मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

वकिल र न्यायालयमाथि ओलीको टिप्पणी हारेको मानसिकताः शेखर कोइराला

मङ्गलबार, १८ जेठ २०७८, १० : ५५
मङ्गलबार, १८ जेठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानन्यायाधीश र कानून व्यवसायीहरुमाथि गरेको  टिप्पणीप्रति काँग्रेस नेता डा. शेखर कोइरालाले आपत्ति जनाएका छन् । उनले तानाशाहरुको पतन न्यायालयले गरेको उदाहरण खोल्न अन्त जानु नपर्ने बताएका छन् ।

‘हामी सबै गणतन्त्रको आन्दोलनमा होमिँदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे बयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो । तर, ती सबै वकिलहरु कालोकोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए’ सामाजिक सञ्जालमार्फत डा. कोइराला भन्छन्, ‘आज ती वकिलहरुको मानमर्दन गर्दा उनीहरुको लोकतन्त्रप्रतिको निष्ठामा चोट पुगेको छ । कति चाँडै बिर्सन सकेको उनीहरुको योगदान ?’

काँग्रेस नेता कोइराला थप्छन्, ‘तानाशाहहरुको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानुपर्दैन, हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालमा गणतन्त्र आएको नहुन सक्थ्यो ।’

प्रधानमन्त्री ओलीले न्यायालय र कानून व्यवसायीमाथि गरेको टिप्पणीलाई काँग्रेस नेता कोइरालाले ‘हारेको मानसिकता’ को संज्ञा दिएका छन् ।

‘पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा यहाँ म प्रधानमन्त्रीलाई स्मरण गराउन चाहन्छु’ कोइराला भन्छन्, ‘मेरो बुझाईमा प्रधानमन्त्रीको न्यायालय र कानुन व्यवसायीहरुप्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवा स्वप्नको चाहना मात्रै हो । सजग बनौं, आ–आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गरौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप