बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बजेटको व्यवस्थाअनुसार राजस्व विभागद्वारा कर छुट दिन शुरु

मङ्गलबार, १८ जेठ २०७८, १४ : ३२
मङ्गलबार, १८ जेठ २०७८

बजेटमा उल्लेख भएको कर छुटसम्बन्धी व्यवस्था कार्यान्वयनमा जान थालेको छ । आन्तरिक राजस्व विभागले बजेटमा उल्लेख भएको विषयमा कर छुट तथा सहुलियत दिन शुरु गरेको हो । आर्थिक अध्यादेश २०७८ को दफा २० देखि ३३ सम्म मुद्दा परेका, वक्यौता रहेका, पुनरावेदनमा रहेका, व्यवसायीको आम्दानी अनुसारको आयकरमा छुट लगायतको विशेष व्यवस्था छ ।

सोही व्यवस्थालाई आन्तरिक राजस्व विभागले कार्यान्वयन गर्न थालेको हो । विभागले आर्थिक अध्यादेशबाट प्रदान गरिएको कर छुट तथा सहुलियतको व्यवस्था अध्यादेश जारी भएको मिति २०७८ जेठ १५ गतेदेखि लागू भएको जनाएको छ । 

मुद्दा परेका, वक्यौता रहेका, पुनरावेदनमा रहेका मुद्दा फिर्ता लिइ कर तिरेमा कर छुट तथा सहुलियत हुने विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले बताए । सेवाग्राहीले आन्तरिक राजस्व विभाग तथा करदाता कार्यालयमा सम्पर्क गरेर सुविधा लिन सकिने विभागको भनाइ छ ।  तर दफा २८ को कोरोना प्रभावित उद्योग व्यवसायको आयकरमा ९० प्रतिशतसम्म छुट दिने व्यवस्था भने आगामी साउनदेखि लागु हुने विभागले स्पष्ट पारेको छ । 

यस दफाको उपदफा १ मा २० लाख रुपैयाँ सम्म कारोबार हुने व्यवसाय वा २ लाख सम्म आम्दानी हुने करदातालाई ९० प्रतिशत छुटको व्यवस्था छ भने उपदफा दुईमा २० लाखदेखि माथि ५० लाखसम्मको कारोबारमा ७५ प्रतिशत कर

छुटको व्यवस्था गरिएको छ । 
यस्तै उपदफा ३ मा एक करोडसम्म कारोबार भएको व्यवसायीले आयकरमा ५० प्रतिशत छुट र उपदफा ४ मा  होटल, ट्राभल, चलचित्र व्यवसाय, पार्टी प्यालेस, सञ्चारगृह, यातायात वा हवाइ सेवामा एक करोडभन्दा बढी कारोबार गर्ने व्यक्तिलाई आयमा एक प्रतिशत मात्र कर लाग्ने व्यवस्था छ । 

तर, पछिल्लो दुई आर्थिक वर्षमा नोक्सानी भएको रहेछ भने त्यस्तो नोक्सानी कट्टा गर्न पाउने अवधि तीन वर्ष थपिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप