बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

जेष्ठ नागरिक महासंघद्वारा बजेटको स्वागत

सोमबार, १७ जेठ २०७८, १२ : ३७
सोमबार, १७ जेठ २०७८

जेष्ठ नागरिक महासंघले  आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ । महासंघका तर्फबाट अध्यक्ष मदनदास श्रेष्ठले सोमबार जारी गरेको विज्ञप्तिमा ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी मासिक ४ हजार रुपैयाँ कायम गरिएकोमा सरकारप्रति आभार प्रकट गरिएको छ । 

बजेट बक्तव्यमा उल्लेख गरिएको कोही र केही नभएका  ज्येष्ठ नागरिकहरूको जिम्मेवारी समेत सरकारले लिने, काठमाडौंको गोठाटारमा अस्पतालको सुविधा सहित ५०० क्षमताको ज्येष्ठ नागरिक आवास निर्माण गर्ने, अस्पतालहरूमा ज्येष्ठ नागरिकको अलग्गै वार्डको व्यवस्था गरी उपचार गर्ने र अल्जाईमर लगायत बुढ्यौली रोगबाट प्रभावित ज्येष्ठ नागरिकको निःशुल्क औषधोपचारको व्यवस्था गर्ने जस्ता कार्यक्रमहरू स्वागतयोग्य रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

‘ज्येष्ठ नागरिकलाई राज्यले उपलब्ध गराउनु पर्ने सेवा सुविधा एवं सम्बोधन गर्नु पर्ने विषयहरू वृहत् छन् । ती मध्ये वर्तमान परिप्रेक्ष्यमा ज्येष्ठ नागरिकको भत्ता वृद्धि पनि एक हो’, विज्ञप्तिमा भनिएको छ, ‘यसको लागि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले राज्यका विभिन्न निकायहरूसंग निरन्तर गरेको छलफल, अन्तक्रिया एवं पेश गरेको ज्ञापन पत्रलाई समेत कदर गर्दै, सरकारले भत्तामा गरेको वृद्धि लगायत अन्य केही कार्यक्रमहरू ज्येष्ठ नागरिकको लागि सकारात्मक पक्ष रहेको ठहरका साथ यसबाट लाभान्वित हुने नेपालका करिव ३० लाख ज्येष्ठ नागरिकहरूको तर्फबाट महासंघ सरकारलाई  धन्यवाद व्यक्त गर्दछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप