शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संस्थापनइतर महाधिवेशनमा एक मत, विकल्पमा दुई मत

१४ औँ महाधिवेशनबारे के छ निष्कर्ष ?
बुधबार, १९ जेठ २०७८, २१ : ४९
बुधबार, १९ जेठ २०७८

नेपाली काँग्रेसको संस्थापन इत्तर पक्षले निर्धारित मितिमै १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ । बुधबार संस्थापन इतर पक्षका केन्द्रीय सदस्यको भर्चुअल मिटिङले भदौ १९ गतेसम्मलाई डेडलाइन बनाएर महाधिवेशनका लागि लाग्नुपर्ने निष्कर्ष निकालेको हो । काँग्रेसले भदौ ७–१० का लागि १४ औं महाधिवेशनको मिति तय गरेको छ ।

कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताका बावजुद पनि संविधानतः महाधिवेशन गर्नुपर्ने बाध्यतामा काँग्रेस रहेको छ । नियमित प्रक्रियाअनुसार १६ महिनाअघि नै १४ औँ महाधिवेशन सम्पन्न हुनुपर्नेमा विशेष परिस्थिति देखाउँदै एक वर्ष थप गरिएको थियो । त्यो समयमा पनि महाधिवेशन हुन नसकेर संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न सक्ने प्रावधानमा टेकेर काँग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्म थप गरेको छ । २०७२ फागुन १९ गते १३ औँ महाधिवेशन गरेको काँग्रेसका लागि भदौ १९ गते उता १४ औं महाधिवेशन गर्ने सुविधा छैन ।

पार्टीलाई संवैधानिक संकटबाट जोगाउन यो प्रतिकुल परिस्थितिमा कसरी महाधिवेशन गर्ने काँग्रेस नेतामा चिन्ता र चासो बढेको छ । नेताहरुका अनुसार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको अगुवाइमा आज सम्पन्न बैठक पनि यही विषयमा केन्द्रित भएको थियो ।

छलफलमा पौडेल पक्षीय केन्द्रीय सदस्यका साथ कृष्णप्रसाद सिटौला पक्षका गगन थापा र प्रदीप पौडेल पनि सहभागी थिए ।

महाधिवेशनमा एक मत, विकल्पमा दुई मत

पौडेल पक्ष भदौभित्र महाधिवेशन गर्ने विषयमा एकमत भए पनि विकल्पका विषयमा दुई मत देखिएको छ । अहिलेको महाधिवेशन प्रक्रियालाई अगाडि बढाएर महाधिवेशन सम्पन्न हुन सक्दैन भन्ने मत छ । नेता अर्जुननरसिंह केसीले बैठकमा उक्त मत जोडदार ढंगले उठाएका थिए ।

केसीका अनुसार संस्थापन पक्षलाई महाधिवेशन गर्ने चाहना नै छैन । त्यसमाथि कोरोना राम्रो बहाना बनेको छ । ‘यो परिस्थितिमा हामीले जति चाहे पनि अधिवेशन हुन सक्दैन । कामहरु ढिलो गराउने र अन्तिममा पार्टी वैधानिक संकटमा पुग्ने । अब यो मान्दिनुहोस् भन्ने संस्थापन पक्षको चाहना छ,’ उनको भनाइ छ, ‘त्यसैले पहिलेको प्रक्रिया अनुसार अधिवेशन हुन्छ भनेर पर्खेर नबसौँ । १३ औँ महाधिवेशनका प्रतिनिधिबाट विशेष अधिवेशन गरौँ ।’

संस्थापन पक्षले प्रक्रिया पूरा गरेर अधिवेशन गर्छ भन्नेमा आशावादी हुने ठाउँ नरहेको केसीको बुझाइ थियो । ‘कुनै पनि हालतमा अधिवेशन हुनुपर्छ । कुनै पनि ढंगले कम्प्रमाइज हुनुहुँदैन । संस्थापन पक्षले प्रक्रिया पूरा गरेर अधिवेशन गर्छ भन्नेमा आशावादी हुने ठाउँ छैन । हामीले विशेष महाधिवेशन कै विकल्प खोजेर जानुपर्छ,’ उनले भने ।

महामन्त्री शशांक कोइराला लगायतका नेताको तर्क पनि केसी कै मतको वरिपरी थियो । यद्यपि कोइरालाले आफूहरुले महाधिवेशनका लागि कम्प्रमाइज गर्न पनि तयार हुनुपर्ने धारणा राखेका थिए । ‘१३ औं महाधिवेशनका प्रतिनिधिबाट महाधिवेशन गर्ने वा नयाँ क्रियाशील सदस्यताबाट महाधिवेशन गर्न सकिन्छ । मतदान विकेन्द्रीकरणमा हामीले कम्प्रमाइज गर्नुपर्छ । जिल्लाबाटै मतदान गर्ने व्यवस्था गर्नुपर्छ । हामीले प्रक्रियामा कम्प्रमाइज नगरी महाधिवेशन हुन सक्दैन,’ महामन्त्री कोइरालाको तर्क थियो ।

केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पहिला क्रियाशील सदस्यताको विषय टुङ्ग्याएर प्रक्रिया र विकल्पबारे प्रवेश गर्नुपर्ने बताए । केन्द्रीय सदस्य गुरुराज घिमिरेले महाधिवेशन प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

घिमिरेका अनुसार बैठकमा सबैले उठाएका विषयमाथि जवाफ दिँदै वरिष्ठ नेता पौडेलले अहिले नै विकल्पमा जाने कुरा गर्न उचित नहुने निष्कर्ष सुनाएका थिए । उनले भने, ‘विकल्प भनेको अन्तिम समयमा छलफल गर्ने कुरा हो । अहिले यही प्रक्रियाबाट कसरी महाधिवेशन गर्न सकिन्छ ? त्यसैतर्फ केन्द्रित हौँ । समयमै महाधिवेशन गर्ने हो ।’

कोरोनाले भेला हुनु नसक्ने अवस्थामा के गर्ने ?

बैठक भेला, सभा, सम्मेलनमार्फत महाधिवेशन गर्ने परिस्थिति नरहेको भन्दै केन्द्रीय सदस्य गगन थापाले अधिवेशन प्रक्रिया छुट्याउने विकल्पमा छलफल अगाडि बढाउनु पर्ने बताए । उनले रातोपाटीसँग भने, ‘साउन मसान्तसम्म बैठक भेला, सभा सम्मेलन गर्न कानुनले नै बन्देज लगाउने कुरा देखिरहेको छु । त्यस्तो अवस्थामा हामीले विशेष वा जे भनेपनि अधिवेशनका लागि भेला हुने अवस्था नहुन सक्छ । त्यो बेलामा के गर्ने ?’

यतिबेला महाधिवेशन गर्न र सार्न सक्ने दुबै परिस्थिति काँग्रेसका लागि अनुकुल नरहेको उनको भनाइ छ । ‘न महाधिवेशन गर्न सक्ने अवस्था छ, न सार्न सक्ने । किन भने न हामी संविधान संशोधन गर्न सक्छौँ । संसद पुनर्स्थापना भएन भने संविधान संशोधन गर्ने ढोका नै बन्द भयो । अध्यादेशबाट संविधान संशोधन हुँदैन । संसद आए पनि संविधान संशोधन हामीले चाहेर मात्र हुँदैन,’ थापा भन्छन् ।

यतिबेला पार्टी सामूहिक रुपमा संकटमा परिसकेको उनले बताए । ‘अब यो कुरामा पनि नेताहरु छलफल प्रारम्भ गर्नुहोस् । बाहिर किन विकल्प भन्दै हिँड्नुपर्यो ? भनेर आज मैले कुरा राखेको थिएँ,’ बैठकमा राखेका धारण थापाले सुनाए ।

तर नेता गुरुराज घिमिरे भने जिल्ला–जिल्लालाई मतदान केन्द्र बनाएर महाधिवेशन गर्न समस्या नहुने बताउँछन् । एकै ठाउँमा भेला हुन पाउने नपाउने कुरा छ । कोरोना महामारी यथावत रहँदा भेला हुन समस्या आए प्रविधिको माध्यबाट महाधिवेशन गर्न सकिन्छ । जिल्ला–जिल्लालाई मतदान केन्द्र बनाएर महाधिवेशन गर्न समस्या छैन,’ उनले रातोपाटीलाई भने ।

घिमिरेका अनुसार १३ हजार सदस्य रहको पत्रकार महासंघको महाधिवेशन हुने ठाउँमा ५ हजार प्रतिनिधिका बीचमा काँग्रेस महाधिवेशन गर्न सकिँदैन भन्ने होइन ।

उनले भने, ‘संसारभरि अन्य निर्वाचन पनि कोरोना महामारीकै बीचमा भएका छन् । हामीले अठोट गर्दा महाधिवेशन गर्न सक्छौँ ।’

क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन जोड 

बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेलले मापदण्ड बनाएर क्रियाशील सदस्यताको समस्या टुंग्याउनु पर्ने धारणा राखेका थिए । उनले रातोपाटीसँग भने, ‘प्रष्ट मापदण्ड बनाएर कडाइका साथ लागू गरी क्रियाशील सदस्यता छानविन गर्दा धेरै समय लाग्दैन । असार १५ भित्र सदस्यता छानविन गर्न सकिन्छ ।’

क्रियाशील सदस्यता छानबिन समितिका सदस्य समेत रहेका पौडेलले यसबारे छानविन समितिमा पनि अडान लिइरहेको बताए । ‘आफ्ना मान्छेलाई संरक्षण गर्ने सबै पक्षको ध्येय भएपछि कसरी छानविन भएर अधिवेशन हुन्छ ? मापदण्ड बनाएर कडाइका साथ लागू गरौँ । त्यसले मात्र परिणाम दिन सक्छ,’ उनी भन्छन् ।

पौडेलका अनुसार त्यसपछि भदौं १९ भित्र महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रकाशित गरी जानुपर्छ ।

यस्तै अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरे पनि क्रियाशील सदस्यताका सन्दर्भमा उत्पन्न समस्या टुंग्याएपछि पार्टीको महाधिवेशन सबै समस्या टुंगिने बताउछन् । ‘असार पाँच देखिको अधिवेशन तालिकालाई असार मसान्तबाट सुरु गर्न सक्छौं । भदौ ७–१० को मितिलाई भदौं १९ गतेसम्म सार्न सकिन्छ ,’ उनी भन्छन् ।

कल्याण गुरुङले पनि महाधिवेशन भदौं १९ गतेसम्म सारेर भएपनि गर्न सकिने बैठकको निष्कर्ष रहेको सुनाए । छानविन समितिका सदस्य गुरुङले क्रियाशील सदस्यताको अवस्था बैठकमा बिफ्रिङ गरेका थिए । गुरुङका अनुसार  १ सय १ वटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यको सूची प्रकाशित भएको छ । ६४ वटा निर्वाचन क्षेत्रको सूची प्रकाशन हुन बाँकी छ । उनीहरुलाई जेष्ठ २५ गतेसम्मका लागि इन्ट्री गर्ने समय दिइएको छ ।

उनीहरुमध्ये सबैले क्रियाशील सदस्यता बुझाउन नसकेपनि महाधिवेशनको थप प्रक्रिया अब अगाडि बढाउनुपर्ने संस्थापन इतर पक्षको नीति लिएको छ ।

घिमिरेका अनुसार विगतको अनुभवअनुसार निर्विवाद क्रियाशील सदस्यको संख्या ८० प्रतिशत जति हुन्छ । ‘त्यसबाट महाधिवेशन गर्न सकिन्छ । विवादित क्रियाशील सदस्यतालाई अहिले टुङ्ग्याउन सकिएन त्यसलाई प्रक्रियामा राखेर १५ औँ महाधिवेशनमा सामेल गराउन सकिन्छ,’ उनले भने । काँग्रेसले १२ र १३ औँ महाधिवेशनमा पनि विवादित क्रियाशील सदस्यता थाँती राखेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप