शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम सरकार बजेटको आकार घटाउने तयारीमा

बुधबार, १९ जेठ २०७८, १९ : २५
बुधबार, १९ जेठ २०७८

 सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि २७ अर्ब बराबरको बजेट ल्याउने गृहकार्य अघि बढाएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले करिब चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घट्ने जनाएको हो ।

संघीय सरकारको अनुदानसहित आगामी आर्थिक वर्षका लागि करिब २७ अर्ब जतिको बजेट आउन सक्ने आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी खगेन्द्रप्रसाद साउदले रातोपाटीलाई जानकारी दिए । चालु आर्थिक वर्षमा प्रदेश सरकारको बजेट ३३ अर्बको छ ।

बजेट ल्याउने तयारीका लागि विनियोजन विधेयक, अर्थिक विधेयक लगायतका प्रयोजनसँग सम्बन्धित वार्षिक तथ्यांक संकलन गर्ने काम भइरहेको उनले बताए । बजेटमाथि मन्त्रालयहरूसँग विषयगत छलफल भइरहेको उनको भनाइ छ । पहिलो चरणको छलफल भइरहेको र दोस्रो चरणको छलफल पश्चात बजेटको तयारी पूरा हुने उनले बताए ।

आगामी आर्थिक वर्षको बजेटमा कोभिड महामारीलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम तर्जुमा उनले मन्त्रालयले जनाएको छ । पूर्वाधार सम्बन्धी क्रमागत काम भइरहेका योजना र प्रदेशका गौरवका आयोजनालाई बजेटले समेटेको बताइएको छ ।

भौतिक पूर्वाधार सम्बन्धीका करिब १० अर्बका आयोजनाको पूर्वतयारी, डिपिआर लगायत छ कि छैन भन्ने अध्ययन गरेरमात्र बजेटले ती आयोजनालाई समेट्ने सूचना अधिकारी साउद बताउँछन् । आयोजना छनौट सम्बन्धी मापदण्ड २०७५ मा भएका कुरालाई पनि बजेटले सम्बोधन गर्ने उनको भनाइ छ ।

बजेटको सैद्धान्तिक पक्ष, मन्त्रालयको नीति तथा योजना कार्यक्रम तयार भइसकेको उनले जानकारी दिए । बजेटको प्राथमिकतामा कोभिड महामारी नियन्त्रण, उत्पादनमुखि बहुवर्षीय आयोजनाको निरन्तरता नै हुने उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश सरकारले यही जेठ २१ गते बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । बजेट अधिवेशन आह्वानका लागि बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले जेठ २१  दिनको ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले रातोपाटीलाई जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप