बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा ब्ल्याक फङ्गसका कारण हालसम्म ३ को मृत्यु, ५ जनाको भारतमा उपचार हुँदै

बुधबार, १९ जेठ २०७८, १९ : ४१
बुधबार, १९ जेठ २०७८

प्रदेश २ को पर्सा जिल्लामा ब्ल्याक फङ्गसको संक्रमणबाट ३ जनाको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । पहिलोपटक वीरगंजमा देखापरेको ब्ल्याक फङ्गस संक्रमण हालसम्म ८ जनामा पुष्टि भएको छ । ८ जना संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ भने बाँकी ५ जना संक्रमितको थप उपचारका लागि भारत पठाइएको नारायणी अस्पतालका डा. नीरज सिंहले जानकारी दिए । डा. सिंहले भने, 'ब्ल्याक फङ्गस संक्रमणको उपचार नेपालमा सम्भव नभएकोले बिरामीलाई भारत पठाइएको छ । उहाँहरूको उपचार पटनामा र लखनउमा भइरहेको छ ।’

करिब एक महिनाअघि वीरगञ्जकै एड्भान्स अस्पतालमा उपचाररत रहेकी वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ स्थित अलौंकी ६५ वर्षीया महिलामा पहिलो पटक ब्ल्याक फङ्गसको संक्रमण पुष्टि भएको बताए । उनले भने– हामीले सकेजति उपचार त गर्यौँ । तर, ती महिलालाई बचाउन सकिएन ।’

​दोस्रो केस बारा घर भइ उपचारका लागि वीरगञ्ज पुगेका ५५ वर्षीय पुरुषमा देखिएको उनको भनाइ छ । उनले भने, ‘ती पुरुषलाई काठमाडौँ पठाइएको दोस्रो दिनमै जेठ ३ गते मृत्यु भएको थियो  । ८ मध्ये २ जनाको ल्याबबाटै पुष्टि गरिएको थियो भने अन्य ६ जनाको लक्षणका आधारमा क्लिनिकल्ली ब्ल्याक फङ्गसको संक्रमण भएको प्रमाणित गरिएको हो । यस्तै वीरगञ्ज वडा नम्बर १३ बस्ने ६७ वर्षीय पुरुषको पनि वैशाख ३० गते निधन भएको थियो ।’

हालसम्म ८ जना बाहेक अहिले अरू कुनै पनि संक्रमित वा व्यक्तिमा ब्ल्याक फङ्गसको संक्रमण नदेखिएको समेत उनले बताए । कोरोना संक्रमित व्यक्तिमा लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा ब्ल्याक फङ्गसको संक्रमण देखापर्ने गरेको उनले बताए । उनको अनुसार वीरगंजमा संक्रमण देखिएका ८ जना कोभिडबाट निको भइसकेका व्यक्तिहरू रहेका छन् ।

नेपाल र भारतमा कोरोना संक्रमितमा देखापरिरहेको ब्ल्याक फङ्गस मानिसबाट अर्को मानिसमा सर्ने रोग नभएको उनले बताए । उनले भने– ‘अहिलेसम्मको रिसर्चका अनुसार ब्ल्याक फङ्गस हावा र माटोबाट सर्ने गरेको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप