शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीको नाम चयन गर्न महन्थले थाले छलफल

सोमबार, १७ जेठ २०७८, २२ : २१
सोमबार, १७ जेठ २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पार्टीभित्र मन्त्री नाम टुङ्गो लगाउन छलफलमा जुटेका छन् । आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा सरकारमा जाने सहमति भएसँगै जसपा (ठाकुर पक्ष) का नेताहरु मन्त्री छान्न सक्रिय भएका हुन् । आठजना मन्त्री र दुईजना राज्यमन्त्री पाउने पक्का भएपछि मन्त्रीको नाम चयन गर्न छलफलमा जुटेको अध्यक्ष ठाकुर निकट एक नेताले बताए ।

सरकारमा जाने तय भएसँगै जसपा नेपालमा मन्त्रीका आकांक्षी बढेको छ । जसले नाम चयन गर्न सकस भएको छ । पार्टीका शीर्ष नेताहरु नै सरकारमा जाने इच्छा देखाएका छन् । वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादवलगायतका शीर्ष नेता मन्त्रीको आकांक्षी भएपछि अन्य नेताहरुलाई चित्त बुझाउन अध्यक्ष ठाकुरलाई समस्या भइरहेको छ । त्यस्तै उपेन्द्र यादवको पक्षबाट आएका विमल श्रीवास्त, उमाशंकर अरगरियालाई पनि मन्त्री बनाउने लगभग निश्चित छ । यादव पक्षबाट आएकी रुही नाज, रेणु गुरुङ र कलुदेवी विश्वकर्माले पनि मन्त्रीका लागि पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् ।

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर आफू सरकारमा नगएपछि आफ्नो तर्फबाट कम्तिमा थप एकजना पठाउने निश्चित भएको छ । त्यसमा वृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ला, चन्दा चौधरी, अकवाल अहमद, अकवाल मियाँ, उमाकान्त झा, डा.सुरेन्द्र चौधरीलगायतका नेता पनि मन्त्रीका आकांक्षी छन् । गैर सांसद पनि मन्त्री बन्न पाउने भएपछि मन्त्रीका आकांक्षी बढेको हो ।

यता, राजेन्द्र महतो पक्षका नेताहरु पनि मन्त्रीको दौडमा छन् । लक्ष्मणलाल कर्ण, प्रमोद साह, अमृता अग्रहरी, चन्द्रकान्त चौधरी, राजकुमार चौधरीलगायतका रहेका छन् । तर वरिष्ठ नेता महतो आफै सरकार जाने भएपछि अरुले मौका पाउने सम्भावना न्युन रहेको छ । तर लक्ष्मणलाल कर्णलाई मन्त्री बन्ने सम्भावना बढेको छ । प्रधानमन्त्रीको तर्फबाट पनि कर्णका लागि लविङ भइरहेको छ ।

आज मन्त्रीको नाम तय भए भोलि नै सरकारमा सहभागी हुने जसपाको तयारी रहेको छ । आजको छलफलमा प्रधानमन्त्री ओलीले पनि सरकारका आउन ढिला गर्न नहुने सुझाव दिएका थिए । पार्टीभित्रको समस्या समाधान गर्नमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता ओलीले जनाएका छन् ।

उता, उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठकबाट सरकारमा जाने नेताको पार्टीबाट स्वतः निष्कासित हुने निर्णय गराइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप