आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भुक्तानी नपाएपछि उपभोक्ता समिति आन्दोलित

मङ्गलबार, १८ जेठ २०७८, १८ : ५१
मङ्गलबार, १८ जेठ २०७८

कमला नदीमा बाढी नियन्त्रणका लागि बाँध निर्माण लगायतका काम गर्नेगरी बनाइएका उपभोक्ता समिति आन्दोलित भएका छन् । सम्पन्न भइसकेका कामको भुक्तानी नपाएको भन्दै उपभोक्ता समितिहरु आन्दोलित भएका हुन् ।

कमला नदी नियन्त्रण आयोजना कार्यालयको कार्यादेशमा धनुषा, सिरहा र सिन्धुली जिल्लाका विभिन्न उपभोक्ता समितिले तटबन्ध निर्माण, तार जाली लगाउने लगायतका काम गरे बापतको भुक्तानी पाउन नसकेको उनीहरुको गुनासो छ ।

भुक्तानीको माग गर्दै उपभोक्ता समितिका अध्यक्षहरुले मंगलबार कार्यालय अगाडि धर्ना दिएका छन् । उपभोक्ता समितिले काम सम्पन्न गरे पनि सो कार्यालयले भुक्तानी गर्न नमान्दा आफूहरु बाध्य भएर धर्नामा बस्नु परेको एक उपभोक्ता समितिका अध्यक्ष पुष्पेन्द्र कुसियतले बताए ।

बिना करार उक्त कार्यालयले दिएको कार्यादेशको भरमा आफूहरुले काम गरेकाले भुक्तानीबारे अन्योल अवस्था सिर्जना भएको उनले बताए । कमला नदीका कारण आउने बाढीको जोखिम न्यूनीकरणका लागि तीनवटा जिल्लाको विभिन्न स्थानमा तटबन्ध निर्माण, तार जाली लगाउने लगायतका कार्य उपभोक्ता समितिमार्फत गरिएको छ ।

ढिलागरी कार्यक्रम स्वीकृत भएकाले भुक्तानीमा समस्या भएको कार्यालय प्रमुख एकराज भट्टराई बताउँछन् । उनका अनुसार अर्थ मन्त्रालयले ढिलो गरेर कार्यक्रमको स्वीकृति दिएका कारण भुक्तानीमा समेत ढिलाइ भएको हो ।

जलश्रोत तथा सिंचाई विभाग र ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले माघ महिनामै कार्यक्रम स्वीकृतिका लागि भने पनि वैशाख १० गते मात्रै अर्थ मन्त्रालयबाट कार्यक्रम स्वीकृत भएकाले भुक्तानीका लागि केही समय अझै कुर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप