शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘फ्रन्टलाइनर’ र कोरोना संक्रमितको सेवामा सक्रिय युवाहरु

बुधबार, १९ जेठ २०७८, ११ : १८
बुधबार, १९ जेठ २०७८

कोरोना महामारीको दोस्रो लहरले देशको आर्थिक अवस्था र नागरिकको दैनिक जीवनलाई तहसनहस बनाएको छ । दैनिक काम गरेर खानेहरूलाई निषेधाज्ञाका कारण हातमुख जोर्न धौधौ भइसकेको छ भने कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु नियमित खटाइका कारण समयमा खाना तथा नास्ता खानसमेत पाइरहेको अवस्था छैन ।

कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएकाहरु र बन्दाबन्दीले काम गर्न नपाउँदा पेटभरी दुई छाक खान नपाएका मजदुर तथा अति विपन्न वर्गलाई सघाउन समाजमा सहयोगी तथा मनकारी मान्छेहरु अग्रसर हुन थालेका छन् ।

रुपन्देहीका विभिन्न क्षेत्रमा रहेका मनकारी मान्छेहरुले सामाजिक भूमिका निर्वाह गर्दै कोरोनाको मारमा परेका हरेक तहका नागरिकका लागि सहयोगी हात बढाएका छन् ।

बुटवलका हरिबहादुर क्षेत्री, रीता केसी, नेत्र भट्टराईलगायतका युवाले व्यक्तिगत एवं मनकारी मान्छेहरूको सहयोगमा कोरोना महामारीका बीचमा राहत वितरण अभियान सञ्चालन गरेका छन् ।

बुटवल दीपनगरका हरिबहादुर क्षेत्रीले चिकित्सक तथा स्वास्थ्यकर्मी, ल्याबमा काम गर्नेहरु एवं अस्पतालमा रहेका कोराना संक्रमितलाई खाना डेलिभरी गर्दै आएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल र धागो कारखानामा रहेका कोभिड संक्रमित बिरामी तथा स्वास्थ्यकर्मीलाई खाजा खुवाउने कार्यमा उनी निरन्तर खटिएका छन् ।

आफू कोरोनामुक्त भएपछि उनले यो कामको सुरुवात गरेका हुन् । जेठ १० गतेबाट सुरु गरेको यो अभियान आफूले आत्मसन्तुष्टिका लागि सुरु गरेको उनको भनाइ छ । चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालमा रहेका संक्रमित बिरामीलाई उनको अन्डा, खसीको मासु, केरा, दुध तथा अन्य पौष्टिक आहार खुवाउने गरेका छन्, जसका लागि दैनिक २३ हजार रुपैयाँभन्दा धेरै खर्च आउने गर्दछ । व्यक्तिगत रुपमै खर्च गरेर भए पनि यो अभियानलाई अघि बढाउने सोच बनाएका उनलाई पछिल्लो समय केही आफन्त र साथीभाइले पनि सघाउन थालेका छन् ।

क्षेत्री प्रत्येक हप्ता सात प्रकारका नास्ता र सात प्रकारका भोजन गराउने उद्देश्यका साथ एक महिने अभियान चलाएको बताउँछन् । स्वास्थ्यकर्मी, चिकित्सकहरुको सिफारिसमा बिरामी र कुरुवालाई निःशुल्क एक महिने खाना अभियानलाई सार्थक तुल्याउन धेरै जनाको प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग रहेको उनको भनाइ छ । हालसम्म करिब १ हजार जनालाई खाना खुवाएको उनले बताए ।

अभियान चलाउने सोच बनाएपछि आर्थिक जोहो तथा सहयोगीहरुको खोजी गरी योजना बनाएको क्षेत्रीको भनाइ छ । कसैको सहयोग नलिने योजना बनाए पनि स्वेच्छिक रुपमा सहयोगीहरु आएपछि केही नजिकका व्यक्तिबाट खाद्यान्न, सेनिटाइजर, मास्क, ग्लोब्स लगायतका सहयोग लिइएको उनले बताए ।

यसैगरी बुटवल देवीनगरकी रिता केसी पनि पोषणयुक्त टिफिन बक्स अभियानमा जुटेकी छन् । केसी पेशाले बीमा अभिकर्ता हुन् । पौष्टिक खाजा खुवाउने कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु सुरज क्षेत्री, रिता श्रेष्ठ, सुन्दर अर्याललगायतको सहभागिता छ । उक्त अभियान सुरु भएको बुधवार १३ दिन पुगेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड उपचाररत  बिरामीहरु तथा स्वास्थ्यकर्मीलाई जेठ महिनाभर खुवाउने कार्यक्रम रहेको केसीको भनाइ छ । हाल दैनिक १४ हजारका दरले खर्च भइरहेको उनले बताइन् ।

केसीले आफूहरु केवल माध्यममात्रै भएर पुलको काम गरेको बताइन् । महामारीको बेला घरमै बसेर पनि अभियानमा जोडिने सहयोगीहरुको सहयोगबाट आफूहरुले काम गरेको उनको भनाइ छ ।

नेपाली काँग्रेसका युवा नेता एवं बुटवल होराइजन चोक निवासी नेत्र भट्टराईले पनि अप्ठ्यारोमा परेकाहरुलाई राहत वितरण गरिरहेका छन् । भट्टराईले बुटवल उपमहानगरपालिको प्रगतिनगर र बुद्धनगरमा १७ घर परिवारलाई एकल रुपमा राहतस्वरुप चामल, दाल, चिनी, तेल वितरण गरेका छन् । कोरोना महामारीको बेला लकडाउन हुँदा दुई छाक टार्न समस्या भएकाहरुलाई राहत वितरण गरिएको भट्टराईले बताए ।

उनले आफ्नो वडाका कसैले पनि खान समस्या भएको भनेर खबर गरेमा त्यस्तालाई राहत उपलब्ध गराउन आफू तयार रहेको बताए । व्यक्तिगत रुपमा खर्च गरेर आफूले राहत अभियान सुरु गरे पनि पछिल्ला दिनमा साथीहरु पनि अभियानमा सहयोगी बनेको उनले बताए ।

कोरोना कहरका बेला अरुको सेवामा खटिने मनकारीमध्ये यी प्रतिनिधि पात्रमात्र हुन् । निःस्वार्थ भावले बिरामी, बिरामीका आफन्त तथा स्वास्थ्यकर्मीहरुलाई खाना, नास्ता खुवाउने अभियानमा धेरै जनाको साथ र सहयोग छ । उनीहरुको यस प्रकारको अभियानबाट सयौँजना लाभान्वित भएका छन् ।

यस्ता अभियान बुटवलभन्दा बाहिर देवदह, सैनामैना, भैरहवालगायतका ठाउँमा  पनि चलिरहेको छ । सैनामैना सत्य युवा सञ्जालले सहयोगी अभियान चलाएको छ । निषेधाज्ञाका कारण कोरोना संक्रमित बिरामीलाई अस्पताल लैजान समस्या भएमा, अन्य कुनै प्रकारको सहयोग चाहिएमा यो सञ्जालले स्थानीय स्तरमा सहयोग उपलब्ध गराउँदै आएको छ । बिरामीलाई अस्पतालसम्म लैजानका लागि ‘टेम्पो एम्बुलेन्स’ सञ्चालन गर्नुका साथै स्थानीय सरकारसँग हातेमालो गरेर सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको सञ्जालका अध्यक्ष युवराज भुसालले बताए ।

यता देवदहमा पनि स्थानीय युवाहरु सहयोगी अभियानमा जुटेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आस्था राख्ने युवाहरुले सवारी सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन भूमिका निर्वाह गर्नेदेखि लिएर घरदैलोमा पुगेर पौष्टिक आहार वितरण गर्दै आएका छन् ।

कोभिड –१९ संक्रमणको त्रासमा आम नागरिकहरु घरघरमा बसेका र संक्रमितहरुलाई समाजमा सहयोग गर्ने भावना छिमेकीहरूमा समेत नदेखिएका बेला युवाहरुले अभियानमार्फत् सहयोग गरेको प्रवासी नेपाली एकता समाज मध्यपूर्व संयोजक तथा राप्रपाका केन्द्रीय सदस्य तोयानाथ लम्सालले बताए । आफूहरु विपद्को अवस्थामा निरन्तर खटिरहेको उनको भनाइ छ ।

सवारी साधन लिएर संक्रमितहरुलाई घरबाट अस्पताल लग्ने, घरमा रहेका संक्रमितलाई अक्सिजन आवश्यक पर्दा व्यवस्थापन गरिदिएको तथा विभिन्न संघसंस्थालाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गर्दै आएको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले युवाहरुले चलाएको अभियानबाट कोरोना संक्रमित र कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएको समूहले नियमित रुपमा पौष्टिक आहार प्राप्त गरेकोमा प्रशंसा गरे । अस्पतालमा भर्ना भएका बिरामीलाई खाना खुवाउने दायित्व अस्पतालकै भए पनि यस्तो संकटको अवस्थामा युवाहरुले हातेमालो गर्नु प्रशंसनीय रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप