बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : यसरी पराजित भए खड्का

मुख्यमन्त्री शंकर पोखरेल नैतिक संकटमा
सोमबार, १७ जेठ २०७८, २३ : २०
सोमबार, १७ जेठ २०७८

बुटवल । बागमती प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा पनि सत्तारुढ दल एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय व्यहोरेको छ । राष्ट्रियसभाका यी दुवै सिटका लागि भएका उपनिर्वाचनमा केही समानता थियो– दुवै सिट साविकमा माओवादी केन्द्रले जितेको थियो भने सम्बन्धित सांसद माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका कारण ती सिट रिक्त भएका थिए । यतिमात्र होइन, एमालेले साविककै सांसदलाई उम्मेदवार बनाएको थियो ।

रामबहादुर थापा ‘बादल’ माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले उनलाई कारवाही गरेसँगै बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभाको एक सिट खाली भएको थियो । बादलसँगै एमालेमा प्रवेश गरेका चन्द्रबहादुर खड्का पनि माओवादी केन्द्रको कारवाहीमा परे । परिणामस्वरुप लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभाको एक सिट रिक्त भयो । रिक्त दुवै सिटमा एमालेले तिनैलाई उम्मेदवार बनायो, जो एमालेमा आएकै कारण कारवाहीमा परेर सम्बन्धित सिट रिक्त भएको थियो । तर बादल र खड्का दुवै पराजित भए ।

बादल पराजित हुनुमा एमालेकै कतिपय जनप्रतिनिधिले उनलाई मत नदिनु मुख्य कारण थियो भने लुम्बिनी प्रदेशमा खड्कालाई जिताउन सक्ने मतभार नै एमालेसँग देखिएको थिएन । बादलको साथ लागेर एमाले प्रवेश गरेका कारण राष्ट्रियसभा सदस्य पद गुमाएका खड्का एमालेभित्र अन्ततः बादलसँगै बढारिएको टिप्पणी गर्न थालिएको छ ।

यसरी पराजित भए खड्का

एमालेबाट उम्मेदवार बनेका खड्कालाई उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेले पराजित गरेका हुन् । जम्मा २९७ मत खसेकोमा प्रदेशतर्फ १ र स्थानीय तहतर्फ २ मत गरी कुल ३ मत बदर भएको थियो । सदर भएका २९४ मतमध्ये पाण्डेले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गरे भने खड्काले प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४ मत प्राप्त गरे ।

यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई काँग्रेस माओवादीसहितको गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका डा. खिमलाल देवकोटाले पराजित गरेका थिए ।

यो निर्वाचन परिणामबारे पार्टीभित्र गम्भीर छलफल हुने एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भुमिश्वर ढकालले रातोपाटीलाई बताए । उनले भने, ‘आजको निर्वाचनमा हामी  पराजित भएसँगै पार्टीभित्र समस्या देखिएको स्पष्ट भएको छ, यसलाई गम्भीर रुपमा समीक्षा गर्नेछौं ।’

एमालेको २ मत फ्लोर क्रस भएको आशंका

एमालेभित्रको अन्तरविरोधले गर्दा पार्टीका आधिकारिक उम्मेदवारलाई मत नदिने रोग एमालेभित्र लुम्बिनी प्रदेशमा पनि देखिएको छ । राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभातर्फ एमालेका उम्मेदवार खड्काले ४२ मत पाउने समीकरणका बाबजुद ४० मतमात्र पाए । एमालेका ३८ सांसद र जसपा (महन्थपक्ष) का ४ गरी एमालेको पक्षमा ४२ मत थियो । तर प्रदेश सभातर्फबाट एमाले उम्मेदवार खड्काले ४० मतमात्र पाए । अर्कोतिर काँग्रेससहितको गठबन्धनसँग प्रदेशसभामा ४१ सांसद रहेको अवस्थामा काँग्रेस उम्मेदवार दृगनारायण पाण्डेले ४२ मत पाएका छन् ।

प्रदेश सभातर्फ एक मत बदर भएको छ, जसमा सूर्य र रुख दुवै चिह्नमा मतदान गरेको पाइएको नेपाली काँग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानले रातोपाटीलाई बताए । यस आधारमा पनि एमालेको कम्तीमा एक मत फ्लोर क्रस भएको प्रस्ट हुन्छ ।

काँग्रेस उम्मेदवार पाण्डेले स्थानीय तहमा ११८ मत प्राप्त गरे भने एमाले उम्मेदवार खड्काको पक्षमा जम्मा ९४ मत खसेको छ । स्थानीय तहमा नेकपा एमालेको ९१ मतदाता थिए ।

अर्कोतिर नेपाली काँग्रेसका ६४, नेकपा माओवादी केन्द्रका ३९, जसपाका १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपाका २ र स्वतन्त्र ३ जना जनप्रतिनिधि स्थानीय तहतर्फका मतदाता थिए ।

एमाले प्रमुख सचेतक भमिश्वर ढकालले कसले भोट दिएन, यो कुराको छिनोफानो नेतृत्वले गम्भीर रुपमा गर्ने रातोपाटीलाई बताए । उनले पार्टीभित्रबाट गएको गडबडीलाई छानविन गर्नुपर्नेमा जोड दिए ।

‘मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ’

राष्ट्रियसभा उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभातर्फको मत विभाजनले पनि मुख्यमन्त्री शंकर पोखरेल प्रदेशसभा अल्पमतमा रहेको प्रस्ट देखिन्छ । अर्थात्, सत्तारुढ दलको पक्षमा ४० र विपक्षी गठबन्धनको पक्षमा ४२ मत देखिएको छ । यो अवस्थामा मुख्यमन्त्रीले नैतिक रुपमा राजीनामा दिनुपर्ने माओवादीका प्रमुख सचेतक तुलाराम घर्तीमगरले रातोपाटीलाई बताए ।

उनले भने, ‘मुख्यमन्त्रीको पक्षमा प्रदेशसभामा कति संख्या रहेछ भन्ने आज प्रस्ट देखियो, अब उहाँ यसरी बस्नुभन्दा नैतिकरुपमा बाटो खोलिदिनुपर्छ ।’

लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भईसकेको छ । प्रदेशसभाको बैठक यही १९ गते लागि बोलाइएको छ । यसअघि बोलाएको प्रदेशसभा बैठक बस्दै नबसी अन्त्य गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप