प्रदेशसभा बैठकमै सांसदहरुले मागे मुख्यमन्त्री पोखरेलको राजीनामा
लुम्बिनी प्रदेशसभा बैठकमा विपक्षी दलका सांसदले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । बुधबारदेखि सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनमा विपक्षी सांसदहरुले मुख्यमन्त्री पोखरेलमाथि संसद छलेर लुकीलुकी हिँडेको आरोप लगाए । उनीहरुले प्रदेश सरकार अल्पमतमा परेको भन्दै मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरे ।
प्रदेशसभा बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्दीन खानले मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ को उपधारा (१) अनुसार अल्पमतमा रहेकाले तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले राष्ट्रियसभा सदस्य पदका लागि भएको उपनिर्वाचनले प्रदेश सरकार अल्पमतमा रहेको प्रस्ट देखाएको दावी गरे । उनले अल्पमतका बाबजुद पनि जालझेल गरेर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएको आरोपसमेत लगाए ।
नेपाली काँग्रेसकै अर्का सांसद शंकर गिरीले मुख्यमन्त्री पोखरेलले संसदको अपमान गरेको भन्दै सहमति, सहकार्य र एकताका लागि राजीनामा दिनुपर्ने जिकिर गरे ।
‘मुख्यमन्त्रीज्यू अब छलछाम नगर्नुस्, तपाई संविधानको कुन धारा अनुसारको सरकारमा हुनुहुन्छ ?’ उनले प्रश्न गरे, ‘तपाई संविधानको धारा १६८ को उपधारा (१) बमोजिमको मुख्यमन्त्री हो कि उपधारा (२) बमोजिमको ?’ उपधारा १ अन्तर्गतको हो भने प्रदेशसभामा बहुमत नपुगेको भन्दै उनले राजीनामा दिन सुझाए ।
नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री सुदर्शन बरालले अल्पमतमा परेपछि प्रदेश प्रमुखलाई बोरामा हालेर मुख्यमन्त्री कार्यालयमा लगेर शंकर पोखरेलले सपथ लिएको आरोप लगाए । उनले मुख्यमन्त्री पोखरेलले मान्यता, सिद्धान्त र आदर्शको राजनीति गर्ने नेताका रुपमा आफूले विगतमा चिनेको भए पनि अहिले त्यसको ठिक उल्टो भूमिकामा देखिएको बताए ।
नेपाली काँग्रेसका सांसद वीरबहादुृर रानाले अविश्वासको प्रस्तावमाथि बहस नगरेर संसद छलेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै आपत्ति जनाए । उनले संघीय सरकारको आडमा सांसदलाई घोक्र्याएर, प्रदेश प्रमुखलाई घिसारेर मुख्यमन्त्रीको शपथ गराउनु गलत भएको बताए ।
राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले प्रदेशसभाको घाँटी निमोठिने खतरा देखिएको बताइन् । सयौं तिकडम अपनाएर संघीय प्रतिनिधिसभा विघटन गराइएको उदाहरण दिँदै उनले लुम्बिनी प्रदेशमा पनि त्यसकै नयाँ संस्करण देखिन सक्ने आशंका व्यक्त गरिन् ।
सांसद इन्द्रजीत थारुले एमाले ठूलो दल हो भन्दैमा स्वेच्छाचारी हुन र संविधान मिच्न छुट नपाउने बताए । उनले मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीको सिको गर्दै अल्पमतमा हुँदा पनि सरकारमा बस्ने हठ देखाएको आरोप लगाए ।
नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री लिला गिरीले भने प्रदेश सरकारसँग स्पष्ट बहुमत रहेको दावी गरे । उनले मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ (१) अनुसार प्रदेश सरकारको नेतृत्व गरेको जिकिर गरे ।
सभामुखले बैठकको सुरुमा प्रदेश प्रमुखबाट प्राप्त प्रदेशसभाको आठौं अधिवेशन आह्वान सम्बन्धी पत्र, प्रमाणीकरण भएको विधेयक सम्बन्धी पत्र र मन्त्रिपरिषद् पुनर्गठन एवं कार्य विभाजन सम्बन्धी पत्र पढेर सुनाएका थिए । यसैगरी प्रदेशसभा सदस्यबाट दृग नारायण पाण्डेय र अमर बहादुर डाँगी क्षेत्रीले राजीनामा दिएकाले पद रिक्त भएको व्यहोरा पनि सभामुखले बैठकलाई जानकारी गराए ।
प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु