शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘हिजो माधव नेपालहरू न्यायालय, सेना, विदेशी शक्ति हामीसँग छैन भन्थे’

सोमबार, १७ जेठ २०७८, २२ : ०६
सोमबार, १७ जेठ २०७८

नेकपा एमालेका युवा नेता एवं सांसद महेश बस्नेतले केपी ओलीका कारण भारतसँग सम्बन्ध सुमधुर बनेको बताएका छन् । न्यायालय, सेना र विदेशी शक्ति एमालेको पक्षमा छैन भन्ने निरीह शब्दहरू विगतमा सुनिने गरेको बताउँदै सांसद बस्नेतले अहिले केपी ओलीका कारण गर्व गर्ने ठाउँमा आइपुगिएको बताएका छन् ।

‘बाबुराम भट्टराईहरुले हामीलाई भन्ने गर्थे, नेकपा एमाले, न पोथी न भाले ! हामीलाई गीत गाउँथे काँग्रेसका साथीहरु– लालुपाते नुग्यो भुइँतिर, कि लाउ उहीतिर, कि लाऊ माया मैतिर’ सांसद बस्नेतले भने,‘आज गौरवका साथ हामी भन्न सक्छौं – ‘केपी ओलीका कारणले  एमाले कार्यकर्ता हुँदा छाती गौरवले फुल्ने गर्छ ।’

सोमबार आयोजित राष्ट्रिय युवासंघको कार्यक्रममा एमालेका युवा इञ्चार्ज बस्नेतले व्यक्ति गरेको विचारको अंश यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ–   

जसरी तेङ स्याओपिङलाई चाइनाको एउटा सम्मानित नेताको रुपमा स्वीकारिन्छ, त्यसैगरी केपी शर्मा ओलीलाई आधुनिक नेपाल निर्माण गर्ने कम्युनिस्ट नेताका रुपमा स्विकारिँदैछ । आज केपी शर्मा ओलीलाई समर्थन गरेवापत हामीलाई आलोचना गर्ने साथीहरु भोलि हाम्रै समीपमा आएर हामीले गल्ती ग¥यौं भनेर स्वीकार्ने अवस्थामा पुग्नुहुन्छ  ।

हामी  इतिहासको यो कालखण्डमा जाँचिन तयार छौं, तौलिन तयार छौं । गम्भीर  समीक्षामा हामी बस्न तयार छौं । र, म फेरि पनि गौरवका साथ भन्छु, कुनै पनि विधिलाई छनोट गर्ने विधि भनेको तुलनात्मक विधि हो । हामी द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण राख्ने साथीहरुले त अझै यो कुरालाई ध्यान दिनुपर्छ । हिजो काँग्रेसको सरकार भन्दा आज हाम्रो सरकार के मानेमा राम्रो, के मानेमा नराम्रो ? हिजो देउवाको कार्यकाल र आज केपी ओलीको कार्यकाल के मानेमा राम्रो, के मानेमा नराम्रो ?

हिजो माधव नेपाल झलनाथ खनालहरूले चलाएको पार्टी र आज केपी ओलीले चलाएको पार्टी । हिजो यही पार्टीमा हो, कुनै लिङ्ग नभएको पार्टी । हाम्रा पार्टीका निर्णयहरु हामी सुन्थ्यौँ, एमालेले सबै अप्सन खुल्ला राखियो भन्ने निर्णय गथ्र्यो । एमाले कुनै अडान नभएको पार्टी । बाबुराम भट्टराईहरुले हामीलाई भन्ने गर्थे, नेकपा एमाले, न पोथी न भाले ! हास्य कलाकारहरुले हामीलाई भन्ने गर्थे, दूधको चिया खाउँ भन्यो भने काँग्रेस, कालो चिया खाऔं भन्यो भने  माओवादी । दूधको भए पनि, कालो भए पनि ठीकै हुन्छ भन्दा त्यो चाहिँ एमाले । हामीलाई गीत गाउँथे काँग्रेसका साथीहरु– लालुपाते नुग्यो भुइँतिर कि लाउ उहीतिर, कि लाऊ माया मैतिर । तपाईहरु माओवादीसँग नजिक हो कि काँग्रेससँग नजिक हो ?

आज गौरबका साथ हामी भन्न सक्छौं – केपी ओलीका कारणले हाम्रा सीमानाहरु सुरक्षित भएका छन् । केपी ओलीका कारणले हाम्रा ७ वटा भारत र चाइनासँग जोड्ने नाकाहरु बन्दैछन् । केपी ओलीका कारणले रेलमार्ग मात्रै बनिरहेको छैन, भारतसँगको सम्बन्ध सुमधुर बन्दैछ । लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता आउँदैछ ।  सि जिनपिङ र मोदीजस्ता अन्तरर्राष्ट्रिय ख्याती कमाएका नेताहरु नेपाल भ्रमण गर्ने अवस्था बनेको छ । सुरुङ्ग मार्ग सुरु हुँदैछ ।

केपी ओलीका कारणले चाहे युएनका सभाहरु हुन्, चाहे अन्तरराष्ट्रिय मञ्चहरु हुन्, आज नेपाल लास्ट बेञ्चरबाट फस्ट बेञ्चर बनेको छ । जी–७ को बैठकमा केपी ओलीलाई आमन्त्रण गरिन्छ । अनि बीबीसी, सीएनएनजस्ता अन्तरराष्ट्रिय मिडियाहरुले आज नेपालको प्रधानमन्त्रीको इन्टरभ्युलाई महत्त्वका साथ प्रसारण गर्छ । भारतका कुना–कुनामा केपी ओली को हो भनेर सोध्यो भने नेपालका लोकप्रिय प्रधानमन्त्री हो भनेर भन्ने स्थिति बनेको छ ।

अफ्रिकन गायकदेखि लिएर विभिन्न सेलिब्रेटीहरुले हु इज केपी ओली भन्दा केपी ओली इज द प्राइमिनिस्टर अफ नेपाल, एण्ड हि इज भेरी पपुलर इन युथ सेक्टर भन्नेखालका अभिव्यक्तिहरु दिएका कुराहरु हामी सुन्न पाउँछौं । आज टिकटकभरि केपी ओलीको प्रचार छ ।

आज सेना केपी ओलीसँग प्रफुल्लित छ । प्रहरी केपी ओलीसँग प्रफुल्लित छ । आज न्यायालय केपी ओलीसँग सेटिङ्गमा छ भनेर विपक्षीहरुले आलोचना गर्ने गर्छन् ।  हिजो यही माधव नेपालहरु, यही झलनाथहरु चाहे त्यो कर्मचारी आन्दोलन भन्नोस्, चाहे त्यो दासढुंगा विरुद्धको आन्दोलन भन्नोस्, हामीले आन्दोलन गर्दा उहाँहरु आन्दोलन टुंग्याउने गर्नुहुन्थ्यो र हामीले प्रश्न गर्दा भन्ने गर्नुहुन्थ्यो, अहिले पनि राजासँग ६० हजार भन्दा बढी सेना छ । अहिले पनि अन्तरराष्ट्रिय शक्ति काँग्रेसको पक्षमा छ । अहिले पनि न्यायालय हाम्रो पक्षमा छैन । विदेशी शक्ति हामीसँग छैन । सेना प्रहरी हामीसँग छैन, त्यही भएर हामीले आन्दोलन टुंग्याउन बाध्य भयौं । यस्ता निरीह शब्दहरु हामी झलनाथ कमरेड र माधव कमरेडका मुखबाट हामीले सुन्थ्यौं ।

आज हामी गौरब गर्र्छौं, केपी ओलीको अदम्य साहस, त्यो अद्भुत क्षमता, जसका कारणले हामी देशभरि एमालेका कार्यकर्ता हुँदा छाती गौरबले फुल्ने गर्छ । नेकपा एमालेको यो पंक्तिले जुन ढंगले विकासमा काम गरिरहेको छ, समृद्धिमा काम गरिरहेको छ, आज स्थानीय तहमा मात्रै अरबौं पैसा गएको छ । अहिले वडा वडामा सडक बन्न थालेका छन् । पूर्वाधार बन्न थालेका छन् । औद्योगिक क्षेत्र बन्न थालेका छन् । विद्यालय बन्न थालेका छन् । अस्पताल बन्न थालेका छन् । युवाहरुले रोजगारीका असंख्य अवसरहरु सिर्जना गर्न थालेका छन् । यस मानेमा हामी नेकपा एमाले भएका कारणले गौरब गर्न सक्ने ठाउँमा छौं ।

प्रत्येक बसन्त ऋतुभन्दा अगाडि आउने आँधीहुरीले सुकेका पातहरु झार्नेछन् र मक्किएका हाँगाहरु भाँच्नेछन् । नेकपा एमालेको यो बसन्त ऋतुभन्दा अगाडि आएको हुरीले. केही सुकेका पातहरु झरेका छन्, केही कुहिएका–मक्किएका हाँगाहरु भाँच्चिएका छन् ।

अब हामी यो एमालेरुपी रुखलाई नयाँ बसन्तु ऋतुको युगमा प्रवेश गराएका छौं । र, यसलाई नयाँ ऊर्जाका साथ अगाडि बढाउने छौं । र, कमरेड केपी शर्मा ओलीको नेतृत्वमा, उहाँको मलजलमा यो रुखलाई हामी तीव्रताका साथ अगाडि बढाउनेछौं । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप