केन्द्रीय संस्करण
बालसंसार

प्रेरक व्यक्तित्व : चिनियाँ दार्शनिक कन्फ्युशियस

person explore access_timeजेठ २०, २०७८ chat_bubble_outline0

कन्फ्युशियस महान् चिनियाँ दार्शनिक हुन् । खासगरी समाज सुधारको क्षेत्रमा उनको बढी ख्याति छ । प्रशासनिक क्षेत्रमा पनि उत्तिकै महत्वपूर्ण ठहरिएका छन् उनका विचारहरू । उनको जन्म ईशा पूर्व ५५० अर्थात् आजभन्दा झण्डै २६ सय वर्ष अघि चीनको प्राचीन प्रान्त ‘लू प्रदेश’ मा भएको थियो । ई.पू. ४८० अर्थात् ७० वर्षको उमेरमा संसार छाडेका यी दार्शनिक करीव करीव गौतम बुद्ध र महर्षि वादरायणको समकक्षीमा पर्छन् । गौतम बुद्धको बुद्धदर्शन र वादरायणको वेदान्त दर्शनको उदय यसै समयको आसपास मानिएको छ । कन्फ्युशियसको जातीय नाम ‘कुङ’ थियो, जसको अर्थ दार्शनिक भन्ने हुन्छ चिनियाँ भाषामा । उनका बाबु ‘शू– लियागहीह’ जिल्ला सेनापति (प्रमुख) थिए । तथापि दर्शनप्रति पनि उनको झुकाव राम्रै थियो ।

कन्फ्युशियसले तीन वर्षकै उमेरमा पितृ वियोगको पीडा भोग्नुप¥यो । त्यसपछि उनको परिवारले आर्थिक अभावको सामना गर्नुप¥यो तर हुने बिरुवाको चिल्लो पात भने जस्तो यसले कन्फ्युशियसको जीवनलाई प्रभावित पार्न सकेन । बरु यही अभाव र गरीवी नै  विद्वता र कुशल कलाकारको कारण बन्न पुग्यो । सायद भगवान्ले एउटा ढोका बन्द गरे पनि अर्को ढोका खुलै राखेका हुन्छन् भनिएको यही हो हुनुपर्छ । उनको जीवनमा यस्तै अवस्था देखा परेको छ । जहाँ माता लक्ष्मीले एउटा ढोका बन्द गरिदिएकी थिइन् त्यहीँ  सरस्वतीेले अर्को ढोका खोलिदिइन् । अन्ततः यसैले नै उनलाई विश्वविख्यात दार्शनिकको परिचय दिलायो ।

कर्ममा पूजा र इमान्दारीतामा ईश्वरको बास देख्ने कन्फ्युशियसमा दया, माया, मैत्री, करुणा आदि सबै किसिमका मानवीय गुण थिए । प्रायः मानिस गरीवी र अभाव अभिशाप हो भन्ने गर्छन् तर ती सब अल्छी मानिसमा मात्र लागू हुने कुरा हुन् भन्ने कुराको राम्रो उदाहरण दिएका छन् कन्फ्युशियसले । उनी सानैदेखि भिन्नै स्वभावका थिए । साथीहरूसित खेल्न जाँदा पनि सतही खेलमा मात्र नलागेर हावा, पानी, माटो र तिनका गतिविधि सम्बन्धी कलालाई केलाउनतिर लाग्थे ।

कन्फ्युशियस कहिल्यै मन्दिर गएनन् । यसको अर्थ उनी नास्तिक भन्ने पनि होइन । उनी ईश्वरलाई मान्थे तर कुनै पार्थिव मूर्तिमा भन्दा जीवित प्राणीमा ईश्वरको वास हुन्छ भन्ने भन्ने मान्यता राख्थे । आफू पनि त्यस्तै गर्थे र अरुलाई पनि त्यस्तै सल्लाह दिन्थे । फलतः उनका सङ्गतमा आउनेहरू पनि त्यस्तै हुन पुग्थे ।

उनलाई एकपटक शिष्यहरूले सोधेका थिए–

‘गुरुदेव कसको प्रार्थना सच्चा प्रार्थना हुन्छ र भगवान्ले चाँडै सुन्नुहुन्छ ?’

शिष्यहरूको प्रश्न सुनेर उनले मुस्कुराउँदै उत्तर दिए–

‘मेरो विचारमा गरीव कृषकहरू नै भगवान्को सच्चा भक्त हुनसक्छन्, जसको प्रार्थना भगवान्ले चाँडै नै सुन्नुहुन्छ ।’

गुरुको कुरा सुनेर शिष्यहरू त्यस्तो किसानको खोजीमा हिडे । खोज्दै जाँदा एक दिन साँझपख यस्तो गरीव कृषकका घर पुगे, जो गुरुले भनेबमोजिम चल्दोमिल्दो देखिन्थ्यो । टालटुल गरेको कपडाले शरीरसम्म ढाकेको भए पनि ओढ्ने ओछ्याउने कपडाको नाममा थोत्रो कम्बलसम्म थिएन । तिनलाई देख्दा अलि कस्तो लागेको भए पनि त्यतातिर ध्यान दिएनन् । उनीहरूको सम्बन्ध कृषकको अवस्थासित होइन प्रार्थनासित थियो ।

तिनै गरीव किसानको घरमा जेनतेन रात बिताए । भोलिपल्ट बिहानै कृषक खेतरित लागे । उनीहरू पनि प्रार्थना सुन्न पछिपछि लागे । खेतमा पुगेपछि कृषकले आकाशरित फर्केर भने–

‘हे भगवान् ! तपाईँले मलाई जन्म दिएर ठूलो गुन लगाउनुभएको छ । यसका लागि तपार्इँलाई धन्यवाद छ । सृष्टिका सबै कुरा राम्रा छन् । त्यमाथि पनि मानिस झन् राम्रा प्राणी  हुुन् । तिनैमध्येमा मलाई पनि राख्नुभएको छ यो हजुरको अनुकम्पा हो । यस निम्ति जीवनभर तपाईंको ऋणी रहनेछु ।’

यति भनेर कृषक काममा लागे । बाँकी केही भन्लान् कि भनेर उनीहरूले दिनभर कृषकको प्रतीक्षा गरे तर केही बोलेनन् । काम सकेर चुपचाप घरतिर लागे । त्यसपछि उनीहरूले गुरुसँग गएर भने–

‘गुरुदेव ! हामीलाई त्यस्तो थाङ्ने मानिसकहाँ किन पठाउनुभएको बुझ्न सकिएन । दिनभर पछि लाग्यौँ कुनै प्रार्थना गर्छन् कि भनेर मरिकाटे बोल्या होइनन् । सुरुमा एउटासम्म वाक्य उच्चारण गरेका थिए पछि त त्यो पनि हरायो ।’

त्यसपछि कन्फ्युसियसले सम्झाउँदै भने–

‘ठीक भन्यौ तिमीहरूले । प्रार्थना भनेकै त्यही हो । जब मानिसको पूरा जीवन नै प्रार्थनामय बनेको छ भने उसले देखावटी प्रार्थना गर्नुपदैैन । जसको काम राम्रोे छैन उसलाई मात्र प्रार्थनाको अभिनय सुहाउँछ । असल कर्म गर्नेहरूलाई यसको आवश्यकता नै पदैैन । उसको कर्म नै सच्चा पूजा र प्रार्थना भइरहेको हुन्छ ।’

यस भनाइमा केकति सत्यता छ त्यो त थाहा छैन तर कन्फ्युशियसको शिष्यहरूलाई सम्झाउँदै तरिका भने यस्तै थियो । भनिन्छ चीनियाँ शिक्षा पद्धतिलाई आजसम्म पनि उनको विचारले कुनैनकुनैरूपमा प्रभावित गर्दै ल्याएको छ । यसको मूल कारण शिक्षाको यही व्यावहारिककरण नै हो ।

कन्फ्युशियस एक समय एउटा नगरको शासकसमेत हुन पुगेका थिए । पछि गएर त्यसै क्षेत्रका मन्त्रीसम्म हुन पुगे । तथापि उनले त्यसको तडकभडक कहिल्यै देखाएनन् । सादा जीवन र उच्च विचारका धनी यी चिनिया सज्जन कसैलाई पनि सजाय दिन चाँहदैन थिए । सजाय नै दिनुप¥यो भने पनि दण्डको बदला चरित्र सुधारमा जोड दिन्थे ।

कन्फ्युशियसको शिष्यमण्डलीमा ३००० हजारभन्दा बढी व्यक्ति थिए । तिनमा करीव १०० जना निकै उच्च कोटीका मानिन्थे, जो सदा सँगै रहने, बस्ने, खाने, र उनको विचारहरूलाई प्रचारमा ल्याउने गर्थे । कनफ्युशियसले यस्ता थुप्रै व्यवहारोपयोगी शिक्षा दिएका छन्, जसको  चीनमा स्थिरता ल्याउन ठूलो योगदान रहेको छ तर उनले तिनलाई लिपिबद्ध गर्ने लोभ भने कहिल्यै देखाएनन् । उनी विचार भनेको बाहक हुन्, स्रष्टा होइनन् भन्थे र आफ्ना विचारलाई ग्रन्थाकार दिन इन्कार गर्थे तर शेषपछि उनका शिष्यहरूले भने केही विचारलाई लिपिबद्ध गरेका छन् । यीमध्ये केहीको अंग्रेजी अनुवादसमेत प्रकाशित भइसकेका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.