहरुको सम्बन्धको शक्ति बयान गर्ने बताए । सांचेजले बयान दिने दिन कोरोनेलले आफ्ना श्रीमान्सँग मिल्दोजुल्दो ज्याकेट लगाएर सांचेजलाई मेसेज दिन चाहन्थिन् ।

परपूराका अनुसार यसबाट उनी यो जताउन चाहन्थिन् कि ‘तिमी पाखा लाग । गूसम्यान मात्र मेरा हुन् ।’

अदालतमा बयानमा दिएपछि सांचेजलाई जेलमा फिर्ता पठाइयो । यस्तै कोरोनेल न्यूयोर्कमा एउटा डिनरका लागि गइन् ।

तर यी दुई महिलाको स्थिति छिट्टै फेरियो । सांचेजलाई जेलबाट रिहा गरियो र अब उनी स्वतन्त्र छिन् । यता कोरोनेल जेलभित्र छिन् र उनले जमानत पाइरहेकी छैनन् ।

मुद्दा चलिरहेका बेला उनले आफ्नो जीवनशैलीलाई जसरी व्यक्त गरिन् त्यो धेरै मानिसहरुलाई मन परेको थिएन । उनले जसरी आफ्नो श्रीमान्प्रति बफादारी देखाइन् त्यसले पनि धेरैलाई निराश बनायो ।

सुरक्षा विश्लेषक ग्रेन्डमेसनका अनुुसार उनलाई एक मूर्खको रुपमा हेरिएको छ ।

तर सांचेजले यस्तो सोचिनन् ।

जब सांचेजका वकिल हेदर शेनरले उनलाई कोरोनेल जेल गएको बारे बताएका थिए तब सांचेज खुसी भइनन् ।

उनका वकिलका अनुसार खुसी व्यक्त गर्नुको साटो सांचेज दुःखी भइन् किनभने उनलाई लाग्यो कि एउटा आमा आफ्नो बच्चाबाट टाढा बस्नुपर्यो ।

तारा मेकेल्वी/ बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप