कर्णाली प्रदेश अस्पताल : बिरामीको संख्या घटेसँगै उपचारमा केही सहज
सुर्खेत । केही समयअघि कर्णाली प्रदेश अस्पताल कालागाउँमा कोरोनाभाइरस संक्रमित १० जनाको एकैदिन ज्यान गयो । त्यसअघि र पछि पनि अस्पतालमा प्राय ः कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन् ।
प्रदेशकै ठुलो र सम्पन्न अस्पताल भएका कारण सुर्खेत जिल्लामात्र नभएर प्रदेशका अन्य जिल्लाबाट रिफर गरिएका गम्भीर समस्या भएका बिरामीलाई यही अस्पतालले हेर्नुपर्ने बाध्यता छ । कर्णालीका अन्य जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएपछि यही अस्पतालको मुख ताक्नुपर्ने अवस्था छ ।
कोरोना संक्रमणका कारण गम्भीर समस्या भएका बिरामीलाई कर्णालीका अन्य जिल्लामा रहेका अस्पतालले उपचार गर्न सक्ने अवस्था छैन । अक्सिजन अभावका कारण जिल्ला अस्पतालले गम्भीर समस्या भएका बिरामीको उपचार गर्न सक्ने अवस्था नरहेको हो ।
केही जिल्लामा अक्सिजन उत्पादन गर्ने उद्देश्यले खरिद गरिएका सामग्री आवश्यक जनशक्तिको अभावमा थन्किएका छन् । पहुँचवाला र आर्थिक अवस्था सम्पन्न भएकाहरुले समयमै हवाई उडान या आवश्यक साधनको चाँजोपाँचो गरेर उपचार गराउन सक्ने भए पनि सामान्य नागरिकले त्यो क्षमता राख्दैनन् ।
प्रदेशमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै मृत्यु भएका धेरैजसोले अक्सिजनको अभावमा ज्यान गुमाएका हुन् । कोरोनाबाट कर्णालीमा २४७ जनाले ज्यान गुुमाईसकेको अवस्था छ । कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्युुदर धेरै छ । जसमध्ये प्रदेश अस्पतालमा मात्र वैशाख यता (दोस्रो लहर सुरु भएपछि) ९० जनाले ज्यान गुमाएको अस्पताल स्रोतले जनाएको छ ।
‘पहिलो लहरमा दीर्घ रोगीहरुमा कोरोना संक्रमण हुने बित्तिकै मृत्यु हुन्छ भनिन्थ्यो, तर अहिले त्यस्तो अवस्था छैन,’ प्रदेश अस्पतालका फिजिसिएन डा.केएन पौडेलले रातोपाटीसँग भने, ‘अहिले ३० देखि ५० वर्ष उमेरसमूहका व्यक्तिमा मृत्युदर बढी देखिएको छ । दीर्घरोगीहरु मात्र खतरामा छन् भन्ने अवस्था अहिले छैन ।’
पौडेलका अनुसार अधिकांश जटिल खालका बिरामी अक्सिजनको मात्रा शरीरमा कम भईसकेपछि मात्र अस्पतालमा आउने गरेको देखिन्छ । ‘कोरोना हैन भन्ने मानसिकता बोकेर मेडिकलमा जाने, सामान्य उपचार गर्ने, अत्यन्तै सिकिस्त हुने गरी अक्सिजनको मात्रा घटेपछि मात्र अस्पताल आउने गर्नुहुन्छ,’ उनले भने, ‘अस्पतालमा आएर कोरोना परीक्षण र रिपोर्ट आउने समयसम्म बिरामीमा झन् अक्सिजनको मात्रा घटिसकेको हुन्छ ।’
त्यसपछि चाहेर पनि बिरामीलाई बचाउन सक्ने अवस्था नरहने उनले बताए । त्यसैले पनि अहिले मृत्युदर बढेको उनको भनाइ छ ।
संक्रमित घटेसँगै अस्पतालका बेड खाली
केही समय अघिसम्म प्रदेश अस्पतालमा कोरोना संक्रमितको चाप निकै थियो । बिरामीको चापलाई थेग्न नसकेर अस्पतालले नयाँ बिरामीको भर्ना नलिने भन्दै सूचना जारी ग¥यो । चर्को आलोचनापछि अस्पतालले जटिल खाल समस्या भएका बिरामीलाई मात्र रिफर गर्न जिल्ला अस्पतालहरुलाई अनुरोध गरेको थियो ।
प्रदेश सरकारले अस्पताल व्यवस्थापन गर्न नसकेको भन्दै संघ अन्तर्गत लैजाने प्रयास पनि भए । यद्यपि, प्रदेश सरकारले पछि चन्दा उठाएर भए पनि अस्पताल आफैले सञ्चालन गर्ने दावी ग¥यो । अस्पतालमा दुुईवटा अक्सिजन प्लान्ट सञ्चालन र नेपालगञ्जबाट दैनिक १ सय अक्सिजन सिलिन्डर आपूर्ति गर्दा पनि अक्सिजन खोसाखोस हुने अवस्था थियो । तर, ६÷७ दिन यता बिरामीको चाप घटेसँगै अस्पतालमा केही सहज अवस्था देखिएको अस्पताल स्रोतको भनाइ छ ।
डा. पौडेल भन्छन्, ‘६÷७ दिन यता ५ वटा जति बेड खाली भएका छन् । दैनिक अस्पतालमा आउने संक्रमितको संख्यामा पनि कमी आएको छ ।’ केही समय अघिसम्म दैनिक ८ देखि १० जनासम्म जटिल समस्याका बिरामी आउने गरेको उनको भनाइ छ । अहिले दैनिक ३ देखि ४ जनासम्म त्यस्ता बिरामी आउने गरेको उनले सुनाए ।
नेपालगञ्ज लगायतमा कोरोना संक्रमित घटेपछि अक्सिजन आपूर्तिमा पनि सहज भएको उनले बताए । ‘पहिला नेपालगञ्जमा समेत खपत धेरै हुने गर्दा यहाँको आपूर्तिमा समस्या हुन्थ्यो,’ पौडेलले भने, ‘अहिले त्यता पनि संक्रमितको संख्या घटेपछि अक्सिजन चाहिने बिरामीको संख्या पनि घटेको छ र ग्यास आपूर्तिमा सहज भएको छ ।’
अस्पताल स्रोतका अनुसार पछिल्लो समय सुगम क्षेत्रको तुलनामा दुर्गम क्षेत्रबाट बढी संख्यामा बिरामीहरु आउने क्रम बढेको छ । अहिले गाउँगाउँमा कोरोना संक्रमण पुगेको अवस्था छ भने वीरेन्द्रनगरमा संक्रमणको दर केही घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन