‘मनोबल के हो भन्ने बल्ल बुझियो’
दयाहाङ राईलाई नयाँ फिल्ममा लिन निर्माता, निर्देशकले कम्तीमा पनि एक वर्ष कुर्नुपर्थ्यो । एकपछि अर्काे फिल्मको सेड्युलले उनलाई सधैँ भ्याइ नभ्याइ हुनेगर्थ्यो । तर, सर्वसाधारणलाई कोरोनाको दोस्रो लहरबाट जोगाउन विगत सरकारले एक महिनादेखि निषेधाज्ञा जारी गरेपछि अहिले उनी घरमै सीमित हुन पुगेका छन् । राईको यतिबेला समय एक्सरसाइज, पुस्तक अध्ययन, परिवारसँग बित्ने गरेको छ । गत वर्षको लकडाउनमा केही सिर्जनशील कामसमेत गरेका राई अहिले भने उपलब्धिमूलक केही कार्य गर्न नसकेको बताउँछन् । अभिनेता दयाहाङ राईकै शब्दमा यस्तो छ उनको ‘निषेधाज्ञा डायरी’ :
मानसिक समस्या विकराल
निषेधाज्ञापछि म घरमै परिवासँग बसिरहेको छु । एउटा फिल्मको छायाँकन सकेर अर्काे फिल्मको छायाङ्कनमा निस्कने तयारीमा थिएँ । निषेधाज्ञापछि घरमै थुनिएँ ।
कोरोना नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाको कदमलाई मैले सकारात्मक र नकारात्मक दुई कोणबाट हेरेको छु । सकारात्मक रूपले हेर्ने भन्ने हो भने हामी सचेत हुँदाहुँदै कतिपय ठाउँमा संयमता गुमाइरहेका हुन्छौँ । त्यसले सङ्क्रमण बढेर अप्ठ्यारो स्थिति निम्त्याउने गर्छ । निषेधाज्ञापछि मानिस घरमै बस्छन् । बाहिर भीडभाड हुँदैन । सङ्क्रमण बढ्दैन भन्ने सरकारको सोचअनुसार निषेधाज्ञा प्रभावकारी देखिएको छ । पछिल्लो समय देखिएको घट्दो कोरोना सङ्क्रमितको सङ्ख्याबाट पनि यो पुष्टि हुन्छ ।
तर सरकारले कुनै व्यवस्थापनबिना गरेको निषेधाज्ञाले भने धेरैलाई असर पुर्याएको छ । दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्दै आएका मजदुर वर्गको अवस्था अहिले कठिन छ । यस्ताका लागि सरकारले निषेधाज्ञा अगाडि केही व्यवस्थापन गर्न सक्नुपथ्र्योे । उचित व्यवस्थापन नहुँदा अहिले धेरै मानिस समस्यामा छन् । मानसिक समस्या पनि विकराल बन्दैछ ।
सदुपयोग गर्न सकिनँ
निषेधाज्ञामा मेरो दैनिकी यसपटक राम्रो छैन । अघिल्लो वर्षको लकडाउन मेरो ऊर्जाशील काममा बितेको थियो । यो निषेधाज्ञा समय भने त्यस्तो भइरहेको छैन । यो समय मैले सदुपयोग गर्न सकिनँ । आफ्ना लागि केही एक्सरसाइज, परिवारको हेरचार र सानातिना घरेलु क्रियाकलाप, अलिअलि पुस्तक अध्ययन र फिल्म हेरेरै मेरा दिनहरू बितिरहेका छन् ।
निषेधाज्ञाको समय कतिपयले रचनात्मक काममा सदुपयोग गरिरहेका होलान् । मेरो भने यो निषेधाज्ञा त्यतिकै बितिरहेको छ । यो लकडाउन अगाडि मेरो सुटिङ पनि चलिरहेको थियो । यो पटक कामबाट थाकेर पनि आएको हुनाले र केही आफन्त पनि गुमाएको कारणले अहिले क्रिएसनतिर लाग्नै सकिनँ । आफन्तको क्षतिले मानसिक रूपमा केही न केही डिस्टर्ब गर्ने रहेछ ।
फिल्म अभिनयका लागि आएका ४–५ वटा स्क्रिप्ट छन् । ती पढ्नसमेत सकिरहेको छैन । अबका दिनमा त्यो पढ्छु भन्ने सोच छ । केही नयाँ सोच पनि छन् । त्यसका लागि प्लानिङ पनि गर्दैछु ।
मनोबल के हो बल्ल बुझियो
अहिले एक्लै बस्नु कस्तो हुँदो रहेछ भन्ने धेरै पछि अनुभव गर्दैछु । सधैँ कामको भागदौडमा रहने मेरा लागि परिवारसँग बस्ने अवसर पनि बनेको छ । हामी कलाकार धेरै स्वतन्त्र व्यक्तिमा पर्दछौँ । कहिले कता पुग्ने, कहिले कता हुने, केही भएन भने पनि १५–२० जनाको भीडभाडमा रहने । त्यस्तै माहोलमा काम सुटिङलगायत काम गर्ने बानी हुन्छ । कहिलेकाहीँ व्यक्तिगत जीवन हराइसकेको फिल पनि हुन्थ्यो । अहिलेको जीवन त मैले बिर्सिसकेको रहेछु ।
निषेधाज्ञाले हामीले आफूलाई जहिले पनि बलियो बनाउनु पर्दाेरहेछ भन्ने पाठ सिकाएको छ, मानसिक र शारीरिक दुवै हिसाबले । महामारीले हाम्रो मानसिक स्थितिमा पनि उथलपुथल ल्याएको छ । यो समय त्यसलाई बुझ्ने, नियाल्ने, हेर्ने मौका पनि हो । निषेधाज्ञाले मेरो जीवनमा नकारात्मक असर मात्र पा¥यो भन्दिनँ म । मैले यसलाई सकारात्मक रूपमा पनि हेरेको छु । यसले पारिवारिक सम्बन्ध, मानसिक अवस्था बलियो हुनुपर्दाे रहेछ भन्ने सिकाएको छ ।
यसका नकारात्मक असर त थुप्रै छन् । त्यो मेरो मात्र होइन, सबै मानिसमा परेको छ । त्यसबाट कसरी रिकभर हुने भन्ने कुरो पनि छँदैछ । पहिले हामी मानिसको बाहिरी शरीरलाई हेरेर उसको बलको आँकलन गथ्र्यौं । त्यो भ्रम अहिले चिरिएको छ । भित्री मनोबल के हो भन्ने बल्ल बुझियो ।
हराउँछ भन्ने लाग्दैन
कोरोना एक किसिमको महामारी हो । विगतका समयलाई फर्केर हेर्ने हो भने बेलाबेलामा यस्ता महामारी थुप्रै आएका देख्न सकिन्छ । नाम, स्वरूप र असर भने फरक छन् ।
कोरोना पनि मानव जीवनमा खतरनाक रूपले देखिएको छ । हाम्रो जीवनबाट सदाका लागि यो हराएर जान्छ भन्ने लाग्दैन । खोप आएपछि र ३, ४ वर्षपछि सामान्य अवस्थाको रुघाखोकी जस्तै भएर रहला कि भन्ने मेरो अनुमान हो । अहिलेको अवस्थामा भन्ने हो भने यसले विश्वलाई परिवर्तन गरेको छ । यतिबेला सारा मानिस कोरोनासँग जुध्दैछन् । यसको त्रासमा छन् । यसले विश्व अर्थतन्त्रमा समेत धेरै परिवर्तन ल्याएको छ ।
सरकार चुक्यो
कोरोना युद्धमा हाम्रा लागि सहयोग गर्ने नेता र सरकारमा रहेका व्यक्तिहरूले नै हो । उनीहरुको पहलकदमी चित्त बुझ्दो हुन सकिरहेको छैन । अहिले स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्यसँग सम्बन्धित व्यक्ति सङ्घसंस्था सबै कोरोनाको विरुद्धमा लागिपरेका छन् । हामीले उनीहरुलाई सहयोग गरेका छौँ कि छैनौँ, उनीहरुले भनेको कतिको मानेका छौँ, त्यसमा पनि विचार गर्नुपर्छ ।
देशमा सरकारको नेतृत्व गर्ने व्यक्तिहरु आफू कसरी टिक्ने भनेर लडिरहेका छन् । सरकार बाहिरका कसरी सत्तामा पुग्ने भनेर कसरत गरिरहेका छन् । यसको असर अहिले सबैतिर परेको छ । केही समय कामविहीन भएर पनि बाँच्न सक्ने हामीजस्ता मानिसले यसलाई राम्रोसँग समन्वय गर्न सकेका छैनौँ । सरकारी निकायले पनि हामी जस्तो कलाकार, पत्रकार, व्यवसायी, उद्योगीलाई समन्वय गरेर क्रियाशील गराउँदै जिम्मेवारी सुम्पन सकेको छैन ।
अहिलेको महामारीको समय व्यक्ति हुन् वा संस्था, स्वतस्फूर्त रूपमा जो सेवामा लागेका छन् उनीहरुको पनि उचित मूल्याङ्कन भएको छैन । उनीहरुलाई सरकारले सहयोग गर्नुपर्नेमा उल्टै युद्ध भएको देख्न सकिन्छ ।
अर्काे कुरा, सरकार जतिसुकै झल्लु भए पनि यस्तो समयमा हामी सबैले विश्वास गरेर उसलाई सहयोग गर्नुपर्छ । यस्तो बेलामा कतिपय ठाउँमा स्वतस्फूर्त रूपमा काम गर्ने व्यक्ति हुन् वा संस्था सबैलाई सरकारले समन्वय र सहयोग गर्न सक्नुपथ्र्यो । यस मामलामा भने सरकार चुकेको छ ।
केही समय अझै धैर्य
कोरोना महामारीमा सबैलाई सरकारको निर्देशन पालना गर्नु जरुरी रहेको र पालन गर्न अनुरोध समेत गर्छु । किनभने सरकारले जारी गरेको सुरक्षाका नियम डब्लूएचओले भनेजस्तै छ ।
केही समय अझै भौतिक दूरी कायम गरौँ, एकले अर्कालाई सङ्क्रमणको जोखिममा नपारौँ । यो अवस्थामा रोगसँग लड्ने सबैभन्दा ठूलो औषधि आत्मबल नै हो । त्यो सबैलाई सधैँ उच्च राख्न आग्रह गर्छु । हाम्रो स्थिति अहिले एकदमै नाजुक भइसकेको छ । तैपनि उच्च मनोबलका साथ केही समय अझै धैर्य गरौँ । आशा छ हामीबाट एक दिन सदासदाका लागि कोरोना हटेर जानेछ ।