शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओली सरकारको आइडिया : भारतलाई बालुवा र ढुंगा बेचेर व्यापार घाटा कम गर्ने !

अर्थसचिव भन्छन्– भारत, माल्दिभ्स जुन कुनै देशलाई बेच्न सक्छौं
आइतबार, १६ जेठ २०७८, १८ : १६
आइतबार, १६ जेठ २०७८

काठमाडौं । ओली सरकारले अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटमा नेपालको ढुंगा, गिटी र बालुवा भारतलाई बेचेर व्यापार घाटा कम गर्ने ‘आइडिया’ फुराइएको छ । वातावरणविदले भने सरकारको यस्तो आइडियाले नेपालको चुरे क्षेत्र सखाप हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेटको १९९ नम्बर बुँदामा भनिएको छ,‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ ।’

बजेटका गरिएको यस्तो व्यवस्था देखेर आफू चकित परेको एकजना वातावरणविदले रातोपाटीलाई बताए । ‘ढुंगा, गिट्टी, बालुवा निकासी गरिनेछ भनिएको भए स्वदेशमै निकासी गर्न दिइने बुझिन्थ्यो’ ती वातावरणविद भन्छन्, ‘तर, निकासी गरी व्यापार घाटा कम गरिनेछ भनिएको हुनाले भारतमा निकासी गर्न दिइने प्रष्ट अर्थ लाग्छ ।’

सरकारको यो निर्णयले अब नेपालको प्राकृतिक स्रोत साधन र चुरे क्षेत्रको विनाश हुने उनी बताउँछन् । ती विज्ञका अनुसार ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने भन्नुको अर्थ अब भारतमा ढुंगा, गिट्टी, बालुवा निकासी गर्न दिइने भनिएको हो । नेपालको ढुंगा, गिट्टी, बालुवा चीन वा तेस्रो देशसम्म निकासी हुने कुरै भएन ।

विगतमा तस्करहरूले ढुंगा, गिट्टी, बालुवा भारततर्फ निकासी गर्ने गरेका कारण चुरे क्षेत्रको दोहन भएपछि सरकारले निकासीमा रोक लगाएको थियो । स्वदेशमा भइरहेको निर्माण कार्यलाई असर परेको भन्दै व्यवसायीहरुले स्वदेशमा प्रयोग हुने गरी निकासी खुला गर्न माग गर्दै आएका थिए ।

तर, ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा ढुंगा, गिट्टी, बालुवा बेचेर व्यापार घाटा कम गर्ने नीति ल्याइएको छ ।

राष्ट्रपतिका नामबाट राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन हुँदै आएको छ । तर, राष्ट्रपतिबाट जारी भएको विनियोजन अध्यादेशमा  ढुंगा, गिट्टी, बालुवा विदेश निकासी गर्ने प्रावधान राखिनु अनौठो भएको विज्ञ बताउँछन् ।

ओली सरकारले व्यापार घाटा घटाउने उपायका रुपमा ढुंगा, गिट्टी, बालुवाको निकासी गर्ने अनुमती मात्रै दिएको छैन, ढुंगा खानीदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गर्न लाग्ने सामग्रीको आयातमा भन्सार छुट दिनेसमेत बताएको छ । 

बजेटको १९९ नम्बर बुँदामा यसबारे स्पष्टसँग भनिएको छ,‘निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु ।’

त्यसैगरी बजेटको २०० नम्बर बुँदामा भनिएको छ, ‘अघिल्लो आर्थिक वर्षको भन्दा थप परिणाम र मूल्यको सामग्री निर्यात गर्ने निर्यातकर्तालाई थप अनुदान दिने व्यवस्था गरिनेछ । निर्यात अनुदानलाई उत्पादकको तहसम्म पुर्याइनेछ ।

अर्थसचिव भन्छन्– भारत, माल्दिभ्स जुनकुनै देशलाई बेच्न सक्छौं

अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना भन्छन्, ‘हामीले शीर्षकमै स्पष्ट भनेका छौं कि ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ ।’

सचिव ढुंगानाले रातोपाटीसँग भने, ‘यो भन्नुको मतलब पहिला त्यसको प्रभाव वातावरणीय मूल्यांकन गरिने र कुनै असर नपर्ने भए मात्र उत्खनन् गरेर बेच्ने भनिएको हो । फेरि यो योजना तत्काल शुरु गरिहाल्ने पनि भनिएको होइन । धेरै सम्भावनाहरूलाई खुल्ला राखेर लामो अध्ययन र अनुसन्धानपछि मात्र यसतर्फ पनि जान सकिन्छ भन्न खोजिएको हो ।’

सचिव ढुंगानाले अगाडि भने, ‘ हामीले पहिला के बुझ्नुपर्छ भने ढुंगा, गिट्टी बालुवा भन्नेबित्तिकै तराई चुरेक्षेत्र वा खोलाबाट मात्र निकाल्ने भन्ने बुझ्नुहुन्न, त्यो जहाँबाट पनि हुन सक्छ, । जहाँ प्रकृति र भूसंरचनामा कुनै नकारात्मक प्रभाव नपरोस् । हामीले कुनै पनि मानेमा मुलुकको भू–संरचना तथा भूभागलाई नास गर्ने उद्देश्यले यो अवधारणा ल्याएका होइनौं ।’

के यस्तो निकासी भारततर्फ गर्न लागिएको हो ? भन्ने प्रश्नमा ढुंगानाले भने, ‘जुन कुनै देशसँग पनि हुन सक्छ । भारत, माल्दिभ्स, जुन कुनै देशलाई बेच्न सक्छौं । तर, हामीले प्रस्तावमै स्पष्ट भनेका छौं, यस्तो सामग्री ढुवानी रोप–वेबाट मात्र गरिनेछ । त्यस कारण यो अहिले नै सम्भव छैन । ती सबै योजना तथा पूर्वाधारहरु तयार भइसकेपछि मात्र निर्यात सम्भव हुने हो ।’   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप